Logo

बैंकर्स क्लब गठन

नेपालगन्ज-नेपालगन्जका विभिन्न बैंक तथा बित्तिय संघ–संस्थाहरूमा कार्यरत कर्मचारीहरू संगठित भएका छन् । उनीहरूले संगठित भएर नेपालगन्ज बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाबाट दर्ता प्रमाणपत्र लिएका उनीहरूले नेपालगन्जमा रहेका सबै बैंक तथा वित्तीय क्षेत्रमा कार्यरतहरूलाई संगठित गर्दै अगाडि बढ्ने बताएका छन् ।
हर्मेस सोनीको अध्यक्षतामा गठित बैंकर्स क्लबमा मेगनाथ ढकाल उपाध्यक्ष, दीपक खनाल सचिव, दिलिप डाँगी सहसचिव र सिद्ध भण्डारी कोषाध्यक्ष छन् । सो क्लबको सदस्यहरूमा शैलेन्द्रमान श्रेष्ठ, विवेश स्वाँर, राममणि अधिकारी र बुद्ध प्रसाद मानन्धर रहेको अध्यक्ष सोनीले जानकारी दिए ।
“एकापसमा अन्तरक्रियात्मक सम्बन्ध स्थापित गर्ने र संगठित रुपमा सामाजिक कार्य गर्ने मुख्य उद्देश्य हो,” अध्यक्ष सोनीले भने, “सुरुमा यहाँ रहेका सबै वाणिज्य बैंकहरू संगठित भएका छौं ।” नेपालगन्जमा मात्रै २८ वटा वाणिज्य बैंकका शाखा छन् ।
“बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने सबैलाई संगठित गरेर अगाडि बढ्ने हाम्रो योजना हो,” स्टयान्डर्ड चार्टर्ड बैंकका नेपालगन्जस्थित शाखा प्रबन्धकसमेत रहेका अध्यक्ष सोनीले सबै तहका बैंक तथा वित्तीय क्षेत्रमा कार्यरतहरूलाई संगठित गर्दै जाने योजना सुनाए ।
“नजिकको बैंकिङ सम्बन्ध स्थापित गर्दा धेरै कुरा सिकाई आदानप्रदान पनि हुन्छ,” अध्यक्ष सोनीले भने, “सबै तहका कर्मचारी बीच मित्रतापूर्ण सम्बन्ध पनि विकास हुँदै जान्छ ।”
खाता खोल्ने, लगानी गर्ने तथा ब्याज लिने र दिने लगायतका सवालमा बैंकहरूबीच निकै प्रतिस्पर्धा भइरहेको बेला यसरी बैंकमा कार्यरत कर्मचारीहरू संगठित हुनु निकै सकारात्मक काम भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
लोकतन्त्रमा सबैको अधिकार सुरक्षित रहेको जनाउँदै संघका अध्यक्ष नन्दलाल वैश्यले यसबाट उद्योगी व्यवसायीको काम सहज हुन सहयोग पुग्ने आशा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्