कोभिडले बालबलिकाको सिकाइलाई संकटमा पारेको छैन «

कोभिडले बालबलिकाको सिकाइलाई संकटमा पारेको छैन

धनबल छैन भने जनबल प्रयोग गरेर भए पनि शिक्षालाई निरन्तरता दिनुपर्छ

प्रा.डा. विद्यानाथ कोइराला

धेरैले कोभिड अवधिमा शिक्षा क्षेत्रमा धेरै समस्या आयो भनेर भने पनि सिकाइमा भने समस्या आएको होइन । यो बेला शिक्षालाई हामीले नै समस्या मान्यौं र सिकाइ नै बन्द ग-यौं । सिकाइलाई व्यवस्थित गर्न नसक्दा शिक्षाको विषयलाई लिएर कोभिड संकटमा सरकारले आलोचना खेप्नुप-यो । शिक्षा क्षेत्रलाई व्यवस्थित केही विषयलाई एकसाथ लिएर जान सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेकोमा आलोचना खेप्नुपरेको हो ।
बालबालिकाले घरमा नै बसेर केही सिक्छन् भन्ने मान्यता राख्ने किसिमको शिक्षा पद्धति विकास गर्न सकिन्छ । बालबालिकाले दैनिक गरिरहेको विषयलाई सिकाइसँग जोड्ने हो भने तत्काललाई विद्यालय र दीर्घकालीन रूपमा पुस्तकविहीन कक्षा सञ्चालन गर्न सकिन्छ । बालबालिकाले भात पकाउन सिक्नु भनेको साइन्स र अर्थशास्त्र हो भन्ने कुरा सिकाउने प्रकारको सिकाइ पद्धतिको विकास गर्न ढिलो भइसकेको छ ।
भात पकाउँदा नुन कति राख्नुपर्छ भन्ने अर्थशास्त्रलाई व्यवहारमा नै सिकाउन सकिन्छ । त्यसैले यहाँ भन्न खोजेको के हो भने केटाकेटीले यो सिकाइमा सधैं भात पकाउनुपर्छ भन्ने होइन । यसलाई एक दिन सिकाउने पाठका रूपमा लिन सकिन्छ । तर कहिलेकाहीं पकाउनु भनेको अपर्झट हो । अपर्भmटमा उनीहरूले जे सिकेका थिए त्यस्ता विषयलाई हामीले सिकाइसँग जोड्नुपर्छ । सबैले कोरोना महामारी भने, तर यसले सिकाइमा केही असर पार्दैन । कोरोना महामारीमा शिक्षालाई सजिलो बनाउन नेतृत्वले भूमिका खेल्नुपर्ने थियो, त्यो भएन भन्ने मात्र शिक्षा क्षेत्रमा देखिएको संकट हो ।
दोसो, केटाकेटीले भर्खर मात्र प्रविधिको प्रयोग गरेर सिकाइ गरिरहेका छन् । केटाकेटीले रेडियोमा धेरै सिकिरहेका छन् । टेलिभिजनमा पनि केहीले सिकेका छन् । अनलाइनमा पनि केहीले सिकेका छन् । यसरी नै केहीले अफलाइनमा पनि सिकेका छन् । बाँकी रहेकाले आफ्नो तरिकाले सिकेका छन् ।
यदि केटाकेटीले सबै माध्यमबाट सिकिरहेका छन् भने उनीहरूले सिक्ने सामग्री कसले उत्पादन गर्ने हो भन्ने कुरा केन्द्रमा मात्र सीमित भयो । संघ, प्रदेश र स्थानीय कुन सरकारले कस्तो पाठ्यक्रम बनाउने भन्ने कुरा मानसिक रूपमा नै तयार हुनुपर्छ । यस्ता पाठ्यक्रम शिक्षक स्वयंलाई बनाउने जिम्मा लगाएको भए शिक्षकले उत्पादन गर्ने थिए । उनीहरूले उत्पादन गरेका पाठ्यक्रम र पाठ्यसामग्री अध्यापनका लागि अझ सहज हुन्छ । यसरी उत्पादित सामग्री किन्न पनि पाइन्थ्यो र बेच्न पनि पाइने थियो ।
यसो गर्दा एक पालिका वा शिक्षकले बनाएको पाठ्यसामग्री अर्कोले किन्ने थियो । एउटा शिक्षकले बनाएको सामग्री अर्को निकायले किन्ने थियो । यो तरिका अपनाएको भए पनि शिक्षा क्षेत्र समस्यामा पर्ने थिएन । शिक्षक जिम्मेवारीमा हुने थियो । अहिले जिम्मेवार संघीय सरकार भइदियो । अहिले शिक्षाको जिम्मेवारी दिने तर अधिकार नदिने नियतले बढो नोक्सानको कुराकानी भयो । किनभने संघीय सरकारले देशभर यसो गर्नु भनेर भन्यो । तर सबै स्थानीय तहमा त्यो अनुकूल अवस्था छैन । शिक्षाका सबै निर्णय संघीय सरकारले ग-यो । यो विकेन्द्रीकरण र संघीयाको बर्खिलाफमा हो । सरकारले बोल्न नहुने कुरा बोलेको छ । मैले शिक्षामन्त्रीज्यूलाई भनेको छु, अहिले भएको निर्णयले हजारौं विद्यार्थीमाथि अपराध भएको छ ।

अब के गर्ने?
