संसद् विघटनको धक्का «

संसद् विघटनको धक्का

कोरोनाभाइरस (कोभिड–१९) ले थलिएको अर्थतन्त्र संसद् विघटनसँगै फेरि अन्योल र अनिश्चयतर्फ धकेलिएको छ । कोरोनाले आधा वर्षभन्दा धेरै समय बन्द रहेका उद्योग व्यवसाय भर्खरै फाट्टफुट्ट चल्ने सुरसार गर्दै गरेका बेला राजनीतिक उतारचढावले फेरि अन्योल बढेको हो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिले संसद् विघटन गरेसँगै उद्योगी व्यवसायीमा निराशा बढेको छ भने अब उद्यम व्यवसायको भविष्य कता जाँदैछ भन्नेमा चिन्ता थपिएको छ । लामो समय कोभिडले थलिएको अर्थतन्त्रलाई संसद् विघटनले सरकार आफँैले अगाडि सारेको समृद्धिको एजेन्डामा धक्का पुगेको निजी क्षेत्रको बुझाइ छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि बढाएको थियो । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा उनले बताए पनि समृद्धि र सुख के हो र कसरी प्राप्त गर्ने भन्ने विषय परिभाषित हुन नपाउँदै संसद् विघटन भयो । अब नेपाली जनताले राखेको अपेक्षा र सरकारले बाँडेको समृद्धिको सपना के हुने हो भन्नेमा निजी क्षेत्र झस्किएको छ । सरकारको यो मार्गबाट आफ्नै पार्टीका कार्यकर्ता मात्रै नभएर आम सर्वसाधारणसमेत रुष्ट देखिन्छन् ।
गएको आम निर्वाचनदेखि नै निजी क्षेत्र स्थिर सरकारको पक्षमा थियो । बहुमतप्राप्त सरकारबाट निजी क्षेत्रका अपेक्षा बढी नै थिए । सरकारप्रति सकारात्मक देखिएको निजी क्षेत्रलाई अधिकांश ऐनहरू निजी क्षेत्र कस्ने गरी आएका थिए । तर पनि स्थिर सरकारसँग निजी क्षेत्रले यसमा सम्झौता नै गर्दै आएको थियो । संसद् विघटन र यसले अबका दिनमा पार्ने पार्ने प्रभावका सवालमा एकीन गर्न सक्ने अवस्था अहिले नभएको महासंघका एक पूर्व अध्यक्षले बताए । कोरोनाले लगानीकर्ता उठ्न नसेकेका बेला देशमा यस्तो अवस्था आउला भन्ने कल्पनासम्म गरिएको थिएन तर अब के हुने अन्योल बढेको छ । “लगानीको वातावरण अबको केही समयमा लागि सकियो भन्दा हुन्छ भने अब बहुमतको सरकार आउँछ भन्न पनि सकिँदैन,” उनी भन्छन् ।
पछिल्लो पटक महासंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्रीलाई भेट्दा चन्दा आतंक बढेको, उद्योग बन्द भएको र त्यसमा सरकारले पहल गरिदिन आग्रह गरेका थिए । अहिले सरकारले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मिति समेत तोकिसकेको छ । आइतबारको मन्त्रिपरिषद्को सिफारिस बमोजिम जनादेशका लागि आउँदो वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत राष्ट्रपतिले तोेकेकी छन् । नजिकिँदो निर्वाचन कार्यक्रममले चन्दा आतंक बढ्ने त्यसको असर उद्योग धन्दामा पर्ने देखिन्छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले लामो समयको प्रतिक्षापछि बहुमतको सरकार प्राप्त भइ लगानीको वातावरण बन्दै गएको तर संसद विघटनसँगै अन्योल बढेको उनको अनुभव छ । विश्व बैंक, राष्ट्रिय योजना आयोग तथा दातृ राष्ट्रहरूले समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्नुपर्छ भन्नेमा सकारात्मक बनेका बेला यहाँको वातावरण नकारात्मकउन्मुख भएको उनी बताउँछन् । सरकारसँग निजी क्षेत्रका धेरै छलफल र बहस भएका थिए कार्यान्वयनमा जानुपर्ने समयमा मध्यावधि निर्वाचन तोकिनुले लङ टर्म भिजन सकिएको प्रष्ट हुन्छ । निर्वाचन सम्मको समय अन्योलतामै जान्छ भने त्यसपछि पनि बहुमतको सरकार आउँछ या आउँदैन केहि भन्न सकिँदैन । उनका अनुसार देशको अवस्थामा त्यसमा पनि औद्योगिक वातावरण बन्न समय लाग्ने देखिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले अहिले वित्तीय क्षेत्र, साना मझौला उद्योग पर्यटनदेखि सबै क्षेत्रमा अप्ठेरो अवस्थामा भएकोले सरकारले आर्थिक एजेन्डालाई राजनीतिक विवादमा मिसाउन नहुने बताउँछिन् । प्रतिनिधिसभा विघटन भए पनि मन्त्रिमण्डल साविककै कायम रहेकोले आर्थिक समृद्धिको नारालाई सरकारले बिर्सन नहुने उनी बताउँछिन् । जबसम्म देश समृद्ध बन्दैन तबसम्म कुनैपनि क्षेत्र अब्बल बन्न नसक्ने हुँदा आर्थिक एजेन्डालाई कुनैपनि दल र सरकारले विर्सन नमिल्ने उनको भनाइ थियो । “निजी क्षेत्र राजनीतिक स्थिरता चाहान्छाँै, लगानीमैत्री बातावरण चाहान्छाँै त्यसका लागि राजनीति एकातर्फ होला तर आर्थिक एजेन्डा छाँयामा पारिनु हुँदैन” निवर्तमान अध्यक्ष राणा भन्छिन् ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल संसद् विघटनको निर्णय निजी क्षेत्रका लागि मात्रै नभएर समग्र नेपाली जनताका लागि घात भएको बताउँछन् । एकचोटी म्यान्डेड पाएर आइसेपछि समयावधि अगाडि नै संसद् विघटन गर्नु, मध्यावधि निर्वाचन गराउनु गलत प्रवृत्ति भएको उनी बताउँछन् । “सरकार जुनसुकै दलको भए पनि निजी क्षेत्रलाई फरक पर्दैन तर आर्थिक नीति नियम परिवर्तन हुनु भएन भने दीर्घकालीन योजनामा असर पर्नु भएन,” मल्ल भन्छन् । अस्थिर सरकार भएसँगै विदेशी तथा स्वदेशी लगानी, रोजगारी सिर्जना र आर्थिक विकासका नारा स्वतः पछाडि धकेलिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्