मर्चेन्ट बैंकले परम्परागत व्यवसाय गरिरहेका छन् «

मर्चेन्ट बैंकले परम्परागत व्यवसाय गरिरहेका छन्

समग्र अर्थतन्त्रमा कोरोनाको असर परेको हुँदा नेपाली सेयर बजारमा समेत यसले असर पारेको छ । नेपाल स्टक एक्सचेन्चमा सूचीकृत अधिकांश बैंक–वित्तीय संस्था, उत्पादनमूलक तथा व्यापारिक संस्था एवं बिमा तथा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय सञ्चालन तथा विस्तारमा प्रभाव पारेको हुँदा त्यसको असर सेयर बजारमा देखिएको हो । यद्यपि त्यो असर पहिले अलिक बढी देखिएको भए तापनि विस्तारै सबै कुरा सञ्चालनमा आउँदै जान थालेको हुँदा सेयर बजारमा यसले अहिलेको समयमा भने खासै नकारात्मक असर पारेको देखिएको छैन । यसका साथै कोरोनाले केही सकारात्मक प्रभावसमेत नेपाली सेयर बजारमा पारेको छ । जस्तैः अनलाइन कारोबार प्रणाली, अनलाइनबाटै भुक्तानीजस्ता अन्य कार्य पनि अनलाइनका माध्यमबाट हुन थालेका छन् ।
यता मर्चेन्ट बैंकिङको क्षेत्रमा सेयर बजारमा आउने उतारचढावले केही असर त गरेकै छ । तर, त्योभन्दा पनि कार्य सञ्चालनका हिसाबले अन्य असरहरू बढी छन् । सीमित कर्मचारीलाई अफिसमा बोलाई कार्यालय सञ्चालन गर्दै अधिकांशलाई वर्क फ्रम होमका साथै सेवाग्राहीहरूलाई समेत अनलाइनको माध्यमबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने भएकाले व्यवसाय विस्तारमा केही असहजता छ । यसैक्रममा मर्चेन्ट बैंकका समस्या तथा कार्यसञ्चालनका बारेमा कारोबारले एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसंग गरेको कुराकानीको सारः

