Logo

सुरक्षा अपनाएर पाँचखालका विद्यालय सञ्चालनमा

काभ्रे-कोरोना भाइरसका कारण देशभरका विद्यालय बन्द रहेको भए पनि काभ्रेको पाँचखाल नगरपालिकाले विद्यालय खोलेको छ । नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल गरेर सोमबारबाट पठनपाठन सुरु गरेको हो ।
भौतिक दूरी कायम हुने गरि स्वास्थ्य सुरक्षाका सबै खाले उपाय अपनाएर सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख महेश खरेलले बताए । ‘भौतिक दूरी कायम गर्छौं, एक बेञ्चमा एक जना मात्रै राखेर पठन पाठन गर्ने व्यवस्था मिलाएका छौं,’ नगरप्रमुख खरेलले भने, ‘लामो समयदेखि बन्द रहेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने निर्णय गरेका हौं ।’
सोमबारदेखि नगरभित्रका विद्यालयमा पठनपाठन सुरु भएको छ भने केहि विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने तयारीमा छ । विद्यालय सञ्चालन गर्न नगरपालिकाले शिक्षा कार्यविधि बनाएर पठनपाठन गरेको हो । विद्यार्थीमा मानसिक असर नपरोस् भनेर सुरक्षित रुपमा विद्यालय सञ्चालन गरिएको पाँचखाल नगरपालिकाका प्रमुख खरेलले जानकारी दिए । असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन भएपछि नगरपालिकाले विद्यालय सञ्चालन गर्ने योजना बनाएको थियो । नगरपालिकाभित्र कोरोना संक्रमण नियन्त्रणमा आइसकेकाले विद्यालय खोलिएको उनको भनाइ छ ।
खोलिएका विद्यालयले पनि सावधानी अपनाएर पठनपाठन सुरु गरिएको जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले जानकारी दिए । अभिभावकसँग छलफल गरी पठनपाठन सुरु गरिएको तथा एक बेन्चमा एकजना मात्रै विद्यार्थी राखेर अध्ययन गराउन थालिएको ढुंगानाले जानकारी दिए ।
पाँचखालमा ५० विद्यालय छन् जसमा ३९ सार्वजनिक र ११ निजी विद्यालय रहेका छन् । नगर भित्रका १३ मावि विद्यालयहरु सबै खुलेको जानकारी दिँदै नगरका नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले केहि मावि विद्यालयमा प्रावि लेभलका विद्यार्थीहरुलाई विहानीको सत्र र मावि लेभलका विद्यार्थीहरुलाई दिउँसोको सत्रमा पढाइ भइरहेको जानकारी दिए । नगरपालिकाले सबै विद्यालयलाई मास्क वितरण गरेको छ भने प्रत्येक विद्यालयलाई साबुन किन्न प्रशासनिक खर्च पठाइएको छ ।
विद्यालय खुलाउने र कायविधि बनाउने विषयमा केहि दिनअघि पाँचखाल नगरका प्रमुख प्रसाशकीय अधिकृत भण्डारीको अध्यक्षतामा नगरमा रहेका विद्यालयहरुका शिक्षकहरुसँग छलफल भएको थियो । छलफलमा पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले सहजीकरण गरेका थिए । बैठकले असोज ४ गतेबाट सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्