जारको पानीको मूल्यवृद्धिले निम्त्याएको समस्या «

जारको पानीको मूल्यवृद्धिले निम्त्याएको समस्या

मानव जीवनका लागि पानी अपरिहार्य विषय हो । पानीको उचित प्रयोगबाटै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु-याउँछ ।

प्रकृतिले पानीलाई यस्तो अद्भुत गुण दिएको छ कि सीमित अवस्थासम्म, यो स्वयं नै आफ्नो शुद्धता आफैं बनाउन सक्छ । मानव तथा जीवित प्राणीका लागि खानाको करिब ३ भाग बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ, जसले करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १ सय ४० लाख क्युविक मिटर पानीमा जम्मा ४० लाख क्युविक मिटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ ।
नेपालको कुल क्षेत्रफलको २.६ प्रतिशत पानीले ओगटेको छ । यहाँ साना ठूला गरी ८ हजार १ सयभन्दा बढी नदीनाला छन्, जसमा बाह्रैमास बहने नदीनाला ७० प्रतिशत, ७ महिना निरन्तर बग्ने नदीहरू २० प्रतिशत र १० प्रतिशत ४ महिना बग्ने नदीहरू रहेका छन् । नेपालमा २५ देखि ५ सय कि.मि.सम्मका लामा नदीहरू छन् । प्रतिकूल मौसमका कारण हिमनदी र अन्य नदीनालामा समेत असर परी यस वर्ष अहिलेसम्म वर्षा भएको छैन । यसको मुख्य कारण प्राकृतिक सम्पादनको विनाश नै हो भन्नु अत्युक्ति नहोला ।
मानव जीवनका लागि पानी अपरिहार्य विषय हो । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु-याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहन रूपमा आफ्नो सोचविचार पु-याउन नसकी विकासात्मक कार्यहरूमा बाधा व्यवधान उत्पन्न हुन पुग्छ । प्रश्न उठ्छ, गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? यसलाई गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बन्धित ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु पानी हो, जसको अभावमा जीवन कल्पनासमेत गर्न सम्भव छैन । तसर्थ यस्तो अपरिहार्य वस्तुको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जिउन सम्भव छ । गुणस्तरीय जीवनयापनका लागि प्रतिव्यक्ति दैनिक प्रयोजनका लागि औसतमा १ सय २५ लिटर पानीको आवश्यकता पर्छ । यस हिसाबले काठमाडांैमा प्रतिदिन ३० देखि ३६ करोड लिटर पानीको माग रहेको देखिन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको दाबीअनुसार वर्षायाममा १३ करोड र सुक्खा याममा ९ करोड लिटर मात्र दैनिक रूपमा पानी उपलब्ध गराउन सकिरहेको अवस्था देखिन्छ । त्यही पानी पनि कति स्वास्थ्यका लागि पिउन लायक छ भन्ने प्रश्न सधैं अनुत्तर नै छ । त्यसमाथि उपत्यकामा पानीको चुहावट ४० प्रतिशतभन्दा बढी छ । यसबाट के देखिन्छ भने उपभोक्तामा वर्षायाममा ७-८ करोड लिटर मात्र पुग्छ भने हिउँदमा ५-६ करोड लिटर मात्र पुग्छ । यसरी मोटामोटी आकलन गर्दा २५-२६ लाख काठमाडौंवासीको भागमा वर्षा समयमा ७-८ करोड लिटर र सुक्खायाममा ५-६ करोड लिटर मात्र पानी पर्न जान्छ अथवा एक जनाको भागमा २४ देखि ३२ लिटर पानी पर्न जान्छ । यसमा पनि धेरै वर्ष पुरानो भौतिक संरचना, अस्तव्यस्त भागबन्डाको व्यवस्थापन, राजनीतिक हस्तक्षेप, आफ्नो मान्छे आदि कारणले उपत्यकामा पानी वितरण असमान रहँदै आएको छ । यसले गर्दा नेपाल विश्वकै दोस्रो जलस्रोतको धनी देशमा काठमाडौँ महानगरीमा धेरै ठाउँमा हप्तामा १-२ घण्टा