सहरी विकास मन्त्रालयको दुई महिने कार्ययोजना «

सहरी विकास मन्त्रालयको दुई महिने कार्ययोजना


सहरी विकास मन्त्रालयले दुई महिने कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनाअनुसार माघ मसान्तसम्म गोदावरीको हल निर्माण सम्पन्न हुने र धोवीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउने उल्लेख गरिएको छ ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रीत रहने बताउँदै गोदावरी हल र बिजुलीबजारको अन्डरपास माघसम्म तयार हुने बताए । मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने दावी गरे । समीक्षा बैठकपछि मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसँग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्य योजनासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कार्यकाल सुरु गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमूनाको रूपमा अघि बढाउने जानकारी दिए । दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको वेडसहितको कोभिड संक्रमितको उपचार व्यवस्थागर्न लागिएको समेत बताए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुंदे कार्ययोजना र भावी कार्यक्रमलाई लागू गराएरै छाड्ने बताए । “मन्त्रालयले अब योजना अनुसारका सबै काम तोकिएकै समयमा पूरा गर्ने प्रतिबद्धता जनाएको छ,।” उनले भने, “गोदावरीको ३ सय क्षमताको हल माघ मसान्तसम्म पूरा हुने ठोकुवा गर्छु ।”
दुई महिना अवधीमा मन्त्रालयले बञ्चरे डाडामा फोहोर व्यवस्थापन गर्ने, उपत्यका लगायत देशभरका नगरपालिकाहरूको फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने जनाइएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३ हजार २५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न भएको र आगामी २ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरू छनौट गर्ने कार्य सम्पन्न गरिने, सिहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्यलाई लक्ष्य अनुरूप समयमा सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने, प्रधानमन्त्री निवास परिसरमा एमआई सत्र हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलीप्याड तयार भई सञ्चालनमा रहेको प्रगति उल्लेख गरिएको छ ।
यस्तै दुई महिना भित्र बुढानिलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृती पार्कको निर्माण कार्य सम्पन्न गरिने, दुई महिनाभित्र ललितपुरको गणशेमान पार्क, देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्