Logo

सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली


उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीमा लाग्दै आएको जोरविजोर प्रणाली अन्ततः सरकारले हटाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवाला निकायको बैंठकले सबैखाले सार्वजनिक सवारीमा लाग्दैं आएको जोरबिजोर प्रणाली शुक्रवारबाट लागू हुने गरी हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, “उपत्यकामामात्र जोरबिजोर प्रणाली लागू गर्दा सार्वजनिक सवारी साधनमा भीड बढको गुनासो आयो, त्यसैले कोभिड–१९को नियन्त्रणका लागि सरकारले तोकेको सबैखाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गदैं जोरबिजोर प्रणाली हटाइएको छ ।”
कोरोनाभाइरस (कोभिड–१९) संक्रमण उपत्यकामा बढेसँगै सरकारले असोजबाट लागू हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोरबिजोर लागू गरेको थियो । गृह मन्त्रालयले साउन २१ गते प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाका निजी तथा सार्वजनिक सवारी साधनमा साउन २२ देखि जोरबिजोर प्रणाली लागू गर्ने गरेको निर्देशन अनुसार कायम रहेको जोरबिजोर प्रणली हटेको प्रजिअ पराजुलीको भनाइ छ । उपत्यका तीनै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधबार बसेको संयुक्त बैठकको सिफारिसमा बिहीबार तीनै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाएको प्रजिअ पराजुलीले बताए ।
यता यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली भन्दै विरोध गरेका थिए । सोही व्यवसायीको मागलाई सम्बोधन गर्न बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जिल्ला स्वास्थ्य कार्यालय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सहितको बैंठकले जोरबिजोर प्रणली हटाउने निर्णय गरेको हो । यात्रुको चाप बढ्दा पनि उपत्यकाका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली कायमै रहेको भन्दै मंगलबार यातायात व्यवसायीहरूले संयुक्त रूपमा अपिल जारी गर्दै शुक्रबारबाट जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए भने सरकारलाई जनगुनासो र दवाव बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्