Logo

नेपाल किन सधै पछाडि?

आजको विश्वमा नेपालले आफ्नो प्राथमिकताको क्षेत्र र लगानी गर्ने तरिकामा धेरै नै परिमार्जित हुन जरुरी छ ।

सृजना कोइराला-मेघराज शर्मा

नेपाल एक अल्पविकसित मुलुकबाट विकासशील मुलुकतर्फ उन्मुख राष्ट्र हो । करिब ७० वर्षअघि प्रजातन्त्र प्राप्त भए तापनि अहिलेसम्म अरू देशहरूको तुलनामा नेपाल निकै पछि परेको देखिन्छ । दोस्रो विश्व युद्धपछि विकास पश्चिमा राष्ट्रहरूमा मात्र सीमित नभई उपनिवेशबाट मुक्त भएका कतिपय राष्ट्रहरू पनि औद्योगीकरण, भूमण्डलीकरण र टेक्नोलोजिकल क्रान्तिको फाइदा बुझेर त्यहीअनुसार आफ्नो आन्तरिक नीति परिमार्जित गर्दै विकासको नयाँ फड्को मारिसकेका छन् । दक्षिण कोरिया, सिंगापुर, दक्षिण अफ्रिका, चीन, भारत आदि देशहरूको प्रगतिको तुलनामा नेपाल धेरै पछाडि परेको अनुभूति हुन्छ । एक त नेपाल भूपरिवेष्टित भएका कारण विश्व भूमण्डलीकरणको धेरै अवसरहरूबाट वञ्चित भएको त छ । तर, यही एकमात्र कारण होला र नेपाल अगाडि नबढ्नुमा ?
देश विकासका धेरै पक्षहरू यसले लिने नीति र कार्यान्वयन क्षमतामा निर्धारण हुन्छ । विश्वव्यापी उदारीकरणको लहरसँगै नेपालले आफ्नो आन्तरिक व्यवसाय प्रवद्र्धन र सरकारले गर्नुपर्ने रेग्युलेसन, डिरेग्युलेसन, कर्मचारीतन्त्रमा सुधार, स्मार्ट प्रविधिको प्रोत्साहन र निजी क्षेत्र प्रवद्र्धनका लागि कति प्राथमिकता दिएको छ त ? नेपालले भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक नीति र सामाजिक नीति कस्तो लिएको छ भन्ने कुराले जनताको आर्थिक र सामाजिक गतिशीलताको निर्धारण गर्छ । यही विषयमा रहेर हामीले केही अरू देश र नेपालको तुलनात्मक विश्लेषण गर्ने प्रयास गरेका छौं ।

