निगमको घाटा २ अर्ब ८ करोड «

निगमको घाटा २ अर्ब ८ करोड

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यमा ७९ करोड रुपैयाँ बढेर आएकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड पुगेको हो ।

नेपाल आयल निगमलाई पछिल्लो डेढ महिनामा दुई अर्ब रुपैयाँ घाटा भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो एक महिनामा निगमको घाटा १ अर्ब २९ करोड रुपैयाँ थियो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यमा ७९ करोड रुपैयाँ बढेर आएकाले निगमको घाटा बढेर २ अर्ब ८ करोड पुगेको हो । निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ घाटा छ । यस्तै पेट्रोल प्रतिलिटरमा ८ रुपैयाँ ५० पैसा र डिजेलमा ९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर निगमलाई परेको हो । इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो एक महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । जसका कारणले पनि निगमको घाटा चुलिँदै गएको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द शाहले लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको बताए । डलरको मूल्य बढेकाले घाटा बढ्दै गएको दाबी उनले गरे ।
लगातार घाटा बढ्दै गएपछि निगमले मूल्य स्थिरीकरण कोषमा रहेको रकममार्फत आईओसीलाई रकम भुक्तानी गरेको छ । “अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले घाटा बढेर २ अर्ब नाघेको छ,” नायव कार्यकारी निर्देशक शाहले भने, “मूल्य स्थिरीकरण कोषमा रहेको रकम झिकेर इन्धन खरिद गर्न थालेका छौं ।” निगम सञ्चालक समितिले कोषको रकम परिचालन गर्नका लागि स्वीकृति दिएको थियो । निगमको कोषमा ३ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । निगमले पेट्रोलियम पदार्थबाट प्रत्येक महिना कोषमा रकम जम्मा गर्दै आएको छ । निगमले इन्धन खरिदवापत आइओसीलाई साउन यता ४८ अर्ब रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।
निगमले तीन महिनामा पेट्रोल १ लाख १२ हजार ८ सय ६ किलोलिटर र २ लाख ६२ हजार ९७ किलोलिटर डिजेल आयात गरेको छ । यस्तै मट्टितेल ५ हजार १ सय ६४ किलोलिटर र हवाई इन्धन ४३ हजार ५ सय ८४ किलोलिटर आयात गरेको छ । सो अवधिमा ८२ हजार २ सय १४ मेट्रिक टन ग्यास आयात भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्