धारामा पानी आउँछ भने कति ठाउँमा महिनौंसम्म पनि पानीको तिर्खा मेटाउन धाराबाट नसकेको अवस्था छ । आफैँले माथिको तथ्यबाट काठमाडौं उपत्यकाको नागरिकलाई हिउँदमा करिब २८ करोड लिटर र वर्षामा २६ करोड लिटर पानी नपुग्ने देखिन्छ । माथिको यो समस्यालाई समाधान गर्न मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउनका लागि मेलम्ची खानेपानी आयोजनाको आवश्यकता भएर सुरु गरेको तपाईं–हाम्रो अगाडि प्रस्ट छ । यो अवधिलाई हेर्ने हो भने काठमाडौं उपत्यकाका जनतालाई मेलम्ची खानेपानी त मृगतृष्णा भई खानेपानीको ठूलो समस्या भएको छ । काठमाडौं उपत्यकाका तलका स्थानहरू भूमिगत पानी पुनर्भरणका दृष्टिले महत्वपूर्ण छन् । पुनर्भरणका लागि राम्रा मानिएका स्थानहरू तीव्र सहरीकरण भई पक्की घर, अपार्टमेन्ट, हाउजिङ, सडक विस्तार आदिले गर्दा ती स्थान पुरिँदैछ । काठमाडौंका गोङ्गबु, धापासी, साङलाखोला, नेपालटार, गोलढुङ्गा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, भीमढङ्गा, खड्का भद्रकाली, बूढानीलकण्ठ, चपली, महादेवस्थान, सैबु, सीतापाइला, कीर्तिपुर, थानकोट, तीनथाना, बलम्बु, सतुङ्गल, कटुन्जे, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, नयाँपाटी, साँखु, थली, झोरमहांकाल, इचंगुनारायण, भक्तपुरको बोडे, मनहरा खोला आसपास, सिपाडोल, बालकोट आदि स्थानमा भूमिगत पानीको दोहन गरेको पाइन्छ । तथ्याङ्कअनुसार दूतावास, अस्पताल, अपार्टमेन्ट र आवास, होटल, स्कुल र कलेज, उद्योग तथा ट्याङ्करले गरी २ करोड ४९ लाख २१ हजार लिटर पानी दोहन गरेको पाइन्छ । यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १६ लाख लिटर पानी भूमिगत स्रोतबाट संकलन गरेको दाबी छ । यही परिवेशमा बहुसंख्यक मध्यमवर्गीय व्यक्तिले जारको पानी प्रयोग गर्दै आएका थिए, सोही पानी पनि चलनचल्तीको भाउभन्दा १५–२० रुपैयाँ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले साउत २६ गतेदेखि पानीको मूल्य निर्धारण गरी चलनचल्तीको भन्दा करिब १५–२० रुपैयाँ बढाएको पाइन्छ । यत्रो कोभिड–१९ महामारीले सर्वसाधारण जनता थला परेका बेला एक जार पानीमा करिब १५÷२० रुपैयाँ सरकारका तर्फबाटै मूल्यवृद्धि गरेको घोषण गर्नु भनेको कत्तिको सान्दर्भिक छ ? कोभिड–१९ महामारीका बेला सबैलाई पानीको बढी प्रयोग (छिनछिनमा मनतातो पानी खाइराख्नुपर्ने, साबुनपानीले हात धुनुपर्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने) गर्नुपर्ने बेलामा पानीको भाउ बढेर रोकथाममा नै नकारात्मक असर परेको छ भन्नुमा अयुक्ति नहोला । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सो पानीको गुणस्तरको मापदण्डतिर ध्यान दिनुपर्नेमा मध्यमवर्गीय सोतिर ध्यान नदिई चलनचल्तीको मूल्यभन्दा १५-२० रुपैयाँ नै बढाउनाले जनस्वास्थ्यमा कत्तिको असर परेको छ, जुन सबैले सोच्ने बेला आएको छ । पानीजस्तो अत्यावश्यक वस्तु कोभिड–१९ जस्तो महामारीले नेपाली जनताको आर्थिक स्थिति नाजुक भएका बेलामा सरकारले राहत दिनुपर्ने ठाउँमा सरकारले नै चलन चल्तीको भाउभन्दा १५–२० रुपैयाँ प्रतिजार पानीमा मूल्य निर्धारणको नाममा बढाई जनताको स्वास्थ्यमा नै खेलबाड गरेको छ ।
