Logo

बैंकिङ क्षेत्रमा गैरकोषीय व्यवसायको महत्व

देशमा भइरहेको व्यापार तथा निर्माण व्यवसायकोे विस्तारसँगसँगै बैंकहरूमा पनि गैरकोषीय सुविधाको माग दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।

गैरकोषीय व्यवसायको परिचय
गैरकोषीय व्यवसाय भनेको बैंकले ग्राहकहरूलाई प्रदान गर्ने ती कर्जा सुविधाहरू हुन्, जसअन्तर्गत ग्राहकलाई प्रत्यक्ष रूपमा कुनै कोष प्रवाह गरिँदैन र ग्राहकले पनि कुनै नगद प्राप्त गर्दैनन् । बैंकले तेस्रो पक्षलाई प्रतिबद्धता उपलब्ध गराएको हुन्छ र सोही प्रतिबद्धताका आधारमा नै ग्राहक र लाभदायीबीच कारोबार सञ्चालन भएको हुन्छ । प्रत्यक्ष नगद प्रवाहको सट्टा बैंकले कुनै निश्चित कारोबारलाई सहजीकरण गरेको हुन्छ । ग्राहकसँग निश्चित शुल्क तथा कमिसन लिएर बैंकले गैरकोषीय सुविधाहरू प्रदान गर्छ । प्रत्यक्ष रूपमा कोष प्रदान गर्नु नपर्ने हुनाले यसमा कर्जा जोखिम पनि न्यून रहेको हुन्छ । देशमा भइरहेको व्यापार तथा निर्माण व्यवसायकोे विस्तारसँगसँगै बैंकहरूमा पनि गैरकोषीय सुविधाको माग दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।
भविष्यको कुनै पनि समयमा गैरकोषीय कर्जा कोषीय कर्जामा पनि परिणत हुन सक्ने भएकाले तिनीहरूलाई सम्भावित दायित्व (कन्टिन्जेन्ट लायबिलिटी) पनि भनिन्छ । यदि ग्राहकहरूले बेनिफिसियरीप्रतिको आफ्नो दायित्व पूरा गर्न नसकेमा, कार्यसम्पादन तथा भुक्तानी गर्न नसकेमा सो दायित्व बैंकमा स्थानान्तरण हुन्छ र बैंकले फोर्स लोन सिर्जना गरेर भए पनि तेस्रो पक्षलाई भुक्तानी दिनुपर्ने हुन्छ । तसर्थ बैंकको दायित्व प्राथमिक दायित्व नभई पूरक दायित्व हुन्छ । फोर्स लोन सृजना गरेपछि गैरकोषीय कर्जा कोषीय कर्जामा परिणत हुन्छ । गैरकोषीय व्यवसायअन्तर्गत प्रतीतपत्र र बैंक जमानत पर्छन् । प्रतीतपत्रअन्तर्गत एलसी ओपेनिङ, एलसी एडभाइजिङ, एलसी कन्फर्मिङ, एलसी फरवार्ड बुकिङ इत्यादि पर्छन् भने बैंक जमानतअन्तर्गत बिड बोन्ड, परफरमेन्स बोन्ड, एड्भान्स पेमेन्ट बोन्ड इत्यादि पर्छन् । बैंक तथा वित्तीय संस्था ऐन, २०७३ ले गैरकोषीय कारोबारलाई अफ ब्यालेन्स सिट आइटमअन्तर्गत राखेको छ ।

