गाउँ छाड्नेवित्तिकै वडाध्यक्षहरूलाई भ्रमण भत्ता «

गाउँ छाड्नेवित्तिकै वडाध्यक्षहरूलाई भ्रमण भत्ता

सन्तोष महतारा

गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रमण भत्ताको नाममा वडाध्यक्षहरूलाई पैसा बाँडिएको पाइएको छ । वडाध्यक्षलाई जानकारी नगराइ तथा वडाध्यक्षहरूको सहमतिबिना उनीहरूको बैंक खातामा गाउँपालिकाले पैसा पठाएको पाइएको हो । एक्कासी बैंक खातामा पैसा जाँदा वडाध्यक्षहरूमा मतभेद देखिएको छ । कुनै वडाका वडाध्यक्ष पैसा पाएकोमा खुसी छन् भने कतिपय वडाध्यक्ष आक्रोशित बनेका छन् ।
छत्रकोट गाउँपालिका वडा नं.४ का वडाध्यक्ष डीलाराम न्यौपानेले वडाध्यक्षलाई गाउँपालिकाले बिनाकारण पैसा बाँडेको बताए । कुन शीर्षकमा कसरी पैसा आयो भन्ने आफूलाई थाहा नै नभएको न्यौपानेको भनाइ छ । “सडकमा काम गर्ने कामदारले तलब पाएका छैनन्, सामान्य अनुदानका लागि कृषक गाउँपालिका पुगे प्रक्रिया पु¥याउन १५ दिन लाग्छ,” वडाध्यक्ष न्यौपानेले भने, “जनताको सेवामा खटिएका जनप्रतिनिधिले यसरी पैसा बाँडेर खानु गलत हो ।”
आफ्नो खातामा पैसा आएपछि गाउँपालिकामा सोधपुछ गर्दा गाउँपालिकाका कर्मचारीले यस विषयमा नबोल्नु भनेको र पैसा फिर्ता गर्न खोज्दा गाउँपालिकाले वास्ता नगरेको न्यौपानेले बताए । गाउँपालिकाले गर्ने आर्थिक अनियमिततामा १६ हजार ५ सयका दरले वडाध्यक्षलाई बाँडेर वडाध्यक्ष किनिएको उनको प्रतिक्रिया छ । वडाध्यक्ष न्यौपाने भ्रमण गएको भनी मिलाइएको कागजमा हस्ताक्षर समेत गरेका छैनन् ।
तर, गाउँपालिकाले आफ्नो खातामा पैसा हालिदिएपछि बाँकी वडाध्यक्ष खुसी भएका छन् । गाउँपालिकाबाट कुनै जानकारी, कुनै सहमति र थाहा नै नदिइ बैंकमा पैसा आए पनि वडाध्यक्षहरूले पैसा स्वीकार गरेका छन् । वडा नं. १ का वडाध्यक्ष धातानन्द भण्डारीले विभिन्न कामले तम्घास पुगेको र जनताले खटाएको ठाउँमा पुग्नुपर्ने भएकोले भ्रमण भत्ता शीर्षकमा आफूले रकम बुझेको बताए । भण्डारीलाई कागजपत्र मिलाएर गाउँपालिकाका लेखा अधिकृतले हस्ताक्षर गराएका थिए ।
वडा नं. २ का वडाध्यक्ष रुकबहादुर राकसकोटीले गाडीको कर तिर्न बुटवल गएको र तम्घास गइरहन पर्ने भन्दै गाउँपालिकाले पैसा दिएको बताए । वडा नं. ३ का वडाध्यक्ष तेजकान्त अर्यालले कोरोनाको समयमा दौडधुप गरेवापत भ्रमण भत्ताको शीर्षकमा आफूले रकम पाएको जानकारी दिए । वडा नं. ५ का वडाध्यक्ष कृष्णप्रसाद पन्तले कहिले जिल्ला प्रशासन, कहिले जिल्ला अदालत, कहिले पाल्पा र कहिले अर्घाखाँची गइरहन पर्ने भएकोले त्यसैको खर्चस्वरूप गाउँपालिकाले बैंकमा पैसा जम्मा गरिदिएको दावी गरेका छन् । वडा नं. ६ का वडाध्यक्ष थम्मनबहादु्र ज्ञवालीले वडाध्यक्ष यताउता गइरहन पर्ने भएकोले भ्रमण भत्ताको नाममा रकम बुझेको बताए ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थका अनुसार आफ्नो गाउँपालिकाभन्दा बाहिर भ्रमणमा गए वडाध्यक्षहरूले दैनिक १ हजार ५ सयका दरले भत्ता पाउने नियमअनुसार गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तबाट स्वीकृत भ्रमण आदेशअनुसार पैसा दिइएको हो । कोरोना भाइरसको कहरका बीच जनताको समस्यामा जागरुकता नदेखाइ वडाध्यक्षहरूलाई पैसा बाँडिनु गलत भएको स्थानीयले बताएका छन् । सबै वडाध्यक्षहरूको खातामा १६ हजारभन्दा बढीका दरले पैसा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्