संखुवासभामा मास्क र स्यानिटाइजरको बिक्री बढ्यो

संखुवासभा-कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै संखुवासभामा मास्क र स्यानिटाइजरको बिक्री बढेको छ । कोरोना संक्रमण अघि मास्क र स्यानिटाइजरका बारेमा अनभिज्ञ रहेका सबैले अहिले नाखमुखमा मास्क र गोजीमा स्यानिटाइजर अनिवार्य बोक्न थालेका छन् ।
दर्जन बढी कम्पनी र ब्रान्डका उत्पादनहरू अहिले प्रायस सबैले खरिद गर्ने गरेका छन् । आफूले खरिद गरेका मास्क र स्यानिटाइजरको क्वालिटीभन्दा पनि अहिले ग्राहकले सस्तो र परिवारका सबै सदस्यलाई प्रयोग गर्न पुग्ने गरी गिलेन र बोतलमा राखिएका स्यानिटाइजर बढी रुचाउने गरेका कृष्ण होमियो फार्मेसी खाँदबारीका सञ्चालक कृष्ण श्रेष्ठको भनाइ छ । अहिले सरदर दैनिक १० देखि १५ लिटरसम्म स्यानिटाइजर र २ सयदेखि ५ सयको संख्यामा मास्क बिक्री गर्दै आएको उनले बताए । प्रायस हरेक ब्राण्डमा स्यानिटाइजरमा रक्सी (अल्कोहल)को गन्ध आउँछ । पहिले–पहिले रक्सीको सेन्ट मन नपराउनेले समेत पछिल्लो समय त्यस्तै स्यानिटाइजर मन पराउन थालेको उनको भनाइ छ ।
अहिले अल्कोहलको सेन्ट मिसिएको स्यानिटाइजरले मानव स्वास्थ्यमा के कस्तो असर गर्छ भन्ने बारेमा सम्बन्धित निकायले पनि कुनै जनचेतनाका कार्यक्रम सार्वजनिक नगर्दा अभिभावक वर्गमा भने चिन्ता थपिएको छ । रक्सीको गन्ध मन नपराउने छोरो छोरीले समेत बारम्बार आल्कोहलको गन्ध लिनुपर्ने परिस्थिति आउँदा कतै उनीहरू भविष्यमा आल्कोहलिक बन्ने त हैन भन्ने चिन्ता थपिएको खाँदबारी ८ का संचारकर्मी जीवनाथ खनाल बताउँछन् । जीवनमा कहिल्यै रक्सीको गन्ध नसँुघेका बालबालिकाले पटक–पटक रक्सीको सेन्ट लिनुपर्दा उनीहरूको बालविज्ञानमा नकारात्मक असर पुगिरहेको खनालको भनाइ छ ।
खाँदबारी–१ मा रहेको आर्या फार्मेसीका सञ्चालक रोषण श्रेष्ठले अहिले संखुवासभामा ठूलो मात्रामा मास्क र स्यानिटाइजरको माग बढिरहेको बताए । आफूले औषधी व्यवस्था विभागले सिफारिस गरेको र विश्वस्वास्थ्य संगठन डब्लूएचओले सर्टिफाई गरेको स्यानिटाइजर मात्र बिक्री वितरण गर्ने गरेको जानकारी दिए । उनले मूल्यसूची, म्यानुफ्याक्चुअर्ड र एक्स्पायर डेट उल्लेख नभएका, औषधी व्यवस्था विभागले सिफारिस नगरेका तथा उत्पादक कम्पनीको नाम ठेगाना उल्लेख नभएका स्वास्थ्य सामग्रीको प्रयोग र सेवन हानिकारक हुने भएकाले खरिद नगर्न व्यवसायी श्रेष्ठले सुझाव दिए ।
जिल्लामा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै गएकाले अहिले जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा समेत स्यानिटाइजर र मास्कको माग बढेको जनाए । कतिपयले स्थानीय रूपमा उत्पादन गर्ने गरिएको लोकल रक्सीलाई समेत स्यानिटाइजरका रूपमा प्रयोग गर्ने गरिएको मकालु ५ नुम बजारका देवेन्द्र कँडेल बताए । पहिले पहिले स्यानिटाइजर प्रयोग गर्दै आएकाले समेत स्यानिटाइजर किन्न भनेको बेलामा पैसा नहुने, यो त रक्सी नै त रहेछ भन्दै गाउँघरमै उत्पादन गरिएका लोकल रक्सीलाई नै स्यानिटाइजरका रूपमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
गाउँघरमै तैयार गरिएको लोकल रक्सीले स्यानिटाइजरको काम नगर्ने खाँदबारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुन्दरश्याम झाँले बताए । उनले स्यानिटाइजर हुनका लागि कम्तीमा ७० प्रतिशत अल्कोहल अनिवार्य हुनुपर्ने भन्दै गुणस्तरहीन सामग्री प्रयोग नगर्न सुझाव दिए । स्यानिटाइजरमा आल्कोहल, इस्पिरिट र डिस्टीलवाटर लगायतको मात्रा मिलाएर तैयार गरिएको हुन्छ तर गाउँघरमा ती कुराहरू संभव नहुने भएकाले चिकित्सकले सल्लाहअनुसार मात्र त्यस्ता सामग्री प्रयोग गर्न सुझाव दिए । खरिद कर्तालाई भ्रममा नपर्न सुझाव दिँदै उनले सामान्य मापदण्ड समेत पूरा नभएका स्यानिटाइजर लुकीछिपी घरमै राखेर बिक्री बितरण नगर्न अनुरोध गरे ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सामग्री जथाभावी तैयार गरी बिक्री वितरण र प्रयोग गरिँदा स्वास्थ्यलाई नकारात्मक असर पुग्नसक्छ । उनले भने स्यानिटाइजरमा अनिवार्य रूपमा कम्तीमा ७० प्रतिशत आल्कोहलको मात्रा रहनै पर्छ, अल्कोहलको गन्ध आउँदा त्यसले मानव स्वास्थ्यमा केही न केही असर पर्न सक्ने कुरालाई मध्यनजर गरी अल्कोहलिक गन्ध आउने स्प्रे स्यानिटाइजर मन नपराउनेका लागि फलफूल र अन्य मनपर्ने सुगन्धका बिभिन्न स्वादमा तैयार गरिएका स्यानिटाइजर खरिद गरी प्रयोग गर्न डाक्टर झाँले सुझाव दिए । अहिले जिल्लामा गुणस्तर परीक्षणका लागि संयन्त्र प्रत्यक्ष उपस्थिति नभएकाले गुणस्तर परीक्षणमा केही समस्या रहेको उनको भनाइ छ ।