कोरोनाले मात्र विदेशमा २ सय नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट युएइमा मात्र ५ जना नेपालीको निधन भएको छ भने दक्षिण कोरियामा पहिलो पटक नेपालीमा संक्रमण देखिएको छ ।
एक साताभित्र मृत्यु भएका सबै युएईका रहेको एनआरएनएले जनाएको छ । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।
यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा २८९ जना सहित विश्वभर कोरोनाका कारण ४८९ नेपालको मृत्यु भएको छ । विगत २४ घण्टामा नेपालमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण विदेशमा मात्र २ सय जनाको मृत्यु भएको छ । यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।
यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।
यस्तै नेपालमा मात्र ४६ हजार २ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये २८ हजार ९२७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ ।
कोरोना अवधिमा विदेश ३०० भन्दा बढी नेपालीको मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) ले जनाएको छ । सिसिएमसी आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशमा बिभिन्न कारणले निधन भएका ३०० जना नेपालीहरुको शव नेपाल ल्याईएको छ । कोरोना अवधीमा सबै भन्दा बढी मलेसियाबाट १०५ नेपालीको शव उद्धार उडानबाट स्वदेश ल्याईएको छ ।
यसैगरी साउदी अरबबाट ८६, कतारबाट ५८, युएईबाट २६, कुवेतबाट ११ मृतक नेपालीको शव नेपाल ल्याईएको छ । यसरी कोरोनाका कारण र अन्य कारणले नेपाल ल्याउन नसकिएका १७६ मृतक नेपालीको शव परिवारको सहमतीमा सम्बन्धित देशमा नै दाहसंस्कार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।