जुन किताबबाट पढिरहेका छौं वा पढाइरहेका छौं, शिक्षकलाई त्यो किताब छोटो अवधिमा वा व्यवहारसँग जोडेर पढाउने शैलीको विकास गर्नुपर्छ । उदाहरणका लागि शिक्षकले पढाउँदा ज्यामिति, अंकगणित, अलजेब्रा बढी जान्ने भएर बढायो होला । एकपटक विचार गरौं त, डोको, पेरुंगो वा आँखीझ्याल बनाउने मान्छेको अनुहार सम्झौं । विचरा यस्तो सीप हुने मानिसले गणित पढेको छैन । तर, तिनीहरूले बनाएको डोको, पेरुंगो, आँखीझ्याल र मधेसतिर बनाएको टाउकोमा राख्ने छत्रीमा गणित त सबै छ । गणितको जोमेट्री, अर्थोमेटिक र अंकगणित त्यहीं छ । डोको, पेरुंगो, आँखीझ्यालमा प्रयोग भएको गणितको सबै सिद्धान्त भेटिन्छ भनेर शिक्षकले भन्न सक्नुपर्छ ।
यसरी सिकाउने जनशक्ति भए काममा लगाउने र छैन भने बनाउनुगर्छ भन्ने मान्यताको विकास गर्नुपर्छ । यस्तो जनशक्ति छ भनेर किन भन्छु भने जनवादी शिक्षा भनेर शिक्षालाई नराम्रो भन्ने नेताले यसरी बनाउनुपर्छ भनेर सिकाउन किन सकेनन् ? ती जनवादी शिक्षाको भाषण गर्नेले शिक्षकलाई तयार पार्नु पर्दैन ? शिक्षक महासंघले आफुले बुझेर आफु अगाडि लाग्नु पर्दैन । चुनौती स्वीकार गर्न नसक्ने हाम्रो समाजमा परम्परागत सोच रहेको छ ।
विद्यार्थीसँग पाठ्यसामग्री छैन । अहिले अनलाइन सेवा र डिभाइस छैन भन्ने मान्छेलाई मैले सिल्लड भन्ने गरेको छु । सिल्लड किन भनेको भने छैन भन्ने कुरा सबैलाई थाहा छ । भएका मानिसलाई के गर्ने, नभएकालाई के गर्ने भन्ने कुरातिर विकल्प दिन पनि सक्नुपर्छ । बुद्धि जहाँ चाहिने हो त्यहाँ प्रयोग गर्ने हो । छैन भन्ने ठाउँमा पनि विकल्प रहेको छ । प्रविधि र विकल्प नभएको ठाउँमा हुलाकबाट पनि पाठ्यसामग्री, गृहकार्य र अन्य कुरा पठाउन सकिन्छ । हुलाकीलाई एउटा विद्यालयमा शिक्षकले तयार गरेका पाठ्यसामग्री घरघरमा पु-याउन लगाउनुपर्छ । यसका साथै विद्यार्थीलाई स्वयंसेवा गर्न लगाएर पालैपालो अरू साथीको घरमा पाठ्यसामग्री पठाउन लगाए पनि हुन्छ ।
