Logo

कोभिडले फेरि धकेलिएको मेलम्ची

एक वर्ष अघिदेखि सुरु भएको कोभिड–१९ को जोखिम अझै कायमै छ । कोभिडले जनजीवन र जीविकालाई मात्र असर गरेन, विकासका आयोजनाहरुलाई पनि प्रभाव पारेको छ । कोभिडले बहुचर्चित मेलम्ची आयोजनाको निर्माण अवधि पनि पछाडी धकेलिदिएको छ ।
नेपालको राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये सबैको चासोको आयोजना हो– मेलम्ची खानेपानी आयोजना । स्वच्छ र सर्वसुलभ खानेपानी मानिसको लागि आधारभूत आवश्यकता हो । पछिल्लो समयमा उपत्यकामा बढ्दै गएको जनसंख्या वृद्धिसँगै उपत्यकाबासीलाई खानेपानीको समस्या बढ्दै छ । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाका स्थानीयले मेलम्चीको पानी प्रतीक्षा गरिरहेका छन् ।
उनीहरुका लागि मेलम्ची खानेपानी आयोजनाले एउटा आशा जगाएको थियो । तर उपत्यकाबासी मेलम्चीको प्रतीक्षामा बसको २ दशक नाघिसक्यो । मेलम्ची खानेपानी आउला र पानीको नाममा भोग्नुपरेको समस्याबाट मुक्त भइएला भन्ने आशामा बसेको लामो समय भइसक्यो । सबैको सुनौलो सपनाको प्रतिनिधित्व गरेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला र उपभोक्ताको धारा धारामा पानी आइपुग्ला ? अझै कति समय भाका सर्ने हो ? त्यो भने हेर्न नै बाँकी नै छ ।
सुरुवातदेखि नै अनेकौं झमेला झेल्दै आएको मेलम्ची खानेपानी आयोजना कहिले इटालियन ठेकेदार कम्पनी (सिएमसी) सँगको ठेक्का सम्झौता तोडियो त कहिले राजनीतिक खिचातानीका कारणले पछि धकेलियो । अहिले कोभिडको मारमा परेको छ ।
जनशक्तिको अभाव
कोभिडपछि मेलम्ची खानेपानी आयोजनामा काम गर्ने श्रमिकहरुलाई कामको भन्दा ज्यान जोगाउने तनाव भयोे । कोभिड लागेपछि बाँच्न निकै गाह्रो हुने गलत प्रचार प्रसारले उनीहरुलाई डेरा जमाइसकेको थियो । कोभिडको महामारी फैलिन नदिन गत चैतमा सरकारले लकडाउन घोषणा ग¥यो । सुरुवाती समयमा काम गर्न श्रमिकहरु गएनन् । जनशक्ति नहुँदा मेलम्ची आयोजनाको काम अगाडि बढ्न सकेन । “मेलम्चीमा काम गर्ने विदेशी जनशक्ति पनि छन्, कोभिडको समयमा काम गर्ने वातावरण थिएन, जनशक्तिको अभाव भएको थियो,” खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, “जनशक्तिको अभावले आयोजनाकको काम अगाडि बढ्न सकेन, यसकारण पनि आयोजनाको काम पछाडि धकलिएको हो ।” जनशक्तिको चहलपलमा पनि सहज अवस्था थिएन ।
मेलम्ची जस्तो मल्टिस्टेक होल्डर निकायहरुमा स्वदेशी मात्रै नभइ चिनियाँ लगायत अन्य देशका विज्ञहरुहरुको पनि संलग्नता छ । कोभिडका कारण उनीहरुलाई आवतजावतमा समस्या उत्पन्न भयो ।
कच्चा पदार्थको अभाव
