आर्थिक संकट पार लगाउन हाम्रो आवश्यकताः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न आफ्नो समूह सबल र सक्षम रहेको बताएका छन् । ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताए । महासंघ निर्वाचनका लागि दसैंअघि नै मनोनयन दर्ता गरेका ढकालले सोमबार आफ्नो समूहका अन्य उम्मेदवारसँगको अन्तक्र्रियामा आफूहरुको समूह निर्वाचित भएमात्र महासंघको गरिमा र शाख कायम रहने धारणा राखे ।
“कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भैसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाईर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ,” ढकालले भने, “त्यसैले हामीले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”
उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् । महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा मात्र महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने उल्लेख गर्दै उनले महासंघको नेतृत्वमा पुग्ने व्यक्ति एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा जोड दिए ।
महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने उनको भनाइ छ । नेतृत्व भनेको संकटको समयको सारथि हो र यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि उनले धारणा राखे । प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उहाँले आफ्नो टिमका सबै उम्मेदवारहरुलाई उनले आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उहाँले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने उनको भनाइ छ ।
“हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला÷नगर देखि नीतिगत तहसम्म पहुँच पु¥याउन सक्छ,” उनले भने । अन्तक्र्रियात्मक भेलामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति रहेको थियो ।