Logo

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसआई’मा समर्थन गरेका छैनौँ: प्रधानमन्त्री

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।

यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गरे । ललितपुरको सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए ।

प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गरे । ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताए ।

एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै ओलीले भने, ”अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।”

उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्नसक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्