Logo

संकटपछिको अवसर सदुपयोग गरौं

विश्वमै असहज परिस्थितिबीच कारोबार राष्ट्रिय आर्थिक दैनिक ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गर्दैछ । विश्व यतिबेला कोभिड–१९ महामारीका कारण लथालिंग छ । आर्थिक, सामाजिक गतिविधि ठप्प छन् । नेपालको स्थिति पनि भिन्न छैन । नेपालमा महामारीले ढिलै धक्का दियो र विश्वास छ नेपाल नै अन्य मुलुकभन्दा छिटो यस महामारीबाट तंग्रिनेछ । राष्ट्रहरूले जतिसुकै विकास तथा प्रगति गरे पनि कोरोना महामारीजस्ता वैश्विक विषयमा विश्व एक हुनुको विकल्प नभएको सन्देश पनि यस संकटले दिएको छ । तर, यो विनासकारी महामारी छिट्टै हार्दैछ र मानवजाति एउटा नयाँ युगमा प्रवेश गर्नेछ । मानवजातिकै कारण उत्पन्न यस संकटले मानवजातिलाई झन् सभ्य र सुसंस्कृत बनाउने आशा छ । मानव जातिले हरेक संकटपछि आफनो साहस तथा वुद्धिले आफनो सभ्यतालाई नयाँ तथा परिस्कृतरूपमा अगाडि बढाएको इतिहास छ । अबको नयाँ युगमा सबै हात एक साथमात्र होइन प्रविधि नै विकासको प्रमुख आधार बन्ने देखिन्छ । नेपालले पनि अब प्रविधिमा लगानी गर्ने र प्रविधिलाई आत्मसात गर्नुको विकल्प छैन । अबको आर्थिक क्रान्तिमा प्रविधि नै मानवजातिको भरपर्दो सहयात्री हो । कारोबार राष्ट्रिय आर्थिक दैनिक पनि यसमा अछुतो रहने छैन ।
लामो समयको राजनीतिक अस्थिरतापछि नेपालले एउटा स्थिर राजनीतिक प्रणालीमार्फत अघि बढ्ने चेष्टा गरिरहेको छ । यसै स्थिरताबीच अर्थतन्त्रले विस्तारै बामे सर्दै गर्दा कोरोनाले फेरि एकपटक हामीलाई हाम्रा प्राथमिकतामा पुनर्विचार गर्ने मौका दिएको छ । त्यसैले हामी आफ्नो लक्ष्यमा अडिग रहेरै अगाडि बढिरहने छौं । बितेका महिनाहरू नेपाली अर्थतन्त्रका कष्टकर दिन थिए । जब अर्थतन्त्रमा संकट आउँछ, सबैभन्दा पहिलो मार सञ्चार क्षेत्रमा नै पर्दछ । तैपनि कोरोना कहरका पछिल्ला नौ महिना तथा त्यसभन्दा अघि विगत एक दशकभन्दा बढीदेखि नै विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष चुनौतीका बाबजुद नेपाली अर्थतन्त्रको एक अथक सहयात्री तथा साक्षी कारोबार राष्ट्रिय आर्थिक दैनिकले सबैको माया पाइरह्यो । हामी हाम्रा सबै सहकर्मी, पाठक, नीति निर्माता, राजनीतिक दल, हाम्रा अभिभावक, विज्ञापनदातालगायत सम्पूर्णलाई धन्यवाद नदिइरहन सक्दैनौं ।
भवन भट्ट
अध्यक्ष, टीबीआई पब्लिकेसन्स प्रालि

प्रतिक्रिया दिनुहोस्