इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ नखुल्ने

सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीहरूले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । असोज ५ देखि बुकिङ खुलाउने तयारी भइरहेका बेला सरकारले अचानक इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीहरूले बुकिङ नखोल्ने जनाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाको समयसीमा दिएको छ । सरकारले व्यवसायीबीच आइतबार भएको सहमतिमा शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने उल्लेख थियो ।
तर, व्यवसायीहरूले भने सरकारले सहमतिविपरित पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै त्यो फिर्ता नभए अग्रिम टिकट बुकिङ खोल्न नसकिने स्पष्ट पारेको हो । मंगलबार भएको महासंघको बैठकले यस्तो निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । “भाडा बढाउनुभन्दा बढेको मूल्य फिर्ता लिनु नै उचित हुने भएर हामीले सरकारलाई भनेका हौं,” कर्माचार्यले भने, “भाडा वृद्धि गर्दा दसैंको मुखमा यात्रु तथा उपभोक्तालाई प्रत्यक्ष मार पर्छ । हामीले त्यो चाहेका होइनौं ।”
महासंघको मंगलबारको बैठकले भदौ ३१ गते सरकार र महासंघबीच सहमति हुँदाको मूल्यमा दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भनिएको हो । तर, सरकारले सोमबार रातीदेखि लागु हुन गरे पेट्रोलियम पदार्थको मूल्य बढाएकाले अग्रिम बुकिङ खोल्न नसकिने जनाएको छ । मूल्यवृद्धि फिर्ताका लागि महासंघले सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको छ । महासंघले भदौ २० गते र असोज १ गते रातिदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने सर्त राखेको छ ।
व्यवसायीले गरेको निर्णयबारे विभागलाई जानकारी नआएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । “यो विषयमा सरकारले नै निर्णय गर्ने हो र विभागले यस बारेमा केही भन्नसक्ने अवस्था छैन,” उनले भने । विभाग असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्नका लागि आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।
लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पनि भाडा समायोजन नहुँदा समेत व्यवसायीहरू मौन नै रहँदै आएकोमा अहिले दसैंको मुखका फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिनु अस्वभाविक भएको कर्माचार्यको भनाइ छ । अहिले यातायात व्यवसायीहरू सार्वजनिक सवारीको भाडा बढाउने भन्दा पनि यात्रुलाई गन्तव्यमा पु-याउनेतर्फ सोचिरहेको कर्माचार्यले बताए । “तर सरकार भने मूल्यवृद्धि माथि अर्को मूल्यवृद्धि गर्दैछ,” उनले भने, “यसले व्यवसायीहरू सवारी सञ्चालन गर्नसक्ने अवस्थामा हुँदैनन् ।”
सरकार र यातायात व्यवसायीबीच डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँसम्म वृद्धि भए वा गिरावट आए वैज्ञानिक मापदण्डबमोजिम भाडा समायोजन गर्ने सहमति भएको छ । वैज्ञानिक भाडादर मापदण्ड तयार गर्दा यस्तो सहमति भएको थियो । तर, २०७२ माघयता सार्वजनिक सवारीको भाडा समायोजन हुन सकेको छैन । त्यसयता पेट्रोलियम पदार्थको मूल्य १०रुपैयाँभन्दा धेरै बढिसकेको छ । सरकराले लागू गरेको वैज्ञानिक मापदण्डअनुसार भाडा वृद्धिमा पार्टपुर्जा र मुद्रास्फीतिलगायत तत्वको ६५ प्रतिशत र इन्धनलाई ३५ प्रतिशत हिस्सा रहने छ भनिएको छ ।