कर, करको प्रतिशत र संख्या
पछिल्लो २० वर्षयता नेपालमा आय र नाफामा करको प्रतिशत बढ्दै गइरहेको देख्न सकिन्छ । अरू देशको तुलना गर्ने हो भने नेपालमा सामान र सेवामा पनि जम्मा करको प्रतिशत बढी देखिन्छ र यो क्रम बढ्दो रहेको छ । कतिपयले नर्डिक देशहरूमा बढी कर, सामाजिक र आर्थिक नीतिको प्रशंसा गर्दै त्यहाको जस्तै नीति नेपालमा स्थापना गर्न वकालत गरिरहेको देखिन्छ । त्यसो गर्नुभन्दा अगाडि हामी र हाम्रो स्थितिमा नर्डिक देशहरूको जस्तो नीति लागू गर्न कत्तिको उपयुक्त छ र यसको भावी असर हाम्रो जस्तो देशमा के पर्न सक्छ भन्ने कुराको पनि हेक्का राख्न जरुरी छ ।
नवीनता र विकासको पर्यायका रूपमा लिन मिल्ने संयुक्त राज्य अमेरिकामा यो स्थिर र न्यून छ भने दक्षिण कोरियामा घट्दै गइरहेको देख्न सकिन्छ । त्यसैगरी नेपालमा कुल ग्रार्हस्थ्य उत्पादनमा करको प्रतिशत असामान्य रूपमा पछिल्लो २० वर्षको डाटा बढ्दो छ । यसको एक कारण भनेको आर्थिक गतिविधि बढेर हुन सक्छ र अर्को भनेको करको प्रतिशत र दायरा नै बढी भएर पनि हुन सक्छ । त्यसैगरी नेपालमा व्यापार व्यवसायमा लाग्ने करको संख्या पनि अरू देशहरूभन्दा बढी र पछिल्लो समयमा अरू देशमा (भेनेजुएलाबाहेक, जसको अर्थतन्त्र क्र्यास भएको छ, विशेष गरी आर्थिक–सामाजिक अत्यधिक कल्याणकारी नीतिका कारण) संख्या घट्दै गए पनि नेपालमा भने बढेको देखिन्छ ।
नेपालमा छाया अर्थतन्त्र अरू देशको तुलनामा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत असामान्य तरिकाले बढी देखिन्छ । यस्तो हुनुमा प्रमुख दुई कारण हुन सक्छन् । पहिलो, सार्वजनिक सेवा प्रवाह राम्रो नभएर र दोस्रो, औपचारिक क्षेत्रको करको दर बढी भएर । यी दुवै कारण नेपालको प्रसंगमा मिल्न जान्छ । त्यसै गरी लगानी स्वतन्त्रता सूचकमा पनि नेपालको प्रस्तुति अरू विकासशील र विकसित देशहरूको तुलनामा एकदमै खराब देखिन्छ ।
माथिको ग्राफहरूबाट नेपालमा लगानी गर्ने वातावरण विभिन्न किसिमको कर र करको बढ्दो प्रतिशतले अनुकूल नरहेको देख्न सकिन्छ । हामी सबै नेपाली जनताले धेरथोर कर सरकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिरिरहेका हुन्छौं । नेपालीहरूलाई आय र नाफामा पनि कर बढी हुने हुँदा सामाजिक र आर्थिक गतिशीलतामा असर पुगेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । नेपाल दुई ठूला अर्थतन्त्रको बीचमा रहेर पनि यसको सही फाइदा लिन नसक्नुमा नेपालको आन्तरिक बिजनेस वातावरण अनुकूलतामा कमी एक प्रमुख कारणका रूपमा लिन सकिन्छ । व्यवसाय सुरु गर्ने प्रतिव्यक्ति आयको प्रतिशत घटेता पनि अरू देशको तुलनामा अभिनवता र उद्यमशीलताका आधारमा नेपालमा अझै गाह्रो रहेको छ । एक त नेपालमा आन्तरिक वातावरण निरुत्साहित हुनु र अन्तर्राष्ट्रिय व्यापार व्यवसाय गर्न पनि नेपालमा अरू देशको तुलनामा असजिलो भएकाले पनि नेपालमा यससम्बन्धी नीति परिवर्तन वा परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ब्रेन ड्रेनको प्रोमोसन
नेपालमा करिब ६० प्रतिशत जनसंख्या युवा अवस्थामा रहेको डाटा छ । जनसांख्यिकीय लाभांशको भरपुर फाइदा लिएर देशको विकास र समृद्धितर्फ अगाडि बढ्नुपर्नेमा नेपालमा उल्टो भइरहेको छ । विशेष गरी २०६२÷६३ को जनआन्दोलनपछि नेपाली युवाहरू बिदेसिने क्रम बढेको देखिन्छ । नेपालबाट अदक्ष र अर्धदक्ष जनशक्ति आफ्नो देशमा रोजगारीको अवसर नभएर खाडीमा गएर काम गर्न बाध्य छन् । देशभित्र बाह्य लगानी भिœयाउने र आफ्नो तुलनात्मक फाइदा हुने क्षेत्रको पहिचान गरी स्वदेशमै रोजगारी दिन सके देशको आर्थिक एवम् सामाजिक विकासमा टेवा पुग्ने थियो । तर नेपालमा रेमिट्यान्सलाई विदेशी विनिमय रिजर्भ र आयको स्रोत, साथै प्रयोज्य आय बढ्ने भएर यसलाई प्रोत्साहन गरिँदैछ । वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्न बोर्ड नै खडा गरेर सरकार नै लागिपरेको छ । साथै पढाइ र रोजगारका लागि बिदेसिएका कुशल तथा दक्ष जनशक्तिलाई नेपाल फर्किएर काम गर्ने वातावरण पनि नेपालमा सिर्जना गर्नमा ध्यान गएको छैन । चीन, भारत, सिंगापुरलगायतका देशहरूले बिदेसिएका दक्ष जनशक्तिलाई देशमै फर्किने वातावरण बनाउन विभिन्न नीति तथा कार्यक्रमहरू ल्याएका छन्, तर नेपालजस्तो जनसांख्यिकीय लाभांशको अवसर भएको, दुई ठूला अर्थतन्त्र बीच रहेको र विश्व भूमण्डलीकरण र टेक्नोलोजिकल क्रान्तिको फाइदा लिन सकिने समयमा वैदेशिक रोजगार प्रवद्र्धन गरेर छोटो अवधिको फाइदाका निम्ति लामो अवधिमा अझै पछाडि धकेलिनेमा दुईमत छैन ।

