कोभिडले विश्व प्रणाली परिवर्तन गर्छ ? «

कोभिडले विश्व प्रणाली परिवर्तन गर्छ ?

जुन शासन व्यवस्था भएका मुलुकले कोभिडलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्छन्, त्यो शासन व्यवस्था बाँकी मुलुकले पनि अनुसरण गर्ने अनुमान गरिएका छन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहानमा पहिचान भएको कोरोना समूहको नयाँ भाइरस (सार्स कोभ टु) को संक्रमणले हुने कोभिड–१९ रोगका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक र जीवनशैलीमा व्यापक बदलाव आउनेछ भन्ने अनुमानहरू भइरहेका छन् । विश्व प्रणाली र संस्कृतिमा केके परिवर्तन हुन सक्छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
ठूला महामारी, युद्ध, प्राकृतिक प्रकोपजस्ता विपत्तिले भावी विश्व प्रणालीलाई असर त गर्छन् नै, कति र कस्तो असर गर्छ भन्ने कुरा त्यस्ता विपत्तिले गर्ने क्षतिका आधारमा मात्र अनुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्व महामारी घोषणा गरेको छ । तथापि रोग फैलिन सुरु भएको ६ महिना पुग्दासम्म क्षतिको सही अनुमान गर्न सकिने गरी रोगबारे पत्ता नै लागेको छैन ।
एक संक्रमित व्यक्तिबाट उसको संक्रमण अवधिमा औसत कति जनालाई संक्रमण सर्छ भन्ने यकिन छैन । दुई जनादेखि पाँच जनाको बीचमा रहेको कोरा अनुमान छ । संक्रमण कसरी सर्छ भन्ने पनि निश्चित छैन । यदि यसलाई कुनै व्यावहारिक विधिबाट एक जनाभन्दा कममा सीमित गर्न सकियो भने रोगले नियमित जीवनलाई कुनै असर गर्नेछैन ।
कोभिडको मृत्युदर पनि यकिन छैन । चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ५.६ प्रतिशतको मृत्यु भएको छ । त्यहाँ ८३ हजार संक्रमितमा ४ हजार ६ सयको मृत्यु भएको छ । एउटा देशको मात्र तथ्यांकका आधारमा समग्र मृत्युदर मान्दा यथार्थपरक नहुन सक्छ । त्यस्तै, जुनसुकै रोगका कारण मानिसको मृत्यु भए पनि उसलाई कोभिडसमेत छ भने कोभिडको मृत्युमा गणना गर्ने गरिएको छ । कोभिड नभएको भए ती बिरामीको मृत्यु हुन्थ्यो या हुँदैनथ्यो भन्ने थाहा छैन ।

ग्लोबल अर्डर फेरिएला ?
विश्व महाशक्तिको स्पष्ट प्राज्ञिक कुनै परिभाषा छैन । जुन देशको सैनिक शक्ति, आर्थिक शक्ति, सांस्कृतिक प्रभाव र राजनीतिक प्रभाव सबैभन्दा बढी देशमा फैलिएको छ, त्यसैलाई विश्व महाशक्तिका रूपमा बुझ्ने गरिएको छ ।
संस्कृतितर्फ अमेरिकाको भाषा, सिनेमाहरू र जीवनशैलीको प्रभाव विश्वमा छ । अमेरिकी सैनिकको उपस्थिति देशबाहिर ७० वटा मुलुक (टेरेटोरीसमेत) मा छ । अन्य देशका सेनासँग अमेरिकाको संयुक्त सैन्य गठबन्धन रहेको छ । विश्वको पहिलो अर्थतन्त्र अमेरिका हो ।
सन् १९९१ मा सोभियत संघ विभाजित भएपछि विश्व एक धु्रवीय भएको हो । त्यसपछि विश्वको महाशक्ति अमेरिका बनेको हो । विश्वमा पहिलो क्रम (फस्ट अर्डर) मा अमेरिका रहेको मानिन्छ । सन् २००१ बाट चीन अमेरिकाको चुनौतीका रूपमा आइरहेको छ । पछिल्लो २० वर्षमा चीनले तीव्रतर आर्थिक विकास गरिरहेको छ ।