नेपालमा पानीको समस्या हुनाको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुख्य मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षारोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानका रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु, शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिसन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्ती केन्द्र हुनु, योजनाहरूको छनोटमा जनताको आवश्यक सहभागीको कमी, योजना छनोट प्रक्रिया राजनीतीकरण, दिगो योजनाको निर्माण हुन नसक्नु, सरकारी एवं गैरसरकारी निकायहरूको समन्वयमा कमीले गर्दा नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने सुरुमा हामी गौरव गर्ने विश्वकै दोस्रो जलस्रोतको धनी देश नेपाल, कुनै दिन काठमाडौंवासीले सबैभन्दा सस्तो वस्तुका रूपमा नाम लिनुपर्दा पानीलाई लिइन्थ्यो, तर माथिको कारकतत्वले गर्दा काठमाडौं उपत्यका साथै देशका अन्य प्रमुख सहरहरूमा समेत खानेपानीको हाहाकार छ । सरकार नतमस्तक भई चिरनिद्रामा छ ।
खानेपानी व्यवस्थापन तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । किनभने खानेपानी र गुणस्तरीय जीवनबीचको अन्तरसम्बन्धबारेमा विभिन्न समयमा धेरै अध्ययन–अनुसन्धान नभएका त भन्न नमिल्ला । सम्पूर्ण अध्ययनको निचोडका रूपमा पानी नै जीवनको आधारशिला तथा गुणस्तरीय जीवन बिताउन पानीकै कारणले मात्र सम्भव भएको उल्लेख भएको पाइन्छ । आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतका रूपमा स्वीकार गरिसकेका छन् । किनभने वैज्ञानिकहरूले अनुसन्धानका क्रममा विभिन्न मानव तथा अन्य प्राणीको आवश्यकताका रूपमा नयाँ वस्तुको आविष्कार गर्न सक्षम भए पनि आजको एक्काइसौं शताब्दीसम्म पनि पानीको विकल्पका रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन । पानी नै जीवन हो, किनभने मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ, जबकि हामी बस्ने पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि माथिको बाधक तŒवले खानेपानीमा ठूलो नकारात्मक असर पु-याएको छ । यी कारणले खानेपानी व्यवस्थापना तथा वितरणमा अविलम्ब पुनः संरचनाको आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्छ, राजनीतिक भागबन्डा होइन, वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको कार्यान्वयन गर्नुपर्ने हुन्छ, स्वतन्त्र, पारदर्शी राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता, भ्रष्टाचारमुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्छ । यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नुपर्छ, नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक कारण द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त्य गरी विश्वकै जलस्रोतको दोस्रो उपाधि पाएको नेपालको राजधानीवासी तथा अन्य जिल्लाका महानुभावहरूलाई खानेपानी, विद्युत्, कृषि आदिमा आत्मनिर्भर बनाउन हामी आफैंले जलस्रोतको उचित व्यवस्थापन गरेर स्वच्छ वातावरण सिर्जना गरी निःस्वार्थ रूपमा लागौं । अन्त्यमा, कोभिड–१९ महामारीमा सामाजिक दूरी कायम गरौँ, आवश्यताअनुसार साबुन–पानीले हात धोऔँ, मास्क तथा स्यानिटाइजरको प्रयोग गरौँ, बिनाकाम घरबाहिर ननिक्लौँ र गुणस्तर स्वास्थ्य कायम गरौँ ।

प्रतिक्रिया दिनुहोस्