यो क्षेत्रमा लगानी गरेर कोरोना संकटमा शिक्षालाई निरन्तरता दिन सकिन्थ्यो । केन्द्रबाट नै सबै गरिदिनुपर्छ भन्ने मन्त्री र कर्मचारीको सोचका कारण नेपालको शिक्षा यता न उताको भएको छ । बहाना हुनेका लागि हामीले काम गरेनौं, चाहना हुनेका लागि पनि काम गरेनौं । बहाना हुनेहरूका लागि इन्टरनेट, रेडियो, टिभी छैन । चाहना हुनेका लागि केही छैन भने पनि विकल्प त छ नि ! चाहना हुनेले आफै लेखेर, गाउँमा माइक लगाएर भए पनि पढाउँछ । चुनावमा माइक लगाएर भाषण गर्न मिल्ने, संकटका बेला पढाउन माइक लगाउन नहुने भन्ने हुन्छ र ? यस्तो विकल्पका लागि खर्च गर्ने भनेर पालिकामा खर्च पठाउन मिल्दैन ? सरकारको बुद्धिचाहिँ मैले गरेको जस्तो हुनुपर्छ भन्ने बुद्धिले गर्दा समस्या आएको हो । शिक्षक त्यही भएर चुप बसे । विद्यालय बन्द गर भनेर सरकारले भन्यो, बन्द ग-यो । विद्यालय खोल भन्यो, अनि खोल्यो गर्दा यस्तो अवस्था आएको हो । चाहना हुने हो भने शिक्षालाई निरन्तरता दिने हजार विकल्पहरू रहेका छन् । एक तथ्यांकले अहिले २५ प्रतिशत बालबालिका कुनै पनि शैक्षिक कार्यक्रममा जोडिएका छैनन् भनिन्छ । यो तथ्यांक आपैंmमा डरमर्दो हो । त्यो २५ प्रतिशत संख्या सर्बहाराको प्रतिनिधि गर्ने अहिलेको सरकारको होइन ?
यो चिन्तनगत र परिचालनगत समस्या हो, आर्थिक समस्या होइन । आर्थिक समस्याले शिक्षा सुचारु नभएको किन होइन भने पैसा नहुँदा जनबल प्रयोग गर्ने हो । चीनका माओले सुरु गरेको विकासको लहर र नेपाली माओवादी सत्तामा पुगेको जनबलले होइन र ? शिक्षालाई निरन्तता दिन जनबल प्रयोग गर्ने तरिका हामीसँग छ । धनबल छैन भने जनबल प्रयोग गरेर भए पनि यो संकटमा शिक्षालाई निरन्तरता दिनुपर्छ ।
शिक्षामा रूपान्तरण भन्दा पनि सोचान्तरण परवर्तन गर्नुपर्छ । रूप बदल्ने काम सिकर्मीको हो, सोच बदल्ने काम शिक्षकको हो । हाम्रो समस्या के भने हामीले शिक्षालाई हेर्न सोच नै बदल्न सकेनौं । पाठ्यक्रम बदल्दा रूपमा बदल्ने हो कि पाठ्यपुस्तक बदल्दा रूपमा बदल्ने हो वा शिक्षक बदलिँदा रूप बदलिने हो ?