क्षेत्रगत प्राथमिकता पहिचानको कमी
विश्वको इतिहास हेर्दा कृषि क्रान्ति, औद्योगिक क्रान्ति हुँदै प्रविधिको क्रान्तितर्फ सभ्यताको विकास भयो । तर, नेपालमा एकैचोटि प्रविधि क्रान्तिको प्रवेश भएको मान्न सकिन्छ । भनिन्छ, नेपाल कृषिप्रधान देश हो, तर कृषिमा आधुनिकीकरण र नवीनता भने कम नै भयो । अहिलेको विश्व भूमण्डलीकरणको अवस्थामा अधिशेष कृषिको उत्पादन नगरी आर्थिक वृद्धि र समुन्नतिमा टेवा पुग्दैन । अझै पनि हामी निर्वाह खेतीमा छौं । गएको १० वर्षमा कृषिजन्य वस्तुको आयात ६ गुणाले बढेको र गत चार महिनामा साढे ४ अर्बको चामल आयात भएको तथ्यांकले देखाउँछ । जम्मा रोजगारीको कृषिमा संग्लनताको प्रतिशत भने अरू देशको भन्दा बढी नै छ । नेपाल कृषिप्रधान देश भने तापनि खेतबारीमा मलको प्रयोग भने अरू देशको तुलनामा न्यून छ । साथै, नेपालमा मल उत्पादन गर्न सक्ने भए तापनि कहिले भारत र कहिले बंगलादेशसँग निर्भर हुनुपर्ने हाम्रो दुर्भाग्य त छँदैछ । यसले हाम्रो कृषि क्षेत्रमा भएको नवीनता, अनुसन्धान र लगानीको कमी देखाउँछ । नेपालमा बाटो, बन्दरगाह, भण्डारणलगायतका अरू आवश्यक गुणवत्ता पूर्वाधारको कमीका कारणले पनि कृषि क्षेत्र प्रभाभित भएकोले लामो अवधिसम्म आर्थिक प्रतिफल दिने यस्ता पूर्वाधारहरूमा पनि सबै क्षेत्रबाट लगानी बढाउनुपर्ने देखिन्छ ।
नेपालमा अरू देशको तुलनामा वस्तु र सेवाको आयात बढी र केही वर्षयता क्रमिक रूपमा बढ्दो रहेको देखिन्छ । साथै नेपालीहरूले कुल गार्हस्थ्य उत्पादनको लगभग ८० प्रतिशत जति त परिवारिक उपभोगमा खर्च गर्ने देखिन्छ, जुन अरू देशहरूको तुलनामा निकै बढी हो । यसले नेपालमा उत्पादक क्षेत्रमा लगानी गर्न प्राथमिकता कम भएको वा वित्तीय व्यवस्थापनको कमी भएको वा लगानी गर्ने वातावरण नभएको वा उत्पादक क्षेत्रमा लगानीको जोखिम बढी देखेर लगानी नभएको पनि बुझ्न सकिन्छ ।
आजको विश्वमा नेपालले आफ्नो प्राथमिकताको क्षेत्र र लगानी गर्ने तरिकामा धेरै नै परिमार्जित हुन जरुरी छ । एकीकृत प्रणाली र प्रविधिको प्रवद्र्धनसँगै कृषिमा लगानी गर्ने हो भने थोरै मानव संसाधन र लगानीबाट पनि धेरै नाफा हुनुका साथै अर्थतन्त्रमा पनि योगदान पुग्न सक्ला । साथै सूचना प्रविधिको क्षेत्रमा स्कुलदेखि नै दक्ष बनाई यस क्षेत्रमा पनि विश्वबजारमा समावेश हुन सक्ने अवसर छ । तुलनात्मक र प्रतिस्पर्धी फाइदाको पहिचान गरी त्यहीअनुरूप नीति निर्माण र लगानी बढाए नेपालको समृद्धितर्फ लाग्न सकिन्छ ।

सुशासनको कमी
जनताको शासन हुने लोकतन्त्रमा समेत नेपाल राज्यको वैधताको हिसाबले अरू देशभन्दा निकै पछाडि देखिन्छ । सुशासन, सरकारको प्रभावकारिता, भ्रष्टाचार, नियामक गुण आदिमा पनि नेपाल चीन, भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, बंगलादेशलगायतका देशहरूको तुलनामा कमजोर देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनअनुसार नेपालमा ८४ प्रतिशत मानिसहरूले भ्रष्टाचारलाई एक प्रमुख मुद्दाका रूपमा लिएको उल्लेख गरिएको छ । भनिन्छ, देश विकासका लागि निष्ठा, पारदर्शिता, भ्रष्टाचारविरुद्धको लडाइँ मौलिक संस्कृतिका रूपमा विकास हुनुपर्छ । सायद यो हाम्रो प्रजातान्त्रिक संस्कृतिका रूपमा अझै विकास नभइसकेकाले पनि यस्तो स्थिति भएको हुन सक्छ ।
नेपालमा व्यावसायिक वातावरण सुधार गर्न सरकार तथा निजी क्षेत्रले संयुक्त रूपमा नीतिहरू ल्याउन प्रयत्न गर्नुपर्ने देखिन्छ । साथै लगानीमैत्री वातावरण बनाउन केही नीतिहरूमा पुनर्विचार गर्न जरुरी देखिन्छ । सही ठाउँमा लगानी गरेर जनसांख्यिकीय लाभांशको भरपुर फाइदा लिन सकेमा आर्थिक र सामाजिक विकासमा नयाँ फड्को मार्न सकिन्छ । त्यसका साथसाथै हरेक नेपाली जनताले कुनै पूर्वाग्रह नराखी निष्ठा, पारदर्शिता, भ्रष्टाचारविरुद्धको लडाइँलाई मौलिक संस्कृतिका रूपमा विकास गर्न सक्नुपर्छ । सबै क्षेत्रबाट सही नीति तथा कार्यक्रम ल्याएन भने ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामा मात्र सीमित हुने र नेपाल अरू देशको तुलनामा अझै पछाडि धकेलिनेमा दुईमत छैन ।
(कोइराला आर्किटेक्चर सहरी योजनाकार हुन् र शर्मा सिभिल तथा जिओटेक्निकल इन्जिनियर हुन् ।)

प्रतिक्रिया दिनुहोस्