Logo

एसिड पीडित खातुनलाई पर्यटन मन्त्रीको सहयोग


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्म दिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।
गत भदौ २० गते घरबाट विद्यालय जाने क्रममा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार भइरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन् । सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने, “मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्चको उपयोग हुने छ ।”
एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने मन्त्री भट्टराईले बताए । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रवन्ध गरिने बचन दिएका थिए ।
जन्म दिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन् । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्म दिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका थिए । ०७२ को भूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको सुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्म दिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए । ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए । यस्तै ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरिएको थियो । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्