त्रिभुवन विमानस्थलमा चार आयोजना सम्पन्न

कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएक छन् । अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत ३ सय ०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्गस्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको छ ।
यी चारवटै आयोजनाको मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार उद्धाटन गरेका छन् । सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजिकरणको परिणाम स्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताएका छन् । उनले भने, “यो विषम परिस्थितामा आयोजानको कामले गति लिएको छ, विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिने छ ।”
हालैको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने विश्वास मन्त्री भट्टराईको थियो । कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने उनले बताए ।
पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी विश्वास लिएको छ ।
मन्त्री भट्टराईले विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमनतर्फ अत्याधुनिक नयाँ आगमन हलले जो कोही नेपाली ताथ विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उल्लेख गरे ।
विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाँडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ्गस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तारलगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए ।