बैंक खाता फुकुवाको शर्तमा टिकट बुकिङ खुल्ने

♦असोज ५ गतेदेखि बुकिङ खुल्ने
♦ बैंक खाता खोल्न प्रधानमन्त्री सकारात्मक
सरकार र यातायात व्यवसायीहरूबीच सिन्डिकेट प्रकरणमा रोकिएको यातायात समिति र व्यवसायीको बैंक खाता फुकुवा गर्ने सहमति भएपछि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने सहमति भएको छ । अग्रिम टिकट बुकिङका लागि यातायात व्यवसायीहरूले रोक्का रहेको आफ्नो बैंक खाता खोल्नुपर्ने सर्त राख्दै आएका थिए । सरकारले यातायात व्यवसायीको रोकिएको बैंक खाता खोलिदिने भएपछि व्यवसायीहरू दसैंको लागि अग्रिक टिकट बुकिङ गर्न राजी भएका हुन् । सहमतिसँगै असोज ५ गतेदेखि नयाँ बसपार्कलगायत स्थानबाट बुकिङ खुल्ने भएको हो । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा नागरिक समाजबीच आइतबार भएको छलफलमा व्यवसायीहरूबीच अग्रिम टिकट खोल्ने सहमति भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । “व्यवसायीहरू पनि दसैंका लागि टिकट खोल्ने पक्षमै हुनुहुन्थ्यो,” उनले भने, “लामो समयदेखि रोकिएको बैंक खातालगायत समस्या समाधानका लागि विभागले सहजीकरण गरिदिने भएपछि व्यवसायीहरू असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्न सहमत हुनुभएको हो ।” रोक्का भएको बैंक खाता खोल्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएकाले अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । “रोकिएका बैंक खाता विभागले खोल्न नसक्ने भएकाले प्रधानमन्त्री कार्यालयबाटै खुल्ने आश्वासन पाएपछि आम यात्रुको सुविधालाई मध्य नजर गर्दै बुकिङ खोल्न तयार भएका हौं,” उनले भने ।सिन्डिकेट खारेज गर्दै सरकारले यातायात संघ-समिति गत साउन १ गतेदेखि नवीकरणमा रोक लगाएको थियो । नवीकरण नभएका यातायात समितिहरूको बैंक खाता सरकारले रोक लगाएको थियो । व्यवसायीहरूले त्यसैलाई मुद्दा बनाएर बुकिङ खोल्न नसकिने बताएका थिए । सरकारले बैंक खाता रोक्का गर्दा कर्मचारीको तलब खुवाउन, भाडा तिर्न र घाइतेको उपचारबापतको रकम समेत तिर्न नसकिने अवस्था रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले बैंक खाता खोल्ने र व्यवसायीका समस्या समाधानमा पहल गर्ने सहमति गरेकाले यात्रुको हितलाई ध्यानमा राखेर आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । “दसैंमा घर जान चाहनेलाई सहज होस् भनेर हामी अग्रिम बुकिङ खोल्न सहमत भएका हौं,” सिटौलाले भने, “सरकारले हाम्रो समस्या समाधानमा पहल गर्ने भएपछि हामी सहमत भएका हौं ।” नागरिक सहायता कक्ष कहाँ राख्ने, कहाँ कहाँबाट बुकिङ खोल्ने लगायत विषयमा असोज ३-४ गते सम्ममा तय परिने विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । “विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र उपभोक्ता अधिकारकर्मीबीच छलफल गरेर उक्त विषय टुङ्ग्याइने छ,” उनले भने ।