आर्थिक क्षेत्रमा कोभिडको दुश्प्रभाव «

आर्थिक क्षेत्रमा कोभिडको दुश्प्रभाव

आर्थिक वर्ष २०२० मा भएको २.३ प्रतिशत आर्थिक वृद्धि आर्थिक वर्ष २०२१ मा १.५ प्रतिशतमा खुम्चने प्रक्षेपण एडिवीको अध्ययनले देखाएको छ । आव २०२१ मा मूल्य वृद्धि ५.५ प्रतिशतमा रहने अनुमान गरिएको छ । यो महामारीले सरकारको राजश्व संकलनमा कमी आउने तर सार्वजनिक खर्चमा वृद्धि हुने देखाएको छ । परिणामत वित्तीय सोधनान्तर स्थितिमा कमी तथा ऋणमा वृद्धि हुनेछ । आईएमएफको प्रक्षेपण अनसार सार्वजनिक ऋण र कुलगार्हस्थ्य उत्पादनको रेसियो २०१९ को ३०.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४७.८ प्रतिशत पुग्नेछ । हाल विप्रेषणमा सकारात्मक वृद्धि देखिए पनि यसमा समेत भविष्यमा कमी आउन सक्नेछ ।
कोभिड–१९ ले विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रलाई प्रभावित पारेको छ । कोभिडकै बीचमा विकास निर्माणलाई पनि निरन्तरता दिनु आजको आवश्यकता हो । सोही आवश्यकतालाई मध्यनजर गर्दै एडीबीले एसओपीबनाएर आफ्नो लगानीका विकास आयोजनालाई अगाडि बढाएको जनाएको छ ।
साथै, सीबीएसको तथ्यांकअनुसार २०१९—२०२० मा निर्माण क्षेत्रको योगदान ४८८ अर्ब रुपैयाँ थियो । निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा ३ लाख जना महिनावारी तलब लिने छन् । तर, महामारी पछि ५० प्रतिशतले मात्र तलब पाएका छन् । बाँकी १४ लाखमध्ये ९५ प्रतिशतले जतिले रोजगारी गुमाएका छन् । महामारीले आपूर्ती व्यवस्थालाई भत्काएको छ । खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक ८ खर्ब बराबरको विकास निर्माणको काम हुन्छ । निर्माण क्षेत्रले करीब ८ प्रतिशत कुलगार्हस्थ्य उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ । करिब ३० लाख मानिसहरूले निर्माणका आयोजनाहरूमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्