कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

सिन्धुली- कोरोना भाइरस (कोभिड १९) संक्रमतिको शव व्यवस्थापनमा समस्या देखिएको छ । शव व्यवस्थापनका लागि स्थान एकिन नहुँदा समस्या भएको हो ।
विहिबार विहान कोरोना संक्रमित ४८ वर्षिय पुरुषको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोना भाइरसका कारण मृत्यु भएका ती पुरुषको शव व्यवस्थापनमा भने स्थानीयले अवरोध गरेका छन् । संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई स्थानीयले अवरोध गरेका हुन् ।
शव व्यवस्थापनका लागि शव गडौली घाटमा लगेर फिर्ता गरिएको छ । सेनाले गडौली घाटमा खाल्डो खनि शव व्यवस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका हुन् । नेपाली सेनाको शव व्यवस्थापनमा परम्परागत घाटमा लगिएको भए पनि स्थानीयले अवरोध गरेका थिए ।
स्थानीयको अवरोधपछि शव फिर्ता गरि कमलामाई नगरपालिका–५ को ढाक्रेवासमा व्यवस्थापन गरिएको छ । घाटमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन गरिएको भए पनि स्थानीयको चर्को विरोधपछि मृतकको शवलाई फर्काएर ढाक्रेबास खोलामा व्यवस्थापन गरिएको हो । यसअघि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी ८४ वर्षीया महिलाको शव कमलामाई नगरपालिका–७ स्थित बुकाखोलामा व्यवस्थापन गरिएको थियो । बुका खोलामा शव व्यवस्थापन गरिए पनि विरोध आएपछि जिल्लाको शव दाह स्थल गडौलीमा शव व्यवस्थापन गर्न खोजिएको थियो ।
यसअघि गत जेठ महिनामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कमलामाई नगरपालिका ९ भिमानको चुरे जंगलमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
तथापी हालसम्म पनि कहाँ व्यवस्थापन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्यौलता नै रहेको छ । जसका कारण मृतकको शव व्यवस्थापनमा समस्या आएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । शव व्यवस्थापनमा समस्या आएपछि तत्काल सर्बदलिय संयन्त्रको बैठक बसेर दीर्घकालीन रुपमा शव व्यवस्थापनका लागि स्थान तोकिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।