नेपालको बैंकिङ क्षेत्रमा गैरकोषीय व्यवसायको अवस्था
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा भएको तीव्र वृद्धि तथा विकास निर्माण कार्यहरूमा भएको विस्तारले बैंकिङ क्षेत्रमा गैरकोषीय कारोबारको माग दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोभिड– १९ को महामारीले समग्र बैंकिङ क्षेत्रमै नकारात्मक असर पारिरहेको परिप्रेक्ष्यमा प्रतीतपत्र एवम् बैंक जमानत कारोबारमा पनि गिरावट आएको छ । विगत पाँच महिनादेखि भएको पूर्ण एवं आंशिक लकडाउनले राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यापारमा भएको बन्देजले प्रतीतपत्र कारोबारमा प्रतिकूल प्रभाव परेको एवं विकास निर्माणका काम समयमै सुचारु हुन नसक्दा बैंक जमानत कारोबारमा पनि न्यूनता आएको छ । तथापि अन्य बंैकिङ कारोबारहरूको तुलनामा यो माहामारीको अवस्थामा पनि बैंकहरूले गैरकोषीय कारोबार सञ्चालन गरिरहेकै छन् र त्यसबाट मनग्य आम्दानी प्राप्त गरिरहेकै छन् ।
धितो मार्जिन एवं कमिसन तथा अन्य शुल्कहरूमा लचकता र छिटोछरितो ग्राहक सेवाका कारण निजी स्तरका बैंकहरूमा गैरकोषीय कारोबारको माग बढिरहेको देखिन्छ । विगतमा ग्राहक सेवामा देखिएको ढिलासुस्तीपनले गर्दा अझै पनि सरकारी बैंकहरूको गैरकोषीय कारोबारमा असर पु¥याएको देखिन्छ । ग्राहक सेवा प्रवाहमा भएको व्यापक सुधारले गर्दा हाल आएर सरकारी बैंकहरूको गैरकोषीय कारोबारको प्रतिस्पर्धी क्षमता ज्यादै मजबुत बन्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७६-७७ को अपरिस्कृत वित्तीय विवरणअनुसार २७ वटा वाणिज्य बैंकहरूको खुद नाफा ५४.३१ अर्ब रहेकोमा बैंकहरूको खुद शुल्क तथा कमिसन आम्दानी २४.८८ अर्ब रहेको देखिएको छ । खुद नाफामा खुद शुल्क तथा कमिसन आम्दानीको योगदान ४५ प्रतिशत रहेको देखिन्छ । अघिल्लो आ.व.मा यस्तो योगदान ३८ प्रतिशत मात्र रहेको थियो । अघिल्लो आ.व.को तुलनामा गत आ.व.मा बैंकहरूको खुद नाफामा करिब १४ प्रतिशतले कमी आएको एवं खुद शुल्क तथा कमिसन आम्दानीमा भने करिब ८ प्रतिशतले वृद्घि आउँदा खुद नाफामा खुद शुल्क तथा कमिसन आम्दानीको योगदानमा पनि वृद्घि भएको हो ।
त्यसैगरी आर्थिक वर्ष २०७५-७६ कोे वार्षिक प्रतिवेदनलाई आधार मान्दा वाणिज्य बैंकहरूको खुद नाफामा प्रतीतपत्र तथा बैंक जमानतको योगदान औसतमा १० प्रतिशत रहेको देखिन्छ । सो आर्थिक वर्षमा बैंकहरूले प्रतीतपत्र कारोबारबाट रु. १ अर्ब ६१ करोड र बैंक जमानतबाट रु. ४ अर्ब १८ करोड कमाएका थिए । २७ वटा वाणिज्य बैंकहरूको खुद शुल्क तथा कमिसन आम्दानीमा प्रतीतपत्र एवं बैंक जमानत व्यवसायको योगदान औसतमा २४ प्रतिशत रहेको देखिएको छ ।

