उत्पादनको गुणस्तर कसरी जोगाउने ? «

उत्पादनको गुणस्तर कसरी जोगाउने ?

उदयपुर-उत्पादनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाउन सुरु गरेपछि यहाँका लघु उद्यमी महिलालाई ठूलो चुनौती थपिएको छ । थोरै परिमाणमा उत्पादन भए पनि आफ्नो उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएपछि गुणस्तर कायम राख्न उनीहरूलाई चुनौती थपिएको हो ।
कोरोना भाइरसको महामारीका कारण यतिबेला निर्यात ठप्प भए पनि महामारी सुरु हुनु अघि कोसेलीका रूपमा यहाँको उत्पादन विभिन्न मुलुक पुगिरहेको थियो । त्यसैले पनि यहाँ उत्पादन हुने वस्तुलाई बजारमा टिकाई राख्न गुणस्तरमा ख्याल गर्नु पर्ने उद्यामी महिला बताउँछन् । सहरी तथा औद्योगिक क्षेत्रमा उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्नको लागि आफूले उत्पादन गरेको वस्तुको गुणस्तरमा ध्यान दिनु पर्ने उद्यमी महिला रामकुमारी तामाङले बताइन् ।
“अन्य वस्तुको तुलनामा ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको गुणस्तर कम हुन्छ भन्ने मान्यता उपभोक्तामा छ,” उनले भनिन्, “त्यसै पनि बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर कायम राख्नु पर्ने चुनौती थपिएको छ ।” जिल्लाको त्रियुगा नगरपालिकालगायत ग्रामीण क्षेत्रमा पर्ने रामपुर ठोक्सिला, तपेश्वरी, बसाहा, सुन्दरपुर, बेल्टार, हडिया, जोगिदह, साउने, बर्रे, डुम्रे, चिलाउने, त्रिवेणी, लेखानी, पञ्चावतीलगायत स्थानका महिलाले लघु उद्यम गर्दै आएका छन् । करीब ५ वर्षयता लघु उद्यम गर्दै आएका महिलाले उद्यमकै माध्यमबाट आफूलाई अन्तर्राष्ट्रिय बजारमा समेत चिनाउन थालेका छन् । उनीहरूले विभिन्न वस्तुको उत्पादन गरेर विभिन्न अन्तर्राष्ट्रिय बजारमा प्रर्वधन गर्दै आएका छन् ।
लघु उद्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाएपछि उत्साहित बनेका महिला उद्यमीले अहिले ठूलो परिमाणमा विभिन्न बस्तुको उत्पादन गर्दै आएका छन् । १ सय ७० रुपैयाँबाट घरमै उत्पादन सुरु गरेको दालमोठ भुजियाले अहिले उद्योगको रूप धारण गरेको उद्यमी शोभा दनुवारले वताइन् । “सुरुमा १ सय ७० रुपैयाँ खर्चेर उत्पादन सुरु गरेकी थिएँ ” उनले भनिन्, “तर, अहिले आएर यो उद्योगको रूपमै विकास भइसक्यो ।”
सुरुमा स्थानीय बजारमा विक्री हुदै आएको दालमोठ भूजिया अहिले लाहान, राजबिराज, जनकपुर, सुनसरी, दिक्तेल लगायतको बजारमा समेत निर्यात हुदै आएको शोभाले बताइन् । उनले भनिन्, “त्यसैले पनि अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि गुणस्तर कायम राख्ने चुनौती छ ।” आफ्नो उत्पादन सुरुको भन्दा कयांै गुणा बढी गुणस्तरीय हुँदै गएको समेत शोभाले दावी गरिन् ।
ग्रामीण क्षेत्रका उद्योगबाट उत्पादन भएको कपडा अन्य बजारमा पाइने भन्दा गुणस्तरीय भएको बर्रेस्थित ढाका कपडा उद्योगकी अन्जु गिरीले बताइन् । “गुणस्तरीय वस्तुले मात्रै बजार पाउने कुरा ग्रामीण क्षेत्रका महिलाले बुझेका छन्,” उनले भनिन्, “त्यसैले ग्रामीण महिलाले उत्पादन गरेको ढाका, राडी, गलैँचालगायत अन्य वस्तुको गुणस्तर अन्यको तुलनामा कम हुँदैन ।” गुणस्तरीय भएकैले गाउँमा उत्पादित राडी, ढाका, गलैचाजस्ता बस्तुले युरोप र अमेरिकामा समेत बजार पाउन थालेको उनको भनाइ छ । यहाँका ग्रामीण महिला उद्यमीले उत्पादन गरेका सल्लाको पातको ढाकी, डालो र उपहारका सामग्री, दुना टपरी , अगरवत्ती , दालमोठ भूजिया, ढाका कपडा , अगरबती बनाउन प्रयोग गरिने सिन्का र रेशम राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्री हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा बताउँछन् ।
“गुणस्तरीय सामग्री उत्पादन गर्न सके विदेश निर्यात गर्न कुनै समस्या हुँदैन,” थापा भन्छन्, “उदयपुरमा उत्पादन भएको ढाका कपडा क्यानडासम्म निर्यात भएको छ ।” तर, पछिल्लो समय पर्याप्त लगानी र कोरोना भाइरसको महामारीका कारण सामग्री उत्पादन र विक्री वितरणमा समस्या पैदा भएको उनले बताए । लघु उद्यमबाट उत्पादित सामग्री बिक्री गर्ने गाईघाटस्थित कोसेली घरका सञ्चालक रुद्र श्रेष्ठका अनुसार अगवत्ती, दुना टपरी र अगवत्ती बनाउने सिन्का मुलुकको विराटनगर, धरान, जनकपुर, वीरगंज, हेटौडा र काठमाण्डौं र भारतको विभिन्न सहरमा बिक्री हुने गरेको छ । ढाका कपडा हङकङ, साउदी अरब, बेलायत लगायतका मुलुकमा कोसेलीका रूपमा पुग्ने गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्