Logo

सीसीएमसीको अनुमति पर्खाइमा महानगरको पीसीआर परीक्षण

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट कोरोना परीक्षण कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिति (सीसीएमसी) को पर्खामा छ । समुदाय स्तरमा परीक्षणका लागि सम्पूर्ण तयारी गरे पनि कोरोना संकट व्यवस्थापन उच्चस्तरीय समिति (सीसीएमसी) को अनुमति नपाउँदा परीक्षणमा ढिलाइ भएको छ । वीरगन्ज महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि ‘एक घर एक परीक्षण’ को अभियान सञ्चालन गर्न पीसीआर मेसिन नारायणी अस्पतालको प्रयोगशालामा जडान गरी परीक्षण सञ्चालनमा छ ।
महानगरपालिकाले २५ हजार भिटीएम, २ हजार थान आरएनए एक्सट्र्याक्ससन किट खरिद गरेर तयारी अवस्थामा राखे पनि अन्तमा सीसीएसीको अनुमति लिनुपर्ने बाध्यताका कारणले परीक्षण ढिलाइ भएको महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए । लकडाउन खुकुलो भएपछि छिमेकी देश भारतको सीमावर्ती सहर रक्सोलमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि जोखिम थपिएको छ । सीमावर्ती सहर रक्सोलमा उपचार गर्ने ठाउँ नहुँदा अक्सिजनसहित धर्मशालाहरूमा संक्रमितहरूको उपचार गरिरहेका छन् ।
मुख्य सीमा नाका बन्द रहेपनि भित्री नाकाहरूबाट रक्सोल वीरगन्जमा आवत जावत हुने गरेकाले वीरगन्जमा कोरोनाको जोखिम अझ बढेको छ । यसैलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले तत्काल समुदाय स्तरमा परीक्षण गर्नुपर्ने भएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र पर्सासँग समन्वय गर्दा संकट व्यवस्थापन केन्द्रले सीसीएमसीसँग अनुमति लिनुपर्ने र त्यसको लागि आवश्यक मापदण्ड सहितको योजना ल्याउन राय दिएकाले महानगरपालिकाले आफ्नो योजना र मापदण्ड सहित अनुमतिका लागि साउन २ गते नै सीसीएमसीलाई पत्राचार गरेको महानगर प्रमुख सरावगीले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यावस्थापन केन्द्रका संयोजक विष्णुकुमार कार्कीमार्फत वीरगन्ज महानगरपालिकाले कोरोनाको पीसीआर परीक्षणका लागि सीसीएमसीलाई पत्र पठाएको हो । पत्रको जवाफ भने अहिले सम्म नआएको महानगरप्रमुख सरावगीको भनाइ छ । प्रयोगशाला परीक्षणका लागि पनि तयारी अवस्थामा रहेकाले सीसीएमसीले जति छिटो अनुमति दिन्छ त्यति नै छिटो परीक्षण पनि शुरु हुने नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए । उनले भने, “बाराको देवताल गाउँपालिकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई नै देखिएको छ । यो अत्यन्त खतरनाक संकेत हो । पर्सामा पनि आफैं शुल्क तिरेर कोरोना परीक्षण गर्न आएकाहरूमा नै कोरोना पोजिटिभ देखिएको छ । त्यसैले समुदाय स्तरमा छिटो परीक्षण गर्नु आवश्यक देखियो ।” उनले समुदायमा कोरोना फैलिन सक्ने तीब्र सम्भावना भएकाले यसको नियन्त्रणका लागि चाँडै परीक्षणको दायरा बढाउनुपर्ने बताए । पर्सा र बारामा गरी अस्ती ५० जना र हिजो पर्सामा २ जना गरी पछिल्लो पटक ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका संक्रमण देखिएकाहरू अधिकांश जनप्रतिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरू छन् ।

 

प्रतिक्रिया दिनुहोस्