गैरकोषीय व्यवसायको महत्व
गैरकोषीय व्यवसाय एक बहुआयामिक प्रोडक्ट हो । यसबाट बैंकहरूको कमिसन आम्दानीमा वृद्धिका साथसाथै तरलता उपलब्ध हुने, विदेशी मुद्रा आर्जन हुने, विदेशी विनिमय दरबाट कमिसन प्राप्त हुने एवं कोषीय कर्जाहरू जस्तै टी.आर. लोन, डिमान्ड लोन, टर्म लोनजस्ता कर्जाहरू प्रवाह गरी प्रशस्त ब्याज आम्दानी प्राप्त गर्न सकिन्छ । बैंक र ग्राहकबीच दीर्घकालीन सम्बन्ध स्थापित हुन्छ । कमिसन आम्दानी वृद्धि गरी खुद मुनाफामा यसको योगदान बढाउन मद्दत गर्छ । अन्य पूरक बैंकिङ सेवाहरू प्रदान गर्न सहज हुने, बेनिफिसियरी र बैंकबीच आपसी विश्वास कायम हुने र देशको आयात निर्यात तथा विकास निर्माण कार्यमा सहजीकरण गर्न सकिने जस्ता कारणहरूले गैरकोषीय कारोबारमा बैंकहरूले धेरै जोड दिनु जरुरी देखिन्छ । फन्डेड कर्जा बैंकको तरलतामा भर पर्दछ । प्रत्यक्ष कोष प्रवाह हुने भएकाले यसमा जोखिम उच्च हुन्छ । तर, गैरकोषीय कारोबारहरू प्रायः अल्पकालीन हुने र तरलताको स्थितिले प्रवाह नपार्ने प्रकृतिका हुन्छन् । तरलता सङ्कटबाट गुज्रिरहेका बैंकहरूका लागि गैरकोषीय व्यवसायले ठूलो राहत प्रदान गर्न सक्छ । कोषीय कर्जा अस्थिर प्रवृत्तिको भएका कारण यसमा मात्र भर पर्ने बैंकको दिगो मुनाफाको सम्भावना रहँदैन । तरलता र ब्याजदरको उतारचढावले कोषीय कर्जा प्रवाहमा ठूलो असर पार्ने गर्छ । कोभिड–१९ को विश्वव्यापी प्रकोपले बैंकहरूको कोषीय कर्जा कारोबारमा ठूलो धक्का पु¥याएको छ । कोषीय कर्जाको मागमा भारी गिरावट आएको छ । यस्तो अवस्थामा बैंकहरूको ब्यालेन्स सिटमा देखिने झड्कालाई सन्तुलनमा राख्न सकिने उत्तम विकल्प भनेको गैरकोषीय व्यवसायमा बढोत्तरी ल्याउनु नै हो । तसर्थ बैंकहरूको ध्यान गैरकोषीय कारोबार वृद्धि गरी कमिसन आम्दानीमा वृद्धिमार्फत दिगो मुनाफा हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।

गैरकोषीय व्यवसायका चुनौतीहरू
गैरकोषीय व्यवसाय विस्तार गर्न बैंकहरूका सामु प्रशस्त चुनौतीहरू पनि रहेको देखिन्छ । यो एक प्राविधिक खालको व्यवसाय भएकाले यो कारोबार सञ्चालन गर्न प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति आवश्यक पर्छ । ग्राहकले अत्यन्त छिटोछरितो रूपमा यो सेवा माग गर्ने भएकाले सोअनुसारको प्रवाभकारी ग्राहक सेवा प्रदान गर्न नसक्ने बैंकका लागि यो कारोबारमा ग्राहकको आकर्षण हुँदैन । त्यसैगरी करेसपोन्डेन्ट सम्बन्ध (आरएमए) नभएका बैंकहरूसँग डिल गर्न नसकिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियामक निकायहरूको नीति नियमहरूको गहन अध्ययन आवश्यक पर्ने, ने.रा.बैंकका अस्पष्ट र अपर्याप्त परिपत्र एवं निर्देशनहरू, बैंकहरूबीच धितो मार्जिन एवं कमिसनदरमा अस्वस्थ प्रतिस्पर्धा, ग्राहकको व्यावसायिक क्षमताभन्दा बढी प्रतीतपत्र तथा बैंक जमानत कारोबारको सुविधा प्रदान गर्ने, प्रतीतपत्र र बैंक जमानतमा हुने विभिन्न फ्रडहरू, बैंकको उच्च व्यवस्थापनद्वारा गैरकोषीय व्यवसायमा उचित ध्यान दिन नसक्नु, ग्राहक र बेनिफिसियरीबीचको विवादले बैंकलाई नकारात्मक असर पु¥याउने, एडभाइजिङ, नेगोसिएटिङ र कन्फर्मिङ बैंकहरूका कारण उत्पन्न हुने नकारात्मक असरहरू, कमजोर आन्तरिक र बाह्य लेखा परीक्षण, ने.रा.बैंकको अपर्याप्त नियमन र लेखा परीक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा करेसपोन्डेन्ट बैंकिङ विस्तार गर्ने चुनौती, फोर्स लोन सिर्जना हुने र सोको असुली हुन नसकी बैंकको खराब कर्जा बढ्न सक्ने जस्ता चुनौतीहरू रहेका छन् ।

