जाडोसँगै बाथ रोगको पीडा

जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको असर देखिन थाल्छ । त्यसमध्येको एउटा हो– शरीरका जोर्नी दुख्ने अर्थात् बाथ रोग । नेपालमा १० लाखभन्दा बढी बाथ रोगी भएको अनुमान सम्बद्ध चिकित्सकहरु गर्छन् । तर, उपचारका लागि भने थोरै बिरामीमात्र अस्पताल जाने गरेका छन् । बाथ रोगका प्रकारअनुसार यसको जोखिम फरक–फरक भए पनि पीडितहरू उपचार गर्न अस्पताल जाने गरेको पाइँदैन ।
बाथलाई सामान्य रोग ठानेर उपचारमा लापरबाही गर्दा रोगीको आयु असमान्य रुपमा घट्ने चिकित्सकले बताएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलका डा. अरुणकुमार गुप्ता नेपालमा बाथको रोगको दिर्घकालिन असरका बारेमा आम मानिसलाई सचेत गराउनुपर्ने बताउँछन् । नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनसँगै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढीभन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएकोमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
सबै उमेर समूहका मानिसहरू जीवनको कुनै न कुनै समयमा बाथरोगबाट ग्रसित हुँदै आएको चिकित्सक बताउँछन् । पुरुषको दाँजोमा महिलाहरू अझ बढी यस रोगको शिकार हुने गरेको तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ ।
धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही पेशागत कारणले जोर्नीहरूमा चोट हुँदा यो रोग देखा पर्छ । बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । नेपालमा यो रोगको प्रभाव बढ्दै जान थालेपछि बाथरोग दिवस पनि मनाइँदै आएको छ । दिवसका क्रममा बाथरोगको चुनौती तथा बोझबारे राष्ट्रका नीति–निर्माताहरूलाई घच्घच्याउने, बाथरोग उपचारका लागि बाथरोगीहरू र तिनका आफन्तहरूलाई उपचारका नवीनतम प्रविधिबारे जानकारीसमेत गराउने गरिएको छ ।
चिकित्सकका अनुसार बाथरोग र अस्थिपञ्जरसम्बन्धी रोगहरू झण्डै २ सयभन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतयाः रोग लागेको भाग वा अंग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने आदि लक्षण हुने गरेको चिकित्सकको भनाइ छ । केही अवस्थामा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन् । बाथरोगले शरीरका भित्री अंगहरूलाई समेत असर पार्ने गर्दछ । बाथरोग भन्ने शब्दले सामान्यतयाः सबैखाले मांशपेशी तथा अस्थिपञ्जर दुख्ने समस्यालाई समेत जनाउने गर्दछ । हड्डी नै कुँजो हुने बाथ (आरए), हड्डीको घनत्व घटी भएर हुने बाथ (ओए), मेरुदण्ड कुप्रो हुने बाथ (एएस) लगायतका सबैखाले बाथरोग वा मांशपेशी–अस्थीपञ्जर सम्बन्धी रोगले पुरुष, महिला, बालबालिका र वृद्धवृद्धा सबै उमेर समूहका रोगीहरूलाई आक्रान्त पार्ने गरे पनि महिलाहरूमा सो समस्या अत्यन्तै बढी मात्रामा पाइने गरेको चिकित्सक बताउँछन् ।
बाथरोग पुरुषभन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि र ४० वर्ष काटेपछि बाथरोग लाग्ने सम्भावना बढी हुन्छ । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरू हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । तीमध्ये केही प्रतिशत बाथ ब्याक्टेरिया वा भाइरसले पनि हुनेगर्छ ।
बाथ रोग नियन्त्रणका लागि जनचेतना जगाउने उद्देश्यले नेपालमा पनि प्रत्येक वर्ष विश्व बाथरोग दिवस मनाउने गरिन्छ । यो वर्षको बाथ रोग नियन्त्रण दिवसको नारा ‘विलम्ब नगरौं, आजै गरौं सम्पर्क’ रहेको थियो । बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् । बाथ रोग नियन्त्रण दिवसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे आम मानिसलाई जनचेतना जगाउन मद्दत गर्ने चिकित्सकको भनाइ छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ ।
बाथ रोगका प्रकार
समान्यतयाः बाथ रोगले शरीरका जोर्नी र यस वरपरका अंगहरू दुख्ने, सुन्निने र रातो हुने गर्छ । सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये आम बाथ, जोर्नी खिइने बाथ, युरिक एसिडको बाथ, ढाडको बाथ, मुटुजन्य बाथ ज्वरो, नशाको बाथ तथा बालबालिकामा हुने बाथ बढी देखिने गरेको छ । उच्च रक्तचापका कारण बाथ रोग प्रायः चिसो मौसममा देखा पर्ने चिकित्सको भनाई छ । यो रोगको संकेत देखा पर्नासाथ उपचार गराए अपांगता हुनबाट बच्न सकिन्छ । बाथरोगको उपचारका लागि आयुर्वेदिक, फिजियोथरापी, मसाजलगायतका विधिबाट उपचार गर्न सकिन्छ ।
बाथरोग नियन्त्रणका लागि व्यायाम
अनुसन्धानहरूले के प्रमाणित गरेका छन् भने थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थीपञ्जर सम्बन्धी रोगमा राहत पु-याउने मात्रै नभएर बिरामीहरूलाई आफ्नो क्रियाकलापमा सक्रिय रहन मद्दत पु-याउने, स्वतन्त्र रूपमा सामाजिक कार्यमा सरिक गराउन मद्दत गर्ने र हड्डीको घनत्व घटी हुने बाथरोग जस्ता हड्डी एवम् जोर्नीका रोगबाट बच्न समेत सहयोग पु-याउने गर्दछन् ।
बाथरोगका लक्षण
शरीरको कुनै भागको हाडजोर्नी वा घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुइना, हातका औंला, कम्मर दुख्ने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने
खुट्टा झमझम गर्ने, पोल्ने , सिल्को हान्ने
छाती दुख्ने, खकारमा रगत आउने
रोगका कारणहरू
यूरिक एसिड
अव्यवस्थित जीवनशैली
खानपान, रहनसहन
वंशाणुगत