कोभिडका कारण लामो समयसम्म नेपालमा पनि लकडाउन घोषणा गरियो । लकडाउनका कारण उद्योग कलकारखानाहरु बन्द भए । यसकारण मेलम्चीलगायत अन्य ठूला आयोजनाहरुले झेल्नुपरेको साझा समस्या कच्चा पदार्थको अभाव । मेलम्ची आयोजना निर्माणको क्रममा आवश्यक पर्ने, गिट्टी, बालुवा रड आदिका कारण मेलम्ची खानेपानी आयोजनाको सामान्य कामलाई पनि असर ग¥यो । कच्चा पदार्थको अभाव भयो । आपूर्ति सहज भएन । सम्बन्धित क्षेत्रमा काम गर्ने क्रममा चुनौति थपिए ।
मेलम्ची दुर्घटना भएपछि, त्यसको रेक्ट्रोफिट गर्ने क्रममा भारतबाट आवश्यक उपकरण ल्याउनु पर्ने थियो । तर सवारी आवत जावत सहज नहुँदा रेक्ट्रोफिटका लागि आवश्यक सामग्री ल्याउन सहज थिएन । यसका लागि पनि विभिन्न देशका विज्ञहरु ल्याउनु पर्ने थियो । हवाई सेवा बन्द भएपछि उनीहरु आउन सकेनन् । हाल मेलम्चीमा हेर्डवर्कस्को काम माथि र तल टनेलको काम भएको छ । आवश्यक पर्ने गिट्टी बावुवा, सिमेन्ट, रड ल्याउन खोज्दा स्थानीयको अवरोधले समस्या उत्पन्न भएको बताउँछन् प्रवक्ता शाक्य । “हामी रिजर्ब सामान प्रयोग गर्दैनौं, उद्योगबाटै सिधै ल्याउँछौ, दाङ रुपन्देही, नवलपरासीबाट ल्याउनुपथ्र्यो” उनले भने, “लकडाउनको समयमा ल्याउन गाह्रो भयो, जुन ठाउँबाट ल्याउनुपथ्र्यो, स्थानीयको अवरोध पनि आयो ।”
गेटको त्रुटी
मेलम्ची आयोजनाको गेटमा देखिएको त्रुटी देखियो । उक्त गेटको हाल ठेकेदार कम्पनीले नै मर्मत गरिरहेको छ । आयोजना सम्पन्न गर्ने जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेपछि सिएमसीले गेट निर्माणका लागि ठेक्का दिएको अर्को भारतीय ठेकेदार कम्पनी सिआइएलले नै भत्किएको गेट सुधार गर्ने काम गरिरहेको छ ।
गत असार ३० मा परीक्षणका क्रममा सुरुङको गेट फुस्किँदा दुर्घटनासमेत भएको थियो । घटनाको विषयमा अध्ययन गर्न बनेको प्राविधिक टोलीले मेलम्ची खानेपानी आयोजनामा गम्भीर प्राविधिक त्रुटी भेटिएको जनाएको छ । छानविन गर्न गठित समितिले गम्भीर प्राविधिक त्रुटिसँगै लापरवाही भएको तथ्य भेटेको थियो । खानेपानी मन्त्रालयका सह–सचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले भित्र राख्नुपर्ने गेट बाहिरपट्टीबाट राखिएका कारण पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
सुन्दरीजल पुग्ने मेलम्चीको मुख्य सुरुङ (२७ किलोमिटर)सँग जोडिएको अम्बाथान अडिटको (गेट नम्बर १७) फुटेर पानी फर्किएको थियो । आयोजनाको मुख्य सुरुङमा अम्बाथान अडिटमा रहेको मुख्य गेट (गेट नम्बर १७) को महत्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल, सिन्धुमा गरी चार वटा बनाइएका छन् । अम्बाथान अडिट एक किलोमिटरको दूरीमै मुख्य सुरुङ २७ किलोमिटरसम्म जोडिने छ । मन्त्रालयका प्रवक्ता शाक्यले २ वटा गेट जोडिएको र १ महिनामा पानी हाल्न तयार हुने बताए ।