रमेन्द्र रायमाझी
प्रमुख कार्यकारी अधिकृत
एनआईसी एसिया क्यापिटल

विश्वव्यापी महामारी कोरोनाको असर नेपाली सेयर बजारमा कत्तिको परेको छ ? बजारको उतारचढावका कारण मर्चेन्ट बैंकमा पनि यसको असर परेको होला ? कस्तो असर देख्नुहुन्छ ?
कोरोनाको सुरुवाती चरणमा धितोपत्रको दोस्रो बजारमा केही असर देखिए तापनि विगत लामो समयदेखि नेप्से परिसूचक तल्लो बिन्दुमै रहेकाले लगानीकर्ताहरूले आकलन गरेजस्तो प्रभाव सेयर बजारमा परेको देखिएन । नेप्सेमा सूचीकृत राम्रा मानिएका अधिकांश कम्पनीको सेयर मूल्य महामारी सुरु हुनुभन्दा पहिला नै न्यूनतम मूल्यमा कारोबार भइरहेका थिए । लगानीका अन्य क्षेत्रमा कोरोना महामारीका कारणले प्रत्यक्ष असर गर्दा अन्य क्षेत्रका लगानीकर्ताहरू समेत सेयर बजारप्रति आकर्षित हुँदा बजारमा चहलपहलसमेत बढेको देखिन्छ । सस्तोमा सेयर खरिद गर्ने लगानीकर्ताहरूमाझ होडबाजी चल्दा सूचीकृत कम्पनीहरूको सेयर मूल्यसँगै नेप्से परिसूचकसमेत यही अवधिमा बढ्दो क्रममा देखिएको छ ।
सेयर बजारमा चहलपहल आउनुको प्रमुख कारण भनेको बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता हुँदा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहनु तथा ऋणको ब्याजदरसमेत एकल अंकमा आउँदा लगानीकर्ताहरूले सहज रूपमा सस्तो ब्याजदरमा सेयर कर्जा उपभोग गर्न पाइरहेका छन् । बजारमा पर्याप्त मात्रामा लगानीयोग्य रकम हुनु, बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ब्याजदरमा सेयर कर्जा उपलब्ध गराउनु, महामारीका कारणले गर्दा लगानीका अन्य क्षेत्रमा संकुचन आउनु तथा अनलाइन कारोबार प्रणालीको प्रभावकारितासँगै नयाँ लगानीकर्ताहरू बजार प्रवेश गर्ने क्रम बढ्दै जानु, बजारमा संस्थागत लगानीकर्ताहरूले समेत सेयर खरिद बढाउँदै जानु, निकट भविष्यमा स्टक डिलर कम्पनी बजार प्रवेशको तयारीमा रहनु तथा सूचीकृत कम्पनीहरूले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गरिरहेका जस्ता कारणले सेयर बजारमा कोरोना महामारीको प्रभाव खासै परेको देखिँदैन ।
तर महामारीले हाम्रो दैनिक क्रियाकलापहरूमा भने प्रभाव पारेको छ । हामीले पूर्णरूपमा हाम्रा व्यवसायहरू सञ्चालन गर्न सकिरहेका छैनौं । हाम्रा केही कर्मचारीहरू कोरोनाबाट संक्रमित भएका छन् र उहाँहरूलाई आइसोलेसनमा राखी उपचार गरिरहेका छौं । ग्राहक महानुभाव तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हामीले ५० प्रतिशत क्षमतामा मात्रै कार्यालय सञ्चालन गरिरहेका छौं । साथै, ग्राहकहरू प्रत्यक्ष उपस्थित भई प्रदान गरिने सेवाहरू अनलाइनमार्फत लिनका लागि प्रोत्साहित गरिरहेका छौं र सहज रूपमा अनलाइनमार्फत सेवा प्रदान गरिरहेका छौं । तर, कोरोना महामारीकै बीच पनि निक्षेप सदस्यअन्तर्गतको व्यवसायमा भने गुणात्मक वृद्धि भइरहेको छ । अघिल्लो आवभरिमा गरेको व्यवसाय यस आवको पहिलो तीन महिनामै गर्न सफल भएका छौं । यही अवधिमा प्राथमिक सेयर निष्कासन गरेका कम्पनीहरूको सेयर खरिदका लागि अचाक्ली मात्रामा आवेदन परेको देखिन्छ । त्यस्तै लगानी व्यवस्थापनको व्यवसायसमेत विस्तार भइरहेको छ भने बजारमा सञ्चालित अधिकांश सामूहिक लगानी कोष योजनाहरूको पर्पmर्मेन्स राम्रो रहेको देखिन्छ, जसको रिजल्ट योजनाहरूले प्रकाशित गर्ने एनएभीबाट समेत अनुमान लगाउन सकिन्छ । यस महामारीको सकारात्मक प्रभाव भनेको मर्चेन्ट बैंकिङ व्यवसायमा समेत डिजिटाइजेसन युगको सुरुवात भएको छ र यसले हामीलाई दुई–तीन वर्षले थप आधुनिक बनाएको छ ।
तसर्थ, समग्रमा अहिलेको अवस्थामा सेयर बजार तथा क्यापिटलको व्यवसायमा कोरोना महामारीको प्रभाव त्यति परेको देखिन्न, तर आगामी दिनमा यो महामारीले कस्तो रूप लिन्छ, त्यसको केही न केही प्रभाव सेयर बजारमा पर्न सक्छ ।

