भारत उडान कात्तिकबाट गर्ने तयारी «

भारत उडान कात्तिकबाट गर्ने तयारी


साढे ६ महिनादेखि बन्द रहेको भारत उडान पुनः सुचारु गर्न सरकार तयारीमा जुटेको छ । कात्तिक १ बाट नेपाल–भारत उडान सुरु गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
भारतसहित अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि बन्द थियो । तर, अन्य मुलुकको उडान यसअघि नै पुनः सञ्चालनमा आए पनि भारतका लागि भने सुचारु हुन सकेको थिएन । भारतमा उडान सुचारु गर्न नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शुक्रबार पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेरै आग्रह गरेका थिए । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशवीचको हवाई शीघ्र सुचारु गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
मन्त्रालय स्रोतका अनुसार नेपाल भारत दुवै पक्ष आगामी कात्तिक १ गतेदेखि उडान पुनः सुरु गर्न सकारात्मक भएका छन् । तर, यसको औपचारिक निर्णय हुन भने बाँकी छ । उडान मितिमा दुवै पक्ष सहमत भए पनि औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को औपचारिक निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले परराष्ट्र मन्त्रालयको समन्वयमा पठाउको प्रस्तावका आधारमा दुवै देश सहमत भएपछि उडान अघि बढ्ने छ ।
शुक्रबारको भेटमा नेपाल र भारतका विभिन्न सहरहरूवीचको उडान चाँडै सुचारु गर्ने जोड दिइएको थियो । मन्त्री भट्टराईसँग भेटमा नेपालका लागि भारतीय राजदूत क्वात्राले पर्यटन तथा हवाई रुट, संस्कृतिका बारेमा समेत छलफल गरेका थिए ।
मन्त्री भट्टराईले भैरहवा नाकावाट उडान प्रवेश गर्नुका साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि करिब २ वर्ष अगाडि भएको प्राविधिक सहमतिलाई औपचारिक कार्यान्वयमा जानुपर्ने प्रस्ताव राखेका थिए । नेपालले यसअघि हवाई रुटको सम्बन्धमा गरेको पत्राचारलाई छिट्टै निष्कर्षमा पु-याउन मन्त्री भट्टराईले राजदूत क्वात्रासँग आग्रह गरेका थिए । भैरहवाबाट बाहिरिने उडानलाई मात्र भारतले अनुमति प्रदान गरेपनि भारतबाट नेपाल प्रवेश गर्ने बाह्य उडान (हवाई रुट अनुमति) लाई अनुमति दिएको छैन । भेटमा राजदूतले भारतीय पक्ष सकारात्मक रुपमा यस विषयमा अगाडि बढेको र प्राविधिक पक्षको अध्ययन भइरहेको जानकारी दिए ।
भेटमा संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको बताएका थिए । मन्त्री भट्टराईले पशुपतिको मुख्य (कोर) क्षेत्रमा नेपालले नै काम गर्ने र सोभन्दा बाह्य क्षेत्रमा भारतले अन्य पूर्वाधारको काम अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्