भन्सार छुट पाएका वस्तु पनि निर्यातमा समस्या «

भन्सार छुट पाएका वस्तु पनि निर्यातमा समस्या

टिफा कार्यान्वयनमार्फत निर्यात बढाउने नेपालको लक्ष्यमा रहेको अवरोध तथा नीतिगत तथा प्रक्रियागत समस्याका बारेमा पनि गहन समीक्षा हुनु आवश्यक भइसकेको छ ।

नेपालले विभिन्न विकास साझेदार राष्ट्रसँग नेपाली वस्तु निर्यातमा भन्सार सुविधा पाउने सम्झौता गरेको छ । साथै, भारत, चीन तथा अमेरिकालगायतका ती राष्ट्रले नेपाललाई अल्पविकसित राष्ट्रका रूपमा नेपालमा निर्मित वस्तु आयातमा भन्सार सुविधा पनि दिएका छन् । हाल व्यापारमार्फत सहयोग अर्थात एड फर ट्रेडका त्यति धेरै चर्चा नभए पनि विगतमा त्यही कार्यक्रमअन्तर्गत तथा पछि अल्पविकसित राष्ट्रको हैसियतले पनि नेपालले विकास साझेदार राष्ट्रबाट धेरै सुविधा पाइआएको छ । तर, नेपालको आफ्नै आन्तरिक राजनीतिक अस्थिरता, लामो समयसम्म उद्योगमा ऊर्जाको कमी, कामदारका समस्या तथा नीतिगत असहजताका कारण नेपालले यस्ता धेरै सुविधाहरूबाट लाभ लिन सकेको थिएन र छैन । पछिल्लो समय एउटै राजनीतिक दलको बहुमतको सरकार बनेपछि भने उद्योगी–व्यापारीमा केही आशा तथा भरोसा जन्मेको थियो । पाँच वर्षसम्म चल्ने एउटै राजनीतिक दलले राजनीतिक स्थिरता त दिन्छ नै, नीतिगत स्थिरता पनि हुने भए पनि लगानीको सुरक्षा तथा सहज श्रम सम्बन्धका कारण उत्पादकत्व ह्वात्तै बढ्नेछ र निर्यात पनि बढ्नेछ भन्ने अपेक्षा पनि थियो । साथै, आयात प्रतिस्थापनमार्फत देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा पनि गरिएको थियो । तर, राजनीति सरल रेखामा चलेन र तीन वर्ष पुग्दा नपुग्दै परिस्थिति असहज हुन थाल्यो । त्यसमाथि केरोना कहर अनि चन्दा आतंक बढ्न थालेपछि उद्योग व्यापारको स्थिति फेरि डाँवाडोल हुने देखियो ।
यसै सेरोफेरोमा नेपाल र अमेरिकाका बीच व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट काउन्सिल अर्थात् टिफा बैठक मंगलबार बस्दैछ । वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले पाइरहेको भन्सार छुट सुविधाको उपयोगसम्बन्धी विषयमा छलफल हुने अपेक्षा छ । अमेरिकाले एक दशकअघि टिफा सम्झौताअन्तर्गत नेपाललाई निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा त्यसको गहन समीक्षा हुनु आवश्यक भइसकेको छ । प्रत्येक वर्ष आलोपालो नेपाल तथा अमेरिकामा हुनुपर्ने बैठक नभएका कारण पनि यस पाचौँ टिफा बैठकमा यस सम्बन्धमा गहन छलफल हुने अपेक्षा छ । टिफा कार्यान्वयनमार्फत निर्यात बढाउने नेपालको लक्ष्यमा रहेको अवरोध तथा नीतिगत तथा प्रक्रियागत समस्याका बारेमा पनि गहन समीक्षा हुनु आवश्यक भइसकेको छ । नेपालले छुट पाएकामध्ये नेपालबाट झोला, सुटकेस, लगेज, ब्याग प्रयोजनका उत्पादन, फ्लोर कभरिङका उत्पादन, सल, ब्लांकेट, विभिन्न रेसाका उत्पादन, शिरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा अमेरिकामा ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपैयाँबराबरको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ३५ करोड ४८ लाख ६९ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यस्तै आर्थिक वर्ष २०७५÷७६ मा अमेरिकामा १० अर्ब ८४ करोड ८८ लाख ६२ हजार रुपैयाँको कुल निर्यात भएकोमा ६८ करोड ४८ लाख १८ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । यसबाट नेपालले टिफाअन्तर्गत फाइदा लिन नजानेको हो कि अन्य समस्या छन्, ती पनि समीक्षा हुनु आवश्यक भइसकेको छ । एकातिर सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउने घोषणा गर्छ तर अर्कातिर निर्यातका लागि दिइएको छुटसमेत कार्यान्वयन गर्न सक्दैन भने पछि यसको गम्भीर समीक्षा हुनु आवश्यक भएको हो । यसपटक कोरोनाका कारण हुने भर्चुअल बैठकमा व्यापार बढाउन भन्सार र सहजीकरण, निर्यातमा प्राविधिक सहायता, बौद्धिक सम्पत्ति, बजार पहुँच र व्यापारमा अवरोध, नेपालमा लगानी र विश्व मूल्य श्रृंखलामा स्वदेशी उद्योगलाई जोड्ने, सेवा र लगानी नीति बैठकका मुख्य एजेन्डा राखिएको छ । तर, यी कुराहरू पहिला पनि उठेका हुन् र यसबाट कुनै फाइदा भएन भनेपछि सरकारले यसमा निर्मम समीक्षा गरेर देशभित्रै पर्याप्त उत्पादनमा जोड दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्