गुणस्तर बढाउन ‘टेलिटिचिङ’

म्याग्दी – सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने र छोराछोरीको शिक्षाका लागि सहरी क्षेत्रमा बसाइँसराई गर्ने समस्या न्यूनीकरणका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पहल थालेको छ । सामुदायिक विद्यालयलाई आवासीय बनाउने, अंग्रेजी माध्यमबाट पठनपाठन र टेलीटिचीङ शिक्षण विधी अपनाइएको हो । म्याग्दी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने र छोराछोरीको शिक्षाका लागि सहरी क्षेत्रमा बसाइँसराई गर्ने समस्या न्यूनीकरणका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पहल थालेको छ । सामुदायिक विद्यालयलाई आवासीय बनाउने, अंग्रेजी माध्यमबाट पठनपाठन र टेलीटिचीङ शिक्षण विधी अपनाइएको हो । विद्यार्थीको पढाईप्रति रुची बढाउने, सिकाई उपलब्धी वृद्धि र गुणस्तर सुधारका लागि अन्नपूर्ण गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीको मान्द्रेढुङ्गा स्थित हिमालयन आधारभूत विद्यालयलाई गत शैक्षिक सत्रदेखि आवासीय बनाइएको हो । स्थानीयबासीले देउसीभैलो खेलेर तथा प्रवासीबाट सहयोग जुटाएर विद्यालयमै छात्रावास सञ्चालन गरेर बिहान बेलुकीको समयमा पढाइसँगै विद्यार्थीहरुलाई अतिरीक्त क्रियाकलापमा संलग्न गराइँदै आएको छ । आवासीय विद्यालयको अवधारणाले विद्यार्थीको सिकाई उपलब्धी सुधारमा सहयोग पुगेको प्रअ रामप्रसाद तिवारीले बताए । “घरमा पढ्ने वातावरण नभएपछि चार वर्ष पहिलेदेखि नै आवासीय विद्यालय चलाउने छलफल चलेको थियो,” प्रअ तिवारीले भने, “पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुदमा विद्यार्थीको सहभागीता र चासो बढेको छ ।” कक्षा ५ सम्मको पठनपाठन हुने यो विद्यालयमा हाल ३० जना बालबालिका अध्ययन गर्छन् । छ जना शिक्षक कार्यरत सो विद्यालयमा तीन जना निजी स्रोत र तीन जना सरकारी दरबन्दिका छन् । सबै कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ । आवासीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो गरेर खाद्यान्न र तरकारी उपलब्ध गराउँछन् । शिक्षकको अतिरिक्त समयको तलब र व्यवस्थापन खर्चका लागि गत वर्ष एक लाख ९० हजार रुपैयाँ जुटाएको थियो । आवासीय विद्यालयको निरन्तरता र पूर्वाधार विस्तारका लागि स्थानीय तह र प्रवासीहरुसँग पहल थालेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए । छोराछोरी पढाउने उद्देश्यले ग्रामिण क्षेत्रका अभिभावकहरु सहरी क्षेत्रमा बसाइँसराई गर्ने क्रम न्यूनीकरणका लागि गाउँपालिकाको पहलमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । यस वर्ष कक्षा १ र पूर्व प्राथमिक तहमा सुरु गरिएको अंग्रेजी माध्यमबाट पठनपाठन गराउने योजना अन्य कक्षामा समेत लागू गराउने गाउँपालिकाको योजना छ । दुर्गम ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणीत विषयको शिक्षक नपाउने समस्याले पठनपाठन प्रभावीत बनेपछि टेलीटिचीङ शिक्षण विधी लागू गर्ने तयारी भएको अध्यक्ष डमबहादुर पुनले बताए । ईन्टरनेटको प्रयोग गरेर एउटा विद्यालयको कक्षा कोठामा शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र साक्षात्कार गर्न पाउने व्यवस्था मिलाउन लागिएको हो । पहिलो चरणमा दश वटा माध्यमीक विद्यालयमा टेलीटिचीङ शिक्षण बिधी अपनाउन प्रबिधिका उपकरण जडानको काम भैरहेको छ ।
सन्तोष गौतम