मर्चेन्ट बैंकहरू भनेको बैंकभन्दा पनि ठूलो महŒवको संस्था हो, तर नेपालमा मर्चेन्ट बैंकहरूलाई बैंकका सहायक कम्पनीका रूपमा ल्याइयो । धेरैले मर्चेन्ट बैंकहरूको अस्तित्व नै स्वीकार्दैनन् । एड्भाइजरी सेवा दिने, एसेस्ट म्यानेजमेन्ट गरिदिने वा बैंकलाई मनि सप्लाई गर्ने जस्ता मुख्य काम त धेरैले गरेको देखिन्न । नेपालमा मर्चेन्ट बैंकको भविष्य छ त ?
देशको अर्थव्यवस्था र यसको आर्थिक वृद्धिका लागि मर्चेन्ट बैंकहरूको महŒवपूर्ण भूमिका रहेको हुन्छ । मुख्य रूपमा इन्भेस्टमेन्ट बैंकहरूले कम्पनी सञ्चालन गर्नका लागि आवश्यक पर्ने रकमलाई डेब्ट तथा इक्विटीका रूपमा बजारमार्फत कम्पनीहरूलाई पुँजी जुटाइदिने काम गर्ने गर्छन् । यसका साथै एसेस्ट्स म्यानेजमेन्ट कम्पनीहरूका तर्फबाट ठूलो रकम व्यवस्थापन गरिदिने जुन फन्डको आकार बैंकको आकारभन्दा ठूलो हुने गर्छ ।
नेपाली सन्दर्भमा मर्चेन्ट बैंकरहरूले परम्परागत व्यवसाय गरिरहेका छन् । जस्तै पार मूल्यमा सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको सेवा, सेयर रजिस्ट्रार सेवा, निक्षेप सदस्यअन्तर्गतका सेवा, लगानी व्यवस्थापन सेवा, बन्दमुखी सामूहिक लगानी कोष योजना तथा धितोपत्रको प्रत्याभूति गर्ने सेवाहरू सञ्चालन गरिरहेको छन् भने बिस्तारै संस्थागत परामर्श सेवा तथा खुलामुखी सामूहिक लगानी कोष योजनाहरूको सुरुवात गरिरहेका छन । अन्तर्राष्ट्रिय बजारमा यी सेवाहरूलाई परिष्कृत अर्थात् पुनः डिजाइन गरिएको पाइन्छ । यदि हामीले पनि बजारमा हाम्रो उपस्थिति महसुस गराउन चाहन्छौं भने हामीले हाम्रा ग्राहकहरूलाई मर्चेन्ट बैंकरको महŒवका बारेमा सचेत गराउनु आजको आवश्यकता भइसकेको छ । हामीले आधुनिक बजारको मागअनुसारको नयाँ प्रोडक्ट डिजाइन गरी बजारमा नयाँ ढंगबाट प्रस्तुत हुनुपर्ने देखिन्छ ।
हो, म यस तथ्यसँग सहमत छु । मर्चेन्ट बैंकरले अझै बजारमा आफ्नो उपस्थिति महसुस गराउन सकेका छैनन् । हाल सञ्चालित अधिकांश मर्चेन्ट बैंकहरूलाई बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनी अर्थात् प्यारेन्ट कम्पनीहरूको एक भागका रूपमा मान्यता पाएका छौं । तर वास्तवमा हामी कानुनी रूपमा छुट्टै कम्पनी हो । मलाई विश्वास छ कि समय परिवर्तन हुँदैछ, मर्चेन्ट बैंकरहरूको कार्यक्षेत्र विस्तार हुँदैछ । हामीले संस्थागत परामर्श सेवा सुरु गरिसकेका छौं । धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष, कमोडिटी र डेरिभेटिभ बजार सञ्चालनका सम्बन्धमा अध्ययन गरिरहेका कुराहरू आइरहेका छन् ।
नेपालमा मर्चेन्ट बैंकको भविष्य निकै राम्रो देखिन्छ । किनभने अबको मर्चेन्ट बैंकरको अधुनिक युगको सुरुवात भएको मन्न सकिन्छ । लगानी व्यवस्थापन सेवा तथा संस्थागत परामर्श सेवाअन्तर्गत मर्चेन्ट बैंकरहरूले असीमित सेवाहरू प्रदान गर्न सक्छन् । साथै, धितोपत्र बोर्डले समेत मर्चेन्ट बैंकरहरूको कार्यक्षेत्र विस्तार गर्ने सम्बन्धमा सकरात्मक रहेकाले मर्चेन्ट बैंकको भविष्य निकैै उज्ज्वल रहेको देखिन्छ । भविष्यमा मर्चेन्ट बैंकहरूले आधुनिक प्रोडक्टहरू जस्तै एसेस्ट्स सेक्युरिटाइजेसन, कभर्ड वारेन्ट, फरवार्ड, फ्युचर, अप्सन, सर्ट सेलिङ तथा अन्य इनोभेटिभ वित्तीय औजारहरू डिजाइन गरी मार्केटमा साना लगानीकर्ता मात्र नभई बैंक तथा वित्तीय संस्थाहरू पनि ठूलो मात्रामा लाभदायी बनाउन सक्छन् ।

