पोखरामा डेंगु भेटियो

पोखरामा डेंगु संक्रमण देखिएको छ । पोखरामा एक महिनामा २८ जनामा डेंगु संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त पौडेलले बताए । पोखरा–८ शिवालय चोकका तारा लामा र विशाल लामाले काठमाडौंको टेकु हस्पिटलमा उपचारको क्रममा उनीहरूमा डेंगु रोग संक्रमण भेटिएको हो ।
असोज महिनाको पहिलो सातादेखि पोखरामा डेंगु संक्रमण केहीमा देखिए पनि दसैंलगत्तै धेरै संख्यामा संक्रमण देखिएपछि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सचेतना अभियान सुरु गरेको छ ।
पोखरामा एक महिनामा २८ जनामा डेंगु संक्रमण देखिएपछि उक्त रोगबाट महानगरवासीलाई बचाउन महानगरपालिकाले वडाहरूमा सचेतना अभियान सुरु गरेको निर्देशक पौडेलले बताए । हाल पोखरामा भेटिएको डेंगु संक्रमण अति घातक रोग भने नभएको तर पूर्व सावधानी अपनाउनुपर्ने र सतर्क हुनुपर्ने उनको जोड छ ।
उनले भने, “हामीले पोखरा महानगरपालिका वडा नम्बर ८ मा पहिलो पटक सचेतना जगाउँदै पानीका भाँडा खोजतलास गरी पानी नष्ट गर्ने काम ग-यौं, अब हामी पोखरा महानगरपालिकाका अन्य वडाहरूमा सचेतना जगाउने अभियामना लाग्छौं ।”
गण्डकी मेडिकल कलेजका मेडिसिन विभागका प्रमुख डा. तीर्थलाल उपाध्यायले हालसम्म आफ्नो कलेजमा यस वर्ष १० जना डेंगुका बिरामी भेटिएको बताए । उनका अनुसार हालसम्म भेटिएका डेंगुका बिरामी सामान्य उपचारपछि अधिकांश घर फर्किएका छन् । डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यानसमेत जान सक्ने उनले बताए । पोखराको नागढुंगा क्षेत्रमा बढी यसको संक्रमण देखिएको छ । पोखरामा दुई वर्षअघि पनि डेंगु संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा डेंगुका बिरामी भेटिएसँगै प्रदेश सरकारले समेत चासो दिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले पोखरामा डेंगु संक्रमण भेटिएसँगै प्रदेश सरकारले यस रोगको रोकथामको लागि पोखरा क्षेत्रमा सचेतना अभियानमा महानगरपालिकासँग सहकार्य गर्ने बताए ।