चीनले कोभिडलाई अस्थायी नियन्त्रणमा राखी विभिन्न वस्तुहरूको निर्यात बढाइरहेको छ । अमेरिकामा भने संक्रमण फैलिरहेको छ । तसर्थ यो महामारीपछि अमेरिकाको वर्चस्व खस्केर चीन विश्वको महाशक्ति बन्नेछ भन्ने हलुका अनुमान कतिपयले गरेका छन् । कोभिडले चीनलाई थप केही क्षति पु¥याउँदैन र अमेरिकालाई एकदमै बढी क्षति पु¥याउँछ भन्ने निष्कर्षमा अहिल्यै पुग्न सकिंदैन । कोभिडको समयमा पनि अमेरिकाको गतिभन्दा चीनको गति अघि बढ्नु पुरानै निरन्तरता हो ।
अमेरिकी रक्षा बजेटको तुलनामा चीनको तीन गुणा कम रहेको छ । अमेरिकाको रक्षा बजेट ७ सय ३२ अर्ब डलर छ भने चीनको २ सय ६१ अर्ब डलर छ । अमेरिकाको कुल गार्हस्थ्य उत्पादन २० ट्रिलियन डलर छ भने चीनको १२ ट्रिलियन डलर छ । चीन र अमेरिकाबीच ग्याप (दूरी) धेरै रहेका कारण अमेरिका यथाअवस्था वा केही खस्कँदो अवस्थामा र चीन तीव्र वृद्धिको अवस्थामा रहे पनि चीनले जित्न धेरै वर्ष लाग्ने देखिन्छ ।
चीनले कन्जुमर आइटम, होम एपलाइन्सेस, फेन्सी, बच्चाका खेलौना आदिको व्यापारमा सफलता पाएको छ । उच्च प्रविधियुक्त सामानहरू, हातहतियार, उपकरण, मेसिनजस्ता महŒवपूर्ण सामानको पेटेन्ट राइट र उत्पादनमा अमेरिका धेरै अगाडि छ । औषधि विज्ञानदेखि अन्तरिक्ष विज्ञानसम्म अमेरिकाको रिसर्च र आविष्कार चीनको तुलनामा कैयौं गुणा अगाडि छ । ज्ञानको क्षेत्रमा चीन धेरै पछि छ । चीन विश्व शक्ति हुने होडमा छ र भविष्यमा हुन पनि सक्छ तर कोभिडकै कारण विश्व शक्ति हुने कुनै आधार देखिन्न ।
सरकारहरूको राजस्व खुम्चिने तर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको खर्च बढ्ने हुँदा कतिपय देशहरू ऋणमा डुब्न सक्छन् । युरोपका केही देशमा ऋणले समस्या ल्याउन सक्छ । यदि देशहरू ऋण चुक्ता गर्न नसक्ने वा ऋण चुक्ता गर्न पुनः ऋण लिनुपर्ने (डेप्थ ट्र्याप) मा परे भने साहू मुलुकको अवाञ्छित प्रभावमा पर्न सक्छन् । तर पहिलो नम्बरको देश ५ औं नम्बरमा झर्ने र १० औं नम्बरको ५ मा उक्लने जस्तो गरी मुलुकहरूको दर्जा क्रम भत्कने सम्भावना देखिंदैन ।
चीनमा स्वास्थ्य सेवा सरकारी स्वामित्व भएको तथा नागरिक अधिकार सहजै दमन गर्न सकिने व्यवस्था भएका कारण त्यहाँ कोभिड सहजै नियन्त्रणमा आयो भन्ने कतिपयको बुझाइ छ । स्पेनमा सरकारले निजी अस्पताल राष्ट्रियकरण ग¥यो । यीलगायतका आधारमा सरकारी नियन्त्रण भएकै व्यवस्था उपयुक्त हो भन्ने पुष्टि भएकाले अबको विश्वमा उदारवादी पुँजीवाद अन्त्य हुन्छ भन्ने अनुमान पनि भएका छन् ।
जुन शासन व्यवस्था भएका मुलुकले कोभिडलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्छन्, त्यो शासन व्यवस्था बाँकी मुलुकले पनि अनुसरण गर्ने अनुमान गरिएका छन् । स्वास्थ्य र शिक्षा उदारवादी पुँजीवादी व्यवस्थामा पनि राज्यकै दायित्वभित्र राखिएको छ । यसका लागि शासन प्रणालीमा फेरबदलको आवश्यकता नै छैन । सरकारी अव्यवस्था र कुशासनका कारण स्वास्थ्य सेवा अप्रभावकारी भएको घटनालाई देशमा निजी अस्पताल रहेका कारण स्वास्थ्य सेवा राम्रो भएन भन्ने निष्कर्षमा पुग्नु सही हुँदैन ।
