४० मेगावाटको चमेलियामा निर्माण गर्न पाँच अर्ब ऋण लगानी सम्झौता

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
७ अर्ब ४० करोड लगानी रहेको आयोजनाका लागि हिमालय बंैक लिमिटेडको नेतृत्वमा ७० प्रतिशत अर्थात् ५ अर्ब १८ करोड लगानी गर्ने गरी वित्तिय व्यवस्थापन भएको हो । आइतबार अपि कम्पनीका अध्यक्ष गुरु न्यौपाने र सम्बन्धित बैकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनामा हिमालयन बैंक लिमिटेड १ अर्ब २५ करोड, कर्मचारी संचय कोषले एक अर्ब, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल बंगलादेश बैंकले ७५-७५ करोड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६० करोड लगानी गर्ने भएका छन् ।
ऋणबाहेकको ३० प्रतिशत अर्थात् २ अब २२ करोड कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यो आयोजना निर्माणका लागि सेयरधनीबाट स्वपुँजी जुटाउनका लागि २०७५ साल असार मसान्तमा कायम चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाखकोे १ः०.४७ को अनुपातमा ५६ करोड ७० लाखको हकप्रद सेयर जारी गर्नका लागि मिति २०७६ साल फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १९ करोड रहेको छ ।
सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई बहने चमेलिया नदीको पानी उपयोग गरेर निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलियाले अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत्गृह निर्माण गर्न लागेको छ । आगामी कात्तिक १ गतेबाट निर्माण सुरु गरेर साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बलाँच सबस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य राखेको आयोजना आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, आयोजनाको विद्युत् बिक्रिबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आयआर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।
२०६० सालमा स्थापना भएको र २०७० सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको अपि कम्पनीले सुदूरपश्चिमकै दार्चुलामा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७२ सालदेखि नै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिसकेको छ । कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही स्थानमा निर्माण गरेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना पनि एक वर्षअघि नै सम्पन्न भएर ग्रिडमा जोडिसकेको छ । अपि पावर कम्पनी लिमिटेडको यो तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले ग्रिडमा जोडिने सोलारका आयोजना पनि निर्माण गरिरहेको छ ।