पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तार र व्यापार बिस्तारमा «

पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तार र व्यापार बिस्तारमा


नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा जोड दिएको छ । परिसंघले पाकिस्तानका लागि नेपाली राजदूत भएर कार्यभार सम्हाल्न जान लागेका तपस अधिकारीलाई यस्तो सुझाव दिएको हो ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको बताए । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाई निरन्तरता दिएको उनले बताए ।
दक्षिण एसियाली मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदूतावासहरुको थप सक्रियता आवश्यक रहेको अग्रवालले बताए । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुँदै पनि आपूर्ति प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकाले त्यसमा आवश्यक पहल लिन उनले राजदूत अधिकारीको ध्यानाकर्षण गराए ।
राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको सौहार्दपूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका कमजोरी र अवरोध हटाउने कामलाई प्राथमिकतामा राखेको बताए । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैंची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नुपर्ने उनले बताए । यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ वातावरण बनाउन पहल गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्