कोभिड र त्यसको व्यवस्थापनका क्रममा हुने गल्ती कमजोरीका कारण बढ्ने गरिबी, बेरोजगारी, अभाव, मानसिक समस्या आदि विविध कारणले सामाजिक स्वरूपमा बदलाव आउन सक्छ । त्यसको कारण देश विशेषको शासन प्रणालीलाई असर पार्न सक्छ । तर धेरै मुलुकले सही व्यवस्थापन गर्ने अनुमान गर्न सकिन्छ । विश्वभर एउटै विधिमात्रै सही हुन्छ भन्न सकिंदैन । चीन, अमेरिका, जापान, दक्षिण कोरिया सबै देशका विधि ठीक हुन सक्छन् ।
यो भाइरसले स्वरूप बदलेन वा बदले पनि नयाँ स्वरूपले खासै क्षति गरेन भने यसले मानिसको जीवनशैलीमा कुनै असर गर्नेछैन । इन्प्mल्युन्जाजस्तै हरेक सिजनमा रूप फेरेर आयो र क्षति पनि बढी नै गर्ने भयो भने विश्वका मानिसको जीवनशैलीमा परिवर्तन आउनेछ । भाइरसको औषधि र खोप (भ्याक्सिन) दुवै कम सम्भावना भएका कुरा हुन् । यदि अन्य भाइरसजस्तै रूप बदल्ने हो भने त्यसको प्रभावकारिता झनै हुने छैन ।
यदि यस्तो अवस्था आउँछ भने अहिलेजस्तो मास्क, सेनिटाइजर, सामाजिक दूरी, साबुन पानी, उच्च सरसफाइ, अनलाइन सेवाको प्रवद्र्धन हाम्रो जीवनशैली बन्नेछ । भीडभाडमै रमाउनुपर्ने पार्टी डान्स, पौडी, पिकनिकजस्ता अनेकै हाम्रा गतिविधिको रूप पनि फेर्नुपर्नेछ । सिनेमा हल र स्कुलहरूको भौतिक संरचना फेरबदल हुनेछ । तथापि अहिले कल्पनामा नआएको कुनै विधि आविष्कार भई भाइरससँग अहिलेभन्दा सहज रूपले जिउन सक्ने पनि हुन सक्छ ।
मानिसहरूले आफूले स्वाभाविक रूपले खानुपर्ने कुराभन्दा फरक कुरा खाने र गर्नुपर्नेभन्दा फरक काम गरेका छन् । मानिसले उपभोग नगरेका स्थानहरूमा प्राकृतिक रुपले पारिस्थितिक प्रणाली (इको सिस्टम) चलिरहेको थियो । त्यहाँ मानिसले जमिनको स्वरूप बदलेर उपभोग गर्ने, एउटा प्रजातिका रूख–बिरुवा नष्ट गरेर अर्को प्रजातिका रोप्ने, जीवजन्तुलाई बाधा पु¥याउने, मार्ने र खाने गरे । यसले गर्दा एक अर्का पारिस्थितिक प्रणालीलाई प्रतिकूल असर पर्न गयो ।
प्रकृतिमाथिको दोहोनका कारण समस्या आउँछ भन्ने मानव सभ्यतालाई पूर्वजानकारी भएकै कुरा हो । यो कार्य बढ्दो जनसंख्यालाई बचाउन र सुविधा दिनकै लागि भएको हो । त्यसैले अब मानिस प्राकृतिक जीवनशैलीमै फर्कने सम्भावना छैन । यो महामारीले थप प्रकृतिमैत्री हुन मानव सभ्यतालाई केही दबाब भने अवश्य पर्नेछ ।
कतिपयले कोभिड विश्व महामारी घोषणा गर्नुपर्ने स्तरको रोग नै होइन भन्ने दाबी पनि गरिरहेका छन् । यसले प्रत्यक्ष रूपमा केकति क्षति गर्छ र यसको व्यवस्थापनको गल्ती–कमजोरीबाट समेत गरी कुल क्षति कति हुन जान्छ भन्ने अहिले एकिन नभएको हुनाले यसले विश्वप्रणाली र मानव जीवनशैलीमा केकस्तो परिवर्तन निम्त्याउँछ भन्ने अनुमान गर्न सकिने बेला अझै भएको छैन ।

प्रतिक्रिया दिनुहोस्