कोभिडपछि बढ्यो जडिबुटीको निर्यात

पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा नेपाली जडिबुटीको निर्यात बढेको छ । नेपाल जडिबुटी उत्पादक संघका अनुसार अघिल्लो वर्ष वैशाखदेखि कात्तिकसम्म करिब ८१ करोड मूल्य बराबरको जडिबुटी निर्यात भएकामो यस वर्षको सोही अवधिमा १ अर्व १३ करोड निर्यात भइसकेको छ । अझै निर्यात बढेर डेढ अर्ब मूल्य बराबरको जडिबुटी निर्यात पुग्ने व्यवसायीहरूको भनाइ छ । संघका अनुसार कोरोना भाइरसका कारण बन्द रहेको अन्तर्राष्ट्रिय विमान उडानमा रोक लगाएपछि वैशाख र जेठमा स्टक रहेको जडिबुटी भदौपछि भने निर्यात भएको थियो । अब संकलन हुने जडिबुटी भने माघ÷फागुनपछि मात्रै निर्यात हुने छ ।
व्यवसायीका अनुसार पछिल्लो समयमा युरोप, चीन, भारतलगायत मुलुकहरूमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको छ । औषधि बनाउनका लागि कच्चा पदार्थको रूपमा जडिबुटी विदेश निकासा भइरहेको जडिबुटीको माग बढे पनि सोहीअनुसार उत्पादन बढ्न सकेको छैन । संघका अध्यक्ष गोविन्द घिमिरेका अनुसार कोभिडपछि झन् सुगन्धित तेलको बढी माग भएको र मागअनुसार निर्यात हुन सकेको छैन । “सुगन्धित तेल ५ हजारदेखि ८० हजारसम्म प्रतिकेजीमा बिक्री हुन्छ । सबैभन्दा बढी जटामसीको तेल ८० हजारसम्ममा बिक्री हुन्छ, सुगन्धित तेल ९ टन उत्पादन भएको थियो, माग बढिरहेको छ, उत्पादन कम छ,” उनले भने, “कोभिडका कारण झनै स्वदेशी जडिबुटीको माग बढेको छ, मागअनुसार उत्पादन बढाउन सके राज्यको अर्थतन्त्र उकास्न धेरै सहयोग पुग्ने छ ।”
कर्णालीस्थित हुम्ला जुम्लाको हिमाली भेगमा जटामसीको उत्पादन बढी हुने गर्छ भने जटामसीको बजार मूल्य बढ्दै गइरहेको छ । घिमिरेका अनुसार लेमन ग्रास, घाँसे बनस्पतिको तेल ५ हजारसम्ममा बिक्री हुने गर्छ । रिट्टा टिमुर, तेजपातजस्ता जडिबुटी कच्चा पदार्थको रूपमा भारतमा बढी जाने गरेको छ । पछिल्लो समय टिमुरको माग तेस्रो मुलुकहरूमा पनि बढिरहेको तथ्यांकले देखाउँछ । “वनले लिजमा जग्गा दिए जडिबुटी खेती गर्न सजिलो हुने थियो, जडिबुटीमा लगाइएको झन्झटलो प्रावधान हटाउन जरुरी छ,” उनले थपे, “अझै निर्यात बढ्न सक्छ, उत्पादन बढाउने सकारले नीति लिनु जरुरी छ ।”
विशेषगरी नेपालको हिमाली क्षेत्रमा बहुमूल्य किसिमको जडिबुटी उत्पादन हुँदै आएको छ । जडिबुटी उत्पादन बढाउन सके राज्यले नै प्रशस्त रूपमा आर्थिक लाभ लिन सकिने जडिबुटी विज्ञहरू बताउँछन् । जडिबुटी व्यवसायीहरूले भने सरकारले नै जडिबुटी प्रवद्र्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न नसकिएको दाबी गरिरहेका छन् ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जडिबुटी खेती बिस्तार गरेर उत्पादन बढाउने सरकाररी नीति रहेको बताए । “पछिल्लो समय जडिबुटीको निर्यात बढिरहेको छ, उत्पादन बढाएर जडिबुटीको निर्यात बढाउने लक्ष्य लिएका छौ,” उनले भने, “जडिबुटी विकास कार्यक्रमअन्तर्गत पकेट क्षेत्र छनोट गर्ने र जडिबुटी खेती प्रवद्र्धन गर्ने काम भइरहेको छ, स्थानीयसँग मिलेर जडिबुटी विकासको कार्यक्रम लागू भएको छ, राम्रो परिणम पनि निस्किरहेको छ । अर्को वर्षको कार्यक्रममा किसानको संलग्न बढाएर जडिबुटी उत्पादन पनि बढाउने लक्ष्य छ ।”
जडिबुटी उत्पादन बढाउन देखिएका चुनौती
झन्झटिलो सरकारी नीतिका कारण चुनौती
जडिबुटी खेती बिस्तार गर्न बिमाको सुविधा नहुनु
जडिबुटी खेतीका लागि बैंकले ऋण नपत्याउनु
अनुदानको व्यवस्था नहुनु
सरकारी निकायहरूबीच समन्वय नहुनु
ऐन बाझिनु