भाका सरेको सरै
३ वर्ष अघि नै खानेपानी मन्त्री विना मगरले मेलम्ची आउने दावी गरेकी थिइन् । हुन त ३ वर्षअघि यस्ता प्रतिवद्धता पटक पटक नआएका होइनन् । गत असार महिनामा पनि मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न हुन लागेको भन्दै खानेपानी मन्त्री बिना मगरले अब छिट्टै उद्घाटन हुने घोषणा गरिन् । कोभिडको समयमा पत्रकार सम्मेलनमा मन्त्रीले घोषणा गरेपछि सबैमा यसले एक किसिमको उत्साह पनि जगायो, तर पूरा भएन । गत असारमा नै मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको बताइएको थियो । पत्रकार सम्मेलनमार्फत सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने जानकारी दिइएपनि त्यो खुसी लामो समय टिकेन । मेलम्चीमा आएको प्राविधिक त्रुटीका कारणले पनि मेलम्ची आयोजनालाई पछाडि धकेल्यो ।

फेरी ४ महिनाको भाका
अब कुनै पनि प्राविधिक समस्या नआए मेलम्ची खानेपानी आयोजना उपत्यकाका खानेपानी उपभोक्ताको धारामा आइपुग्न अझै पनि ४ महिना लाग्ने भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा सुरुवातमा नै मेलम्ची खानेपानी उपभोक्ताको धारामा पानी आउने घोषणा भइसके पनि प्राविधिक त्रुटीका कारण मेलम्ची आयोजना लम्बिएको हो ।
विज्ञ भन्छन्, – अब धेरै समय लाग्दैन
विज्ञले अब लामो समय नलगाग्ने बताएका छन् । खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यले अब मेलम्चीको पानी आउन धेरै समय नलाग्ने बताएका छन् । “म त अब खासै अन्य प्राविधिक समस्या आउने देख्दिन, प्राविधिक समस्या नआए त मेलम्चीको काम सकिसकेको हो नि, गेटमा समसया नआएको भए यतिबेलासम्म उपत्यकामा मेलम्ची आइसक्थ्यो” उनले थपे, “हुन त ट्रायलको समयमा पनि समस्या आउन सक्छ, समसया आयो फेरि २÷३ महिना रोकिन सक्छ, यद्यपी अब मेलम्ची आउन समय लाग्दैन ।”
पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत भइरहेको खानेपानी मन्त्रालयले बताएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।
मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए ।
यता चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्ग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ ।“ मेलम्ची आएपछि ६ महिनाको समय टेस्टिङमा लाग्ने छ, मेलम्चीको १७ करोड लिटर पानीमध्ये, टेस्टिङका लागि २ करोड नयाँ पाइपलाइनबाट र अरु केयुकेएलको पुरानो पाइपलाइनबाट वितरण गरिने छ ।”

मेलम्ची आएपछि खानेपानी सहज
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने छ । खानेपानी मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर आवश्यक छ । हाल १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । माग अनुसार निकै थोरै पानी आवश्यकता भएको देखिन्छ । मेलम्चीको पहिलो चरणको आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुने छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुन थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी उपलब्ध हुन्छ । बढी भएको पानी बागमतीमा बगाउने सरकारी योजान छ ।
पटक पटक आयोजनामा चुनौती
मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ । सिएमसी कम्पनीसँग ठेक्का सम्झौता तोडेपछि मेलम्चीको पानी काठमाडौं आउला त ? भन्ने प्रश्न उब्जिएको छ ।
मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा विस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत् उत्पादन तथा नदीमा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो ।
आयोजनामा दातृ निकायहरू बीचको तालमेल तथा शर्तहरूको कारण विद्युत् तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएका हो । सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो ।
सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरू जग्गा अधिग्रहण, पहुँच मार्गहरूको निर्माण, क्याम्प साइट निर्माणलगायतका कार्यहरू सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स् एवं सुरुङ निर्माणका कार्य सुरु भएको थियो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तहरू अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।
सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनः सम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी आयोजनाको डिजाइनमा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा विभाजन गरिएको छ । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गएको छ । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।
सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भइ अप्रिल २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतित हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।
मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो ।

प्रतिक्रिया दिनुहोस्