बेलाबेलामा नियामक निकाय (धितोपत्र बोर्ड) का बारेमा पनि विवाद आइरहन्छ । नियामक निकायले मर्चेन्ट बैंकहरूलाई कत्तिको स्वतन्त्रता दिएको छ ?
विगत पाँच वर्षमा हामी धितोपत्र बोर्डबाट सेयर कारोबार तथा प्राथमिक सेयरको निष्कासनका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाका साक्षी भएका छौं । धितोपत्रको कारोबारमा कागजी युगको अन्त्य, सार्वजनिक रूपमा निष्कासन भएको सेयरमा आवेदन गर्नका लागि आस्बा तथा सी आस्बा प्रणाली लागू हुनु, सेयर कारोबार गर्दा लाग्ने शुल्क कटौती हुनु, खुलामुखी योजना सञ्चालन गर्न अनुमति दिनु, संस्थागत परामर्श सेवा तथा सार्वजनिक सेयर निष्कासनमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याउनु जस्ता उल्लेखनीय सुधारहरू भएको देख्न चाहेका छौं । यसका साथै चाँडै नै मर्चेन्ट बैंकरहरूको कार्यक्षेत्र विस्तार हुने अपेक्षा गरिरहेका छौं । मेरो विचारमा बोर्डले मर्चेन्ट बैंकहरूलाई नयाँ प्रोडक्ट डिजाइन गर्न स्वतन्त्रता प्रदान गर्ने हो भने हामीहरूले बजारमा समयसापेक्ष नवीन योजनाहरू सञ्चालनमा ल्याउन सहज हुने देखिन्छ ।

विश्वव्यापी महामारी कोरोनाका कारण नेपालमा परेको असर कम गर्न राष्ट्र बैंकले केही प्याकेज ल्याएजस्तै यो कठिन समयमा धितोपत्र बोर्डले पनि सेयर बजार विस्तार गर्न केही गरिदिए हुन्थ्यो भन्ने छ ?
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको असर सम्पूर्ण क्षेत्रमा परेको देखिन्छ । सोही सम्बन्धमा नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्था र तिनका ग्राहकहरूमा परेको प्रभाव कम गर्नका लागि विभिन्न राहत प्याकेज घोषण गरेको छ ।
अन्य क्षेत्रका कम्पनीहरू धितोपत्रको दोस्रो बजारमा आउन प्रोत्साहन गर्न धितोपत्र बोर्डले सार्वजनिक सेयर निष्कासनमा बुक बिल्डिङ विधि लागू गरे तापनि निष्कासन गर्नुपर्ने सेयरको सूचीकरण लागत बढी भएकाले सानो पुँजीका कम्पनीहरूका लागि सेयर निष्कासन खर्च तुलनात्मक बढी पर्छ । बोर्ड, सीडीएस तथा नेप्सेलाई भुक्तानी गर्नुपर्ने सूचीकरण तथा वार्षिक नवीकरण शुल्कमा छुट दिएको खण्डमा अन्य क्षेत्रका कम्पनीहरूसमेत सर्वसाधारणमा सेयर जारी गर्न प्रोत्सहित हुन सक्छन्, जसले गर्दा धितोपत्रको दोस्रो बजार विस्तार हुने देखिन्छ ।
धितोपत्रको दोस्रो बजार विस्तार गर्नका लागि बजारलाई प्रविधिमैत्री बनाउँदै क्यापिटल गेनको गणना होल्डिङ पिरेडका आधारमा गर्ने विधि यही समयमा कार्यान्वयन गरेको अवस्थामा बजार विस्तार गर्न महŒवपूर्ण भूमिका खेल्ने अनुमान गर्न सकिन्छ ।
हाल सीमित कर्मचारीहरूबाट दैनिक कामकाज सञ्चालन गरिरहेकाले मर्चेन्ट बैंकहरूमा ग्राहकहरूको भीडभाड भइरहेको अवस्थामा उक्त भीडभाड कम गर्न डिजिटल हस्ताक्षरको मान्यता, डिजिटल प्लेज प्रणालीको आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्