कोभिडका कारण लघुवित्त सञ्चालनमै चुनौती «

कोभिडका कारण लघुवित्त सञ्चालनमै चुनौती


विपन्न वर्गलाई समूहमा आवद्ध गराइ वित्तीय सेवा प्रदान गर्ने लघुवित्त सञ्चालन मोडलमा कोभिड–१९ का कारण चुनौती थपिएको छ । कोभिडको संक्रमणबाट बच्नका लागि स्वास्थ्य विज्ञहरूले सामूहिक भेटघाट तथा भेला नगर्न सुझाव दिएपछि लघुवित्त संस्थाहरूलाई व्यवसाय सञ्चालनमा अप्ठ्यारो परेको हो ।
नेपालमा अधिकांश लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूको समूह निर्माण गरी उनीहरूको मासिक बैठक गर्ने, बचत संकलन तथा सामूहिक जमानीमा ऋण लगानी गर्ने मोडल प्रयोग गर्दै आएका छन् । तर, कोभिडको महामारी लामो समयसम्म चल्ने देखिएकाले लघुवित्त संस्थाहरूले सञ्चालनमा लागि नयाँ मोडल अपनाउनुपर्ने देखिएको छ ।
लघुवित्त संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउदै आएको सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) का अध्यक्ष डा. रेवत बहादुर कार्की कोभिडका कारण लघुवित्त क्षेत्र धेरै प्रभावित भएको र सञ्चालन मोडल नै परिवर्तन गर्नुपर्ने अवस्था आएको वताउछन् । “लघुवित्त फिल्डमा आधारित, मानिसहरू भेला हुनुपर्ने र बिना धितो लगानी गनुपर्ने कार्यक्रम हो,” उनले भने, “कोभिडका कारण अहिले हामीले सञ्चालन गर्दै आएको मोडल नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।”
कोभिडले लघुवित्त संस्थाहरूमा पारेको प्रभावबारे सीएमएफले गरेको अध्ययन प्रतिवेदनले समेत लघुवित्तको परम्परागत सेवा प्रवाहको मोडल परिवर्तन गर्नुपर्ने औल्याएको छ । प्रतिवेदनमा स्थलगत रुपमा सामूहिक बैठक गर्ने मोडललाई परिवर्तन गरी भर्चुअल रुपमा मिटिङ, गु्रप एजेन्टका साथै ट्याब्लेट र मोबाइल बैंकिङ एसएमएस बैंकिङ जस्ता प्रविधिको प्रयोग गर्न सकिने सुझाव दिएको छ ।
हाल राष्ट्र बैंक बैंकबाट लाइसेन्स लिएर ९० लघुवित्त संस्थाहरू सचालनमा रहेका छन् । गत वर्षसम्म यी संस्थाहरूले करिव ४७ लाख सर्वसाधारणलाई वित्तीय सेवा दिएका छन् । यी संस्थाहरूले साढे १० लाख समूह बनाएर १३ खर्व ५३ अर्व ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
लघुवित्त संस्थाहरूका सेवाग्राहीमध्ये सबैभन्दा बढी व्यापारमा संलग्न छन् । त्यसपछि क्रमशः कृषि, पशुपालन र अन्य क्षेत्रमा सञ्लग्न रहेका पाइएको छ । लघुवित्त संस्थाका ग्राहकहरूमध्ये ५०.७१ प्रतिशत घरपरिवार सदस्यले लघु कर्जा लिएर व्यापार व्यवसायमा लगानी गरेका छन् । यसैगरी लघुवित्तबाट ऋण लिएर २२.१४ प्रतिशतले कृषिमा, १४.२९ प्रतिशतले पशुपालन र ११.४३ प्रतिशतले अन्य पेशामा लगानी गरेका छन् ।
व्यापार पेशामा अंगालेका ग्राहकहरूले ऋण लिएर किराना पसल, कस्मेटिक पसल, होटल व्यवसाय, सिलाईकटाईसम्बन्धी तालिम तथा पसल, ग्रील उद्योग, जुत्ता पसल, ब्युटीपार्लर, पुस्तक पसल, बुटिक, पापड उद्योग, मासु पसल, मोटर ग्यारेज, भाडा पसल, फेन्सी पसलजस्ता प्रकृतिका व्यवसाय सञ्चालन गरेका छन् । यसैगरी, कृषि पेशा अन्तर्गत तरकारी खेती, उखु खेती, धान खेती, मौसमी खेती लगायतमा लगानी भएको छ । पशुपालन पेशाअन्तर्गत बंगुरपालन, बाख्रापालन, भैंसीपालन, गाईपालन लगायतका पेशा अँगालेका छन् । अन्य पेशाअन्तर्गत गाडी सञ्चालन, ढुवानी सेवा, ई–रिक्सा सञ्चालन, खसी तथा कुखुरा बिक्री जस्ता पेशा अंगालेका छन् ।
कोभिडका कारण ग्रामीण क्षेत्रमा कृषि व्यवसाय गर्ने भन्दा पनि सहरमा व्यवसाय गर्नेलाई बढी प्रभाव परेकाले कर्जा भुक्तानीमा असर गरेको छ । सिएमएफको अध्ययनमा कोभिड–१९ को महामारीका कारण लघुवित्तबाट ऋण लिएका ६८ प्रतिशत ऋणी कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । चैत र वैशाखमा परेको प्रभाव अध्ययनमा ग्रामीण क्षेत्रका ६३.८२ प्रतिशत र सहरी क्षेत्रका ६८.६३ प्रतिशत ऋणीलाई कर्जा तिर्न समस्या भएको प्रतिवेदनले औल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्