सुझावहरू
निक्षेप स्वीकार गर्ने र कर्जा प्रदान गर्ने परम्परागत बैंकिङको धरातलबाट माथि उठेर गैरकोषीय कारोबारका नवप्रवर्तनीय प्रोडक्टहरूको प्रर्वद्धन गर्नु आजको आवश्यकता हो । गैरकोषीय कारोबारको सञ्चालन गर्न बैंकहरूले आधुनिक प्रविधिको प्रयोगलाई आत्मसात् गर्नुपर्छ भने नेपाल राष्ट्र बैंकले दक्ष र योग्य जनशक्ति विकास गरी बैंकहरूको गैरकोषीय कारोबारको प्रभावकारीे नियमन र सुपरिवेक्षण गर्ने व्यवस्था गर्नुपर्छ । बैंकहरूबीच धितो मार्जिन तथा कमिसन शुल्कमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नुपर्ने, ग्राहक सेवालाई छिटो–छरितो, सरलीकृत र प्रभावकारी बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति–नियम, परिपत्र, गाइडलाइन र अभ्यासहरूको पूर्ण पालना गर्ने, प्रतीतपत्र तथा बैंक जमानत कारोबारमा उत्पन्न हुने विभिन्न फ्रडहरूका बारेमा सचेत रही जोखिम न्यूनीकरणका उचित उपायहरू अवलम्बन गर्ने, बैंकको उच्च व्यवस्थापनले गैरकोषीय कारोबारमा जोड दिई यसको अभिवृद्धि गर्ने र सोका लागि बैंकको नीति नियमलाई समयसामेक्ष प्रतिस्पर्धी बनाउने एवं बैंकहरूले दिगो मुनाफा एवं वृद्धि हासिल गर्नका लागि गैरकोषीय कारोबारलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा करेसपोन्डेन्ट बैंकिङको दायरा विस्तार गर्ने र बैंकहरूबीच विश्वासको वातावरण सिर्जना गर्ने, कर्मचारीहरूलाई नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने प्रशिक्षण कार्यक्रमहरूमा सहभागी गराउने, प्रभावकारी एवं गुणस्तरीय ग्राहक सेवा प्रदान गर्न एक प्रभावकारी डेडिकेटेड टिमको विकास गर्ने र आन्तरिक लेखा परीक्षण एवं कम्प्लाएन्सलाई सशक्त बनाउनेलगायतका उपायहरू अवलम्बन गरी यो व्यवसायको विकास गर्न सकिन्छ ।
संक्षेपमा, प्रभावकारी ग्राहक सेवा एवं ग्राहक सम्बन्ध व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग र बैंकको समयसापेक्ष सुरक्षित, प्रतिस्पर्धी एवं सरलीकृत व्यावसायिक नीति नै गैरकोषीय व्यवसाय अभिवृद्वि गर्ने मुख्य आधारस्तम्भहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्