७७ वस्तुमा भन्सार छुट दिँदा ३५ करोडको मात्रै निर्यात «

७७ वस्तुमा भन्सार छुट दिँदा ३५ करोडको मात्रै निर्यात

भन्सार छुट कार्यान्वयनका लागि टिफा बैठक हुँदै

नेपाल र अमेरिकाकाबीच व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट काउन्सिल, टिफा) बैठक मंगलबार हुँदैछ । वाणिज्य सचिवस्तरीय यस बैठकमा नेपालले पाइरहेको भन्सार छुट सुविधाको उपयोगसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
५ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा त्यसको समीक्षा र कार्यान्वयनका लागि पाचौँ टिफा बैठक हुन लागेको हो ।
पहिला बैठकहरूमा जस्तो यस पटकको बैठकमा टिफा कार्यान्वयनबारे गम्भीर रुपमा छलफल हुने कार्यक्रम छ । तर, निर्यात कार्यान्वयनको अवस्था भने अझै दयनीय छ । छुट पाएकामध्ये नेपालबाट झोला, सुटकेश, लकेज, ब्याग प्रयोजनका उत्पादन, फ्लोर कभरिङका उत्पादन, सल, ब्लांकेट, विभिन्न रेशाका उत्पादन, शीरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७६-७७ मा अमेरिकामा ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपैयाँ बराबरको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ३५ करोड ४८ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस्तै आर्थिक वर्ष २०७५-७६ मा अमेरिकामा १० अर्ब ८४ करोड ८८ लाख ६२ हजार रुपैयाँको कुल निर्यात भएकोमा ६८ करोड ४८ लाख १८ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ ।
सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउने घोषणा गरी निर्यातका लागि दिइएको छुट समेत कार्यान्वयन गर्न सकेको छैन । यसको बारेमा बेला बेलामा समीक्षा समेत हुने गरे पनि अवस्था उस्तै छ । यसपटकको भर्चुअल बैठकमा पनि व्यापार बढाउन भन्सार र सहजीकरण, निर्यातमा प्राविधिक सहायता, बौद्धिक सम्पत्ति, बजार पहुँच र व्यापारमा अवरोध, नेपालमा लगानी र विश्व मूल्य श्रृंखलामा स्वदेशी उद्योगलाई जोड्ने, सेवा र लगानी नीति बैठकका मुख्य एजेन्डा राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि अमेरिकामा भएको चौथो टिफा बैठकमा पनि यी कुराहरू उठेका थिए तर अहिलेसम्म कुनै पनि कार्यान्वयनमा आउन सकेका छैनन् । व्यापारविज्ञ रविशंकर सैंजु मुुलुकमा पर्याप्त उत्पादन गर्न नसक्दा अमेरिकाले दिएका सुविधा उपयोग गर्न नसकिएको बताउँछन । “ स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि चौथौ टिफा बैठकमा विभिन्न बुँदामा सम्झौता भए पनि जुन कार्यान्वयनमा आउन सकेको छैन,” उनले भने, “अमेरिकाले निर्यात बढाउनका लागि प्राविधिक सहयोग गर्ने भने पनि जुन कार्यान्वयनमा सकेन ।”
नेपालको तर्फबाट अन्तरनिकायबीच सस्ंथागत समन्वयको कमजोरीले निर्यातमा दिएको सुविधा समेत उपयोग गर्न नसक्दा निर्यात बढाउन नसकिएको र यसका लागि उत्पादन गर्ने निजी क्षेत्र र सरकारबीच समन्वय हुनुपर्ने सैंजुको भनाइ छ ।
सरकारले निर्यातलाई विशेष प्राथमिकता दिएर यसको पहिचान गरेर उत्पादन क्षमता बढाउन सके यसबाट नेपालले फाइदा लिनसक्ने अवस्था भने छ । नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरण साख अमेरिकाले ७७ वस्तुमा भन्सार छुट दिए पनि ती वस्तु संवेदनशील नभएकाले निर्यात गर्ने व्यक्तिलाई कुनै नाफा नहुने बताए । भन्सार छुट दिएका ७७ वस्तुमध्ये १०÷१५ वस्तुमा निर्यातको सम्भावना भए पनि तिनको समेत प्रवद्र्धन हुन नसक्दा भन्सार छुट दिए पनि निर्यात बढ्न नसकेको उनको भनाइ छ । “निर्यात प्रवद्र्धनका लागि प्राविधिक सहायता दिने व्यवस्था छ,” उनले भने, “सरकारले प्राविधिक सहायता लिएको भए निर्यात बढाउन सकिन्थ्यो, जुन अहिलेसम्म सरकारले लिएकै छैन ।”
सम्झौता कार्यान्वयनका लागि पटक पटक छलफल र समीक्षा भने भइरहेको छ । यसअघि वासिङ्टनमा सम्पन्न भएको बैठकमा अमेरिकी लगानी भित्र्याउन नेपालले गर्नुपर्ने कानुनी तथा प्रशासनिक सुधार सम्बन्धमा छलफल भएप नि कार्यान्वयनमा आउन सकेको छैन । यसअघिको सम्भौतामा बौद्धिक सम्पत्ति कानुन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको हुनुपर्ने, क्वारेन्टाइन अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने सम्झौता गरिए पनि कार्यान्वयनमा आउन नसकेको व्यापार विज्ञ बताउँछन् ।
टिफाको चौथो बैठक २०७५ मा अमेरिकाको वासिङ्गटनमा सम्पन्न भएको थियो भने २०७६ मा सो बैठक नेपालमा हुने भनिए पनि बल्ल हुन लागेको हो । टिफा काउन्सिल बैठकले नेपाललाई अमेरिकी लगानी भित्र्याउन तथा व्यापार सम्बन्ध सुदृढीकरणका लागि विश्वकै ठूलो अर्थतन्त्रसँग नियमित छलफल गर्न प्लेटफर्म प्रदान गरेको छ ।
नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफामा हस्ताक्षर भएको थियो । हरेक वर्ष आलोपालो दुवै मुलुकमा बैठक बसेर उपलब्धि समीक्षा तथा समस्या समाधान गर्ने सम्झौतामा उल्लेख छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपश्चात तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले नेपालबाट आयात हुने ७७ वटा मालवस्तुमा शून्य भन्सार दरको सुविधा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्