Logo

इन्धन चोरी गर्न ट्यांकरमा फल्स चेम्बर


इन्धन चोरी गर्ने उद्देश्यले ट्यांकरमा फल्स चेम्बर जडान गर्ने सञ्चालकलाई जनही १५ लाख रुपैयाँ जरिवाना गरिएको छ भने उनीहरूको ट्यांकर सञ्चालनमा समेत रोक लगाइएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)को बरौनी रिफाइनरीबाट आयात गरिएको २०-२० हजार लिटर क्षमताको पेट्रोल बोकेर आएका दुई ट्यांकर धानकोट डिपोमा चेकचाँज गर्दा ठगी गर्नका लागि फल्स चेम्बर जडान गरेको फेला परेपछि नेपाल आयल निगमले ति ट्यांकर सञ्चालनमा रोक लगाई १५ लाख रुपैयाँ जरिवाना लगाएको हो ।
इन्धन ठगी गर्ने ट्यांकर सञ्चालकलाई थप कारबाहीका लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्रचार गरेको निगमले जानकारी दिएकोे छ । सो चेम्बरभित्र बाहिरबाट हेर्दा सजिलै पत्ता लगाउन नसकिने खालको वेल्डिङ गरी बनाइएको निगम कर्मचारीले सुराकीको सूचनाको आधारमा फेला पारेका थिए । वीर बेताल आर्शिवाद कम्पनी प्रालिका सञ्चालकले इन्धन ठगी गर्नका लागि ट्यांकरमा रहेको मापदण्डविपरीत थप अर्काे फल्स चेम्बर जडान गरेको फेला परेपछि सञ्चालकलाई कारबाहीका लागि निगमले पत्राचार गरेको हो ।
प्रज्वल राज भट्ट, दिपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकारका नाममा रहेका ना ७ ख ३६९६ र ना ७ ख २९९५ टयांकरलाई निगम कर्मचारीले चेकचाँज गर्ने क्रममा बुधबार फल्स चेम्बर राखेको पत्ता लगाएका थिए । निगम प्रवक्ता वीनितमणि उपाध्यायले उनीहरूमाथि थप कारबाहीका लागि गुणस्तर तथा नापतौल विभागमा पत्राचार गरिएको जानकारी दिए ।
यसअघि ठगी गर्ने ट्यांकर सञ्चालकलाई पनि निगमले कालोबजारी ऐनअनुसार कारबाही गर्ने गरेको थियो । इन्धन चोरी नियन्त्रण गर्नका लागि दुई वर्ष अघिदेखि ट्यांकरमा लकिङ प्रणाली जडान गरेपछि चोरी भने रोकिन सकेको छैन । यसअघि तेल ठगी गरेको फेला परेपछि चार जनालाई कालोबजारी ऐन अनुसार कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्