सक्षम व्यक्तिलाई निर्वाचित गर्नुपर्छ «

सक्षम व्यक्तिलाई निर्वाचित गर्नुपर्छ

महासंघ महासंग्राम

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दिप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । सात प्रदेशका लागि एक एक वटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । महासंघको प्रदेश एक कमिटीका उपाध्यक्षसमेत हुन् । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्षसमेत हुन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिका लागि आगामी साता हुने निर्वाचनको वातावरण विस्तारै तात्दै गएको छ । यसैक्रममा कारोबारकर्मीहरूले जिल्ला–नगर, वस्तुगततर्फ र एसोसिएटतर्फ उम्मेदवारी दिएका उम्मेदवारसँग गरिएको कुराकानीको सार :

प्रदेशमा विदेशी लगानी भित्र्याउन पहल गर्नेछु
राजकुमार न्यौपाने
केन्द्रीय सदस्यका उम्मेदवार (जिल्ला–नगर)

प्रदेशको संरचनालाई स्थापित र व्यवस्थित गर्नु मेरो पहिलो एजेन्डा हो । प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो र व्यवस्थित बनाउन सचिवालय र कार्यालयहरू स्थापना गर्नुमा मेरो मुख्य ध्यान हुनेछ ।
प्रदेश उद्योग वाणिज्य संघको भवन निर्माण गर्दै प्रदेशको राजधानी हेटौंडामा नै सचिवालय स्थापना गर्नलाई समन्वयकारी भूमिका निर्वाह पनि गर्नेछु । उद्योग–व्यवसायमा पछिल्लो समय देखिएको विषम परिस्थितिको अन्त्य गर्दै औद्योगिक वातावरण सहज बनाउनका लागि पनि मैले महासंघमा उम्मेदवारी दिएको हुँ । प्रदेशको राजधानी हेटौंडा नै भएको र म पनि राजधानीनिवासी नै भएका कारण प्रदेशभित्रका सम्पूर्ण समस्यालाई समाधान गर्न क्रियाशील हुन सक्छु । साथसाथै यसअघि मैले उद्योग वाणिज्य संघ, मकवानपुरको नेतृत्व गरिरहँदा मैले उद्योगी–व्यवसायीको हकहितका लागि गरेको कामका आधारमा पनि मलाई सबैले मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छ । जिल्लाका समस्याहरू मैले केन्द्रीय तहमा पु-याई समाधान गर्न भूमिका पनि खेलेको छु ।
मैले चुनाव जितिसकेपछि वाग्मती प्रदेशमा लगानी भित्र्याउनका लागि मेरो विशेष पहल हुनेछ । हेटौंडा र सिन्धुलीमा सरकारले बनाउन लागेको औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउन पनि मैले विशेष पहल गर्नेछु, जसले गर्दा मुलुककै आर्थिक समृद्धिमा टेवा पुग्नेछ । उद्योगी र श्रमिकबीच देखिएका समस्या नीतिगत रूपमै समाधान गर्न पनि मेरो ध्यान जानेछ । महासंघलाई आर्थिक सुशासनसहित विधि र प्रक्रियामा हिँड्नका लागि आफ्नो तर्फबाट भूमिका खेल्नेछु । मैले जिल्लाको नेतृत्व गर्दा जिल्ला नगरको हकहितको काम र केन्द्रले हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गरेको कुरा सबै उद्योगी–व्यवसायीले अनुभव गरेका छन् । त्यो भूमिकाका कारण पनि मलाई सबैले विश्वास गर्नेछन् । विशेषगरी जिल्लाको नेतृत्वमा हुँदा महिला उद्यमीहरूलाई उत्पादनमूलक क्षेत्रमा लाग्नका लागि प्रेरित गर्ने जुन कामको सुरुवात गरेको थिएँ, त्यसलाई अब पनि निरन्तरता दिनेछु ।
प्रस्तुति : केशव समर्पण

निर्यात व्यापार सुधारमा मेरो विशेष पहल रहनेछ
हरिबहादुर कार्की
केन्द्रीय सदस्यका उम्मेदवार (वस्तुगततर्फ)

नेपाल उद्योग वाणिज्य महासंघमा आयातकर्ताको हावी छ । सरकारले निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने भने पनि सोही अनुसारको नीतिगत व्यवस्था हुन सकेको छैन । महासंघ निजी क्षेत्रको ठूलो संस्था भएकाले लबिङमा जोड दिनुपर्ने देखिन्छ । उद्योग–व्यवसाय कोभिडका कारण बन्द भएका छन् भने रोजगारीका अवसरहरू पनि गुमेको अवस्था छ । यस्तो अवस्थामा निर्यात बढाउन प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनु जरुरी छ । देशमा दिनप्रतिदिन व्यापारघाटा बढ्दो छ यसलाई घटाउने एकमात्रै उपाय भनेको निर्यात बढाउनु नै हो । निर्यात बढाउने कार्यक्रमतर्फ सरकारको ध्यान जान सकेको छैन । महासंघमा दुई कार्यकाल मैले कमिटीमा बसेर काम गरिसकेकाले अब कार्यकारणी सदस्यमा रूपमा जाँदा थप काम गर्न सक्छु भन्ने लाग्छ । निर्यात बढाउनका लागि नै मेरो मुख्य पहल रहनेछ भने यसमा सुधारका कदमहरू के हुन सक्छन् भन्नेमा विशेष ध्यान जानेछ । ‘निर्यात व्यापारको सुधार अर्थतन्त्रको मूल आधार’ भन्ने मेरो नारा रहेको छ ।
मैले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलबाट वस्तुगततर्फबाट सदस्यका लागि उम्मेदवारी दिएको छु । नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको नेतृत्वदायी संस्था हो । भोलिका दिनमा संस्थाको छविलाई अझ बलियो र उचो बनाउन धेरै काम गर्नुपर्नेछ । व्यावसायिक जगत्ले कहिले के कहिले के समस्या भोग्नुपरेको छ । कतिपय अवस्थामा हाम्रो लबिङ कमजोर हुँदा हामीले समस्या भोग्नुपरेको छ । सरकारले जति निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हो त्यति दिएको छैन । अब आउने नेतृत्व र समग्र महासंघले यस विषयमा सोच्नु जरुरी छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था, तर प्राथमिकता त्यो लेबलको नहुँदा कतै छायामा राख्न खोजिएको त होइन भन्ने पनि भान हुने गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा सबै व्यवसाय, सबै समूह समावेश भएको हुन्छ भने सबै जिल्लामा सञ्जाल विस्तार भइसकेको छ । महासंघ निजी क्षेत्रमा सबैभन्दा बलियो र ठूलो संस्था हो । यसलाई अझ बलियो बनाउन आगामी नेतृत्व र टिम सक्षम हुनुपर्छ ।

जिल्ला नगरको हैसियत देखाउने खालका कार्यक्रम ल्याउनेछौं
सुरकृष्ण वैद्य
केन्द्रीय सदस्यका उम्मेदवार (जिल्ला–नगर)

म विगत दुई दशकदेखि यो क्षेत्रमा संलग्न छु । काभ्रेमा विभिन्न पद हुँदै दुई कार्यकाल अध्यक्ष र यसअघि खुलाबाट नेपाल उद्योग वाणिज्य संघमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको हुँ । आगामी निर्वाचनमा पनि महासंघको केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अगाडि आएको छु । म ज्ञानकुन्ज शैक्षिक प्रतिष्ठानको अध्यक्ष, बच्छला एग्रिगेड, सुगम इन्टरप्राइजेज र रिलायन्सको बोर्ड डाइरेक्टरका रूपमा रहेको छु । जिल्लाको अध्यक्ष हुँदा होस् या केन्द्रमा हुँदा होस्, व्यावसायिक हकहितका लागि जहिले पनि लागिपरेको छु ।
अहिले हामी आमव्यवसायीहरूको चिन्तामा छौं । म आफू व्यवसायी भएको हुनाले विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ लाई परास्त गर्नु हामी सबैको दायित्व हो । यसमा हामी सबैले यसले पारेको तहसनहसलाई साइजमा ल्याउन आवश्यक पनि छ । त्यसका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै दायित्व पूरा गर्ने प्रण गर्छु ।
वस्तुगत र जिल्ला नगर बलियो भएका कारण चुनाव जित्नेमा ढुक्क छु । जिल्ला नगरको समस्या भनेको जिल्ला नगरमा आम्दानीको स्रोत छैन । विगत तीन–चार वर्षदेखि केही कार्यक्रम पनि भइरहेका छैनन् र जिल्ला नगरमा केही कार्यक्रम पनि दिन सकेको छैन । निर्वाचित भएपछि एउटा फन्ड संकलन गरेर जिल्ला नगरलाई परिचालन गर्न नेपाल सरकार र दातृ निकायसँग समन्वय गर्नेछौं । गत वर्षहरूमा जस्तै ओबीओपी कार्यक्रमहरू गर्नेछौं । महासंघमा आएको पैसा महासंघमा सबै नराखी जिल्ला तथा नगरमा पठाउनेछौं । विशेषगरी आगामी कार्यकालमा जिल्ला नगरको हैसियत देखाउने खालका कार्यक्रम ल्याउनेछौं । विशेषतः जिल्ला र नगरलाई महासंघसँग जोडिने वातावरण बनाउने लक्ष्य छ । जिल्ला नगरबाट आउनुभएकाहरू उपाध्यक्षसम्म बन्ने गरेका छन् । वस्तुगत, जिल्ला नगर तथा एसोसिएटबाट आउने सबै साथीहरू एउटै रेन्जको आउने हुनाले अबको एक–दुई कार्यकालपछि यिनै साथीहरूले नेतृत्व गर्छन् । जिल्ला नगरबाट आउने केही साथीहरू टाढाको भएकाले केही गाह्रो पर्छ । काठमाडौं वरपरका साथीहरू अलि बढी अगाडि हुनुहुन्छ । हिजोको जस्तो पैसाको चलखेल अब हुँदैन । किनकि नबुझ्ने कोही छैनन् । सबै अध्यक्ष बुझ्ने भएकाले सजिलो छ । पहिला पैसाको धेरै नै चलखेल हुन्थ्यो । पैसालाई भन्दा एजेन्डालाई स्थापित गर्दै आइरहेका छौं । जिल्ला तथा नगरका अध्यक्ष पनि लोभीपापी छैनन्, जो पैसाका लागि मरिहत्ते गर्ने । सबै भोटरहरूले बुझि पनि सक्नुभएको छ कि पैसाको भरमा हैन, सक्षम र एजेन्डामा भोट हाल्ने भन्ने कुरा । त्यसो भएको हुनाले मलगायत सिंगो टिमले निर्वाचन जित्नेमा ढुक्क छौं ।
यो पटक धेरै साथीहरूले उम्मेदवारहरूका बारेमा बुझिसक्नु भएको छ । उहाँहरूले एजेन्डा र सक्षम व्यक्तिहरूलाई चुन्नुहुनेछ, त्यसमा म विश्वस्त छु । एजेन्डा र सक्षम व्यक्ति चुन्न जिल्ला तथा नगरका अध्यक्ष लाग्नुभयो भने भोलिका दिनमा जिल्ला तथा नगरका साथीहरू पनि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न सक्नुहुनेछ । विभिन्न मिसन लिएर म चुनावी मैदानमा होमिएको छु । मलगायत हाम्रो टिमलाई मतदान गरेर अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।
प्रस्तुति : कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्