बैंकहरूको औसत लाभांश १७ प्रतिशत

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट सेयरधनीलाई अधिकतम औसत १७ प्रतिशतसम्म लाभांश दिनेसक्ने देखिएको छ । वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको नाफा र चुक्ता पुँजीको अवस्थालाई हेर्दा दोहोरो अंकको औसत लाभांश वाड्न मिल्ने देखिएको हो ।
बैंकहरूको समग्र खुद नाफा वृद्धि १६.९३ प्रतिशत हुँदा वितरण गर्नसकिने नाफा धेरैमा औसत लाभांश वितरण गर्नसक्ने अवस्था देखिएको हो । गत आवमा २७ वाणिज्य बैंकहरूले ४८ अर्ब ८३ करोड ६९ लाख रूपैयाँ खुद नाफा गरेका छन् । यो नाफा वृद्धिदर अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकहरूको नाफामा वृद्धि २५ प्रतिशतको थियो ।
बैंकहरूले गरेको खुद नाफावाट सञ्चित कोषमा २० प्रतिशत, समाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितिका लागि एक प्रतिशत छुट्याएपछिको नाफालाई कुल सेयर संख्याले भाग गरी बैंकहरूले धेरैमा बढ्न सक्ने लाभांशको प्रतिशत निकालिएको हो । तर, बैंकहरूले अनिवार्य गरिएभन्दा धेरै सञ्चित कोषमा राख्ने तथा सञ्चित कोषमा भएको रकम समेत प्रयोग गरेर लाभांश दिन सक्ने भएकाले उक्त लाभांश प्रतिशतमा तलमाथि हुनसक्छ । गत आवको नाफाबाट मात्र बैंकहरूले लगानीकर्तालाई प्रतिफल दिनसक्ने क्षमता हेर्दा औसत १७ प्रतिशतमात्र देखिन्छ ।
बैंकहरूले पुँजी बढाएअनुसारको प्रतिफल तत्काल नदेखिए पनि आगामी वर्षमा पुँजी वृद्धिअनुसारको प्रतिफल लगानीकर्तालाई दिने अवस्थालाई गत आवका औसत लाभांशले देखाउने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकहरूले पुँजी वृद्धि गरेको हुनाले विगतको तुलनामा प्रतिफल कम देखिएपनि पुँजी वृद्धिअनुसारको प्रतिफल निराश हुनुपर्ने अवस्थाको छैन,” उनले भने, “औसतमा १७ प्रतिशत भए पनि संस्थाले गरेको कार्यसम्पादन अनुसारको प्रतिफल भने फरक छ ।”
सर्वसाधारणमा सेयर बिक्री गरेका २७ वाणिज्य बैंकमध्ये गत आवमा धेरैमा ६ प्रतिशतदेखि ३९ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्थामा छन् । गत आवमा बैंकहरूले गरेको व्यवसायअनुसार लगानीकर्ताका लागि प्रतिफल निर्धारण हुन्छ । बैंकहरूले गत आवमा दिनसक्ने यो प्रतिफल धेरै दिएको खण्डमा अर्थत कानुनी व्यवस्था पुरा गरी बाँकी रहेको नाफा सम्पूर्ण वितरण गरेको खण्डमा उक्त नाफा दिन सक्नेछन् ।
गत आवमा सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकले ४ अर्ब ५ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ । यो नाफाबाट सञ्चित घटाएर सम्पूर्ण बाँडेको खण्डमा बैंकले लगानीकर्तालाइ ३९ प्रतिशत लाभांश दिनसक्छ । लाभांश दिन सक्ने क्षमताका आधारमा पनि नबिल नै बैंक पहिलो देखिएको छ । तर, सबैभन्दा थोरै ६४ करोड ५० लाख रूपैयाँ खुद नाफा गरेको सिभिल बैंकले सञ्चितपछि बचेको नाफा सेयरधनीलाई सम्पूर्ण बाँडेको खण्डमा ६ प्रतिशतमात्र लाभांश दिनसक्छ । गत आवमा खुद नाफावाट सञ्चिती घटाएर बाँकी रहेको नाफा सम्पूर्ण सेयरधनीलाई वितरण गरेको खण्डमा ८ वाणिज्य बैंकले मात्र २० प्रतिशतभन्दा धेरै लाभांश दिनसक्ने अवस्था छ ।