शिक्षकको टाउको नबदलिएसम्म रूपान्तरण र सोचान्तरण केही बदलिँदैन । अब समानान्तर तवरबाट पढाइ अगाडि बढाउनुपर्छ । त्यो भनेको मिडियाबाट पढ्ने, पढाउने कुरालाई निरन्तरता दिनुपर्छ र रेडियो, टेलिभिजन धेरै स्थापना गर्नुपर्छ । अफलाइनबाट पढाउन यस्ता सेन्टर पालिका–पालिकामा बनाउनुपर्छ । गरिबका छोराछोरी त्यहाँ गएर पढ्न सक्छन् । चार–पाँचवटा घरका लागि पढाउन एक क्षेत्र निर्धारण गर्नुपर्छ । अफलाइन पाठ्यसामग्री र पाठक्रम बनाएर रेडियो, टिभीबाट दुई–चार घरलाई पढाउने वातावरण बनाउन पैसा धेरै चाहिँदैन, न त जनशक्ति ।
अब समानान्तर तरिकाले पढाइ सुरु गर्नुपर्छ । प्रविधिबाट पढाउने कुरा नियमित मात्र हैन, व्यापक बनाउनुपर्छ । अब भर्चुअल मात्र हैन, सेन्सुअल (शिक्षकले विद्यार्थी नजिकै छन् भन्ने आभाससहितको) प्रविधिमार्फत सिकाइलाई निरन्तरता दिनुपर्छ ।
अहिलेको किताबलाई शिक्षकले व्यवहारसँग जोडेर पढाउने कलाको विकास गर्नुपर्छ । उदाहरणका लागि खोटाङका मदन राईले सञ्चालन गरेको विद्यालयमा विद्यार्थीलाई किताबको पाना–पाना पल्टाएर पढाउँदैनन् । पढाइलाई व्यवहारसँग तुलना गरेर पढाउन सीप भएका शिक्षकको उत्पादन गर्न लगानी धेरै गर्नु पर्दैन ।
अहिले जति बालबालिका छन्, उनीहरूसँग गजबको अनुभव छ । कसैले प्रविधिमा अनुभव लिएका छन् । कतिले खेतीपातीको अनुभव लिएका छन् । कसैले अर्काको काम गर्ने अनुभव हासिल गरेका छन् । केटाकेटीको अनुभवलाई पढाइसँग जोड्ने कला शिक्षकले सिकाउनुपर्छ । अहिलेका शिक्षक किताब पढाउने मात्रका शिक्षक भए । विद्यार्थी पिङ खेलेर बसेको छ भने पिङलाई विज्ञानका रूपमा पढाउनुपर्छ । पिङबाट गणित र सामाजिक पनि पढाउन सकिन्छ । पिङलाई सामाजिक सद्भावका रूपमा सामाजिक शिक्षा पढाउन सकिन्छ । बच्चाले जिन्दगीमा के राम्रो गर्छ, त्यसलाई उसले दैनिक पढ्दै आएको पाठसँग जोड्नुपर्छ । विद्यार्थी जहाँ पढ्न मन गर्छ त्यहीं पढाउनुपर्छ । जे पढेको छ, त्यहीअनुसार प्रश्न बनाउनुपर्छ ।
पिङ खेल्नेलाई ‘पिङ खेल्दा के थाहा पायौ ?’ भनेर नै प्रश्न बनाएर सोध्न सकिन्छ । वेबसाइट धेरै हेर्ने बालबालिकालाई वेबसाइटबाट सिकेका कुरा सोध्न सकिन्छ र त्यहीअनुसार प्रश्न बनाउन सकिन्छ । तर यी पिङ र वेबसाइट हेर्ने बालबालिकाको सिकाइ फरक–फरक क्षेत्रमा भएको हुनाले उनीहरूको समकक्षता एकै प्रकारको बनाउनुपर्छ । समकक्षताका लागि टोफेल, जीआई खालको स्तरीय परीक्षण प्रणालीको विकास गर्नुपर्छ । त्यो स्तरीय परीक्षा भइसकेपछि त्यो उमेरमा के थाहा पाउनुपर्ने थियो, त्यो थाहा पाउँछ । योसँगै अर्को एक प्रकारको परीक्षा पनि सँगै गर्नुपर्छ । त्यो भनेको प्रवृत्ति परीक्षा हो । यो परीक्षाले विद्यार्थी कुन ल्याकतको हो भन्ने छुट्ट्याउँछ । यो परीक्षाले व्यवहार, चिन्तन र सीप के भन्ने छुट्ट्याउन सहयोग गर्छ । यसका लागिचाहिँ सरकारले लगानी गर्नुपर्छ ।
सरकारले शिक्षा प्रणाली कसरी अगाडि लैजाने भन्नेबारेमा केन्द्रले मात्र निर्णय गरेर लाद्ने नीति लिएको छ । स्थानीय तहले शिक्षाका सम्बन्धमा विभिन्न राम्रा अभ्यास गरेका छन् । स्थानीय तहलाई अधिकार दिने काम भर्खर मात्र भएको छ । अहिले जेनतेन शिक्षक प्रविधिसँग जोडिएका छन् । उनीहरूलाई यस सम्बन्धमा थप तालिमको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्