लक्ष्यभन्दा १२३ % राजस्व संकलन «

लक्ष्यभन्दा १२३ % राजस्व संकलन

धनगढी-आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय २३ प्रतिशत राजस्व संकलन गरेको छ ।
राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०७७-०७८ को साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको हो । पहिलो चौमासिकमा एक अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा सो अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७६-०७७ को प्रथम चौमासिकमा एक अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकोमा एक अर्ब ५८ करोड राजस्व संकलन गरेको थियो । जुन कुल लक्ष्यको ९८ प्रतिशत थियो ।
आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी प्रतिशत राजस्व स्वास्थ्य सेवाबाट संकलन गरेको जनाएको छ । कार्यालयलाई स्वास्थ्य सेवा क्षेत्रबाट एक करोड ६१ लाख ४६ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा तीन करोड ५० लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा पाँच लाख ४७ करोड ९८ हजार घरबहाल कर असुल गर्ने लक्ष्य लिएकोमा दुई लाख ४७ करोड १९ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यको ४५ प्रतिशतमा मात्र रहेको छ ।
त्यस्तै, कार्यालयले ३६ करोड ४१ लाख ३८ हजार आयकर संकलन गर्ने लक्ष्य लिएकोमा ४५ करोड २६ लाख ८३ हजार संकलन गरेको छ भने ब्याज असुलिमा एक करोड २८ लाख छ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक करोड ३७ लाख ७० हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले ३५ करोड ८२ लाख ९८ हजार मूल्य अभिवृद्धि कर संकलन गर्ने लक्ष्य लिएकोमा ४८ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको छ । कार्यालयले ५९ करोड ६० लाख चार हजार अन्त शुल्क असुल गर्ने लक्ष्य लिएकोमा ७२ करोड ६६ लाख ७६ हजार राजस्व संकलन गरेको जनाइएको छ ।
कार्यालयले २८ लाख ११ हजार शिक्षा सेवा शुल्क असुल गर्ने लक्ष्य लिएकोमा २७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षका लागि चार अर्ब ५० करोड कुल राजस्व संकलनको लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले बताए । उनले यहि रुपमा राजस्व संकलन भएमा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने बताए ।
आन्तरिक राजस्व संकलनसँगै करको दायरामा आउने व्यवसाय र व्यक्तिहरु पनि बढेको जनाइएको छ । देवकोटाले आन्तरिक राजस्व कार्यालयमा व्यावसायिक स्थायी लेखा विवरण प्रथम चौमासिकमा पाँच हजार आठ सय लक्ष्य रहेकोमा हालसम्म छ हजार छ सय ८८ जनाले दर्ता गरेको बताए । व्यक्तिगत प्यान प्रथम चौमासिकमा छ हजार लक्ष्य रहेकोमा चार हजार एक सय २० जनाले दर्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्