मित्रराष्ट्र चीन र सरकार हराएको देश !

पाँचौँ शताब्दीतिर नेपालको पवित्र भू–खण्ड लुम्बिनीमा भगवान् बुद्धको अभिर्भावसँगसँगै उत्पत्ति भएर अविरल विकसित हुँदै गइरहेको नेपाल र मित्रराष्ट्र चीनको सम्बन्ध हाम्रा दुई देशबीच अवस्थित हिमालजस्तै अटल र अभेद्य रहँदै आइरहेको इतिहास सम्पूर्ण विश्वसामु प्रस्ट छ । नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय र राजनीतिक सबै पक्षबाट क्रमशः प्रगाढ हुँदै गएको कसैबाट लुकेछिपेको तथ्य होइन । प्राचीन कालदेखि नै नेपाल–चीनबीच ‘सिल्क मार्ग’ को माध्यमबाट व्यापारिक सम्बन्