सेयर बजार परिसूचकमा सुधारको खाँचो
बजारमा फैलिएका हल्ला, भ्रम तथा बजारु खेलाडीबाट बजारलाई जोगाउन नियामक निकायले समग्र बजारको नै समीक्षा गर्नुपर्ने बेला आएको छ ।
गत केही सातादेखि लगातार बढिरहेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । हुन त बजार धेरै दौडेको हुनाले थकाइ मारेको अर्थमा पनि यसलाई विश्लेषण गर्ने गरिन्छ । बजार अनन्तकालसम्म उकालो लागिरहन सक्दैन, किनकि सेयर बजारको चरित्र नै अर्थतन्त्र विस्तार हुँदा त्यसैअनुरूप उकालो लाग्ने र अर्थतन्त्र खुम्चँदा ओरालो लाग्ने हो । अर्थात् आर्थिक वृद्धिसँग सेयर बजारको सकारात्मक सम्बन्ध हुन्छ ।
नेपालको सेयर बजारले पनि यो सर्वमान्य सिद्धान्तलाई अंगीकार गरी आर्थिक वृद्धि बढेको वर्ष बढेको र घटेका वर्ष घटेको देखिन्छ । तर, चालू आर्थिक वर्षमा भने अर्थतन्त्रको विस्तार नहुने प्रक्षेपणका बीच पनि सेयर बजार निरन्तर उकालो लाग्यो । धितोपत्र बोर्डले गरेका केही सुधार, सस्तो ब्याजदर तथा लगानीका क्षेत्र खुम्चिएका कारण बैंकसँग प्रशस्तै लगानीयोग्य पुँजी हुनुजस्ता कारण तथा बजारप्रति नरम अर्थमन्त्रीको आगमनले बजारमा उत्साह थपेको नकार्न सकिन्न । तर, अर्थतन्त्रको ऐना मानिने सेयर बजार मात्र बढ्ने अर्थतन्त्र भने खुम्चने हुँदा कतै नेपाली बजार सैद्धान्तिक धरातलबाट विचलित त हुँदै छैन भन्ने आशंका उब्जन्छ । त्यसैले अग्रपंक्तिको नियमनकर्ता अर्थात् नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र बजारको मूल नियमनकर्ता नेपाल धितोपत्र बोर्ड बढी चनाखो हुन आवश्यक छ । बजारमा फैलिएका हल्ला, भ्रम तथा बजारु खेलाडीबाट बजारलाई जोगाउन नियामक निकायले समग्र बजारको नै समीक्षा गर्नुपर्ने बेला आएको छ । नेपाली सेयर बजारमा अधिकांश हिस्सा बैंकिङ क्षेत्रले समेटेको छ । कुनै बेला उत्पादनशील क्षेत्रको प्रभुत्व रहेको बजारमा हाल बैंक तथा वित्त क्षेत्रको हालीमुहाली छ ।
त्यसपछि संख्यात्मक रूपमा जलविद्युत् कम्पनीहरू देखिन्छन् । तर बजार बढ्न तथा घट्नमा भने अन्य उपसमूहमा रहेको नेपाल दूरसञ्चार कम्पनीको प्रयोग भइरहेको देखिन्छ । यसबाहेक हालै कारोबार सुरु भएको नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि बजार घटाउन वा बढाउन प्रयोग भइरहेको दखिन्छ । यसबाट नेपालको सेयर बजार वास्तविक होइन भन्ने मुढे तर्क गर्नेलाई बल पुगेको देखिन्छ ।
त्यसैले नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले अब बृहत् गृहकार्य गरेर सेयर बजार परिसूचक नेप्से इन्डेक्समा परिवर्तन गर्ने बेला भयो । धितोपत्र बोर्डले यसअघि पनि नयाँ इन्डेक्सको ट्रेडिङ गर्ने मोडालिटी बनाउने कुरा नगरेको होइन, तर नयाँ इन्डेक्सको ट्रेडिङभन्दा पनि हाल रहेको इन्डेक्सलाई नै परिमार्जन गर्न अत्यावश्यक देखिएको छ । यस्तै, बजार पुँजीकरणको गणनाविधिलाई पनि सुधार गर्न आवश्यक छ ।
किनकि लगानीकर्ताहरूको लगानी निर्णय मात्र होइन, सेयर बजारको आकार र अर्थतन्त्रसँगको सम्बन्धसमेत परिभाषित हुने बजार पुँजीकरणको तथ्यांक शुद्ध र यथार्थ हुनु अति जरुरी छ । गलत तथ्यांकका आधारमा गरिने लगानी वा नीतिगत निर्णयहरूको परिणाम गलत नै हुनेछ । साथै, सरकारी ऋणपत्रको बजारलाई विकास गर्ने, सुशासन र रिपोर्टिङ सिस्टमलाई बलियो बनाउने तथा बजारमा संस्थागत सुशासन कायम गरी प्रतिस्पर्धा हुने किसिमले कारोबार हुने वातावरण बनाउनुपर्ने दायित्व पनि देखिएको छ ।
ऐन र नियम–कानुनको सुधारका कुरा पनि बाँकी नै छन् । बजारलाई सुधार गर्दै जाने हो भने नेपालजस्तो सीमित आय भएका बहुसंख्यक नागरिक रहेको देशमा छरिएको पुँजी संकलन गरी कसरी लाभको बाँडफाँड गर्न सकिन्छ भन्ने उदाहरण चिलिमे जलविद्युत् आयोजना हो । स्थानीयका लागि आम्दानीको स्रोत तथा पुँजी निर्माणबाट चिलिमेले फेरि अन्य आयोजना बनाउन लागिरहेको छ ।
त्यसैले पुँजीबजारको विकास तथा विस्तारले स्थानीय आयमा पनि वृद्धि हुने र स्थानीयको प्राकृतिक स्रोतप्रतिको हक पनि स्थापित हुने हालै स्थानीयलाई सेयर जारी गर्न लागेको चन्द्रागिरिको उदाहरणले पनि देखाउँछ । यसका साथै नेपालको पुँजीबजार विकास गर्न, बजारको क्षमता अभिवृद्धि गर्न, अनलाइन प्रणालीलाई सक्षम बनाउन, ब्रोकरहरूलाई लगानी सल्लाहकारका रूपमा विकसित गर्न पनि नियामक निकायको ध्यान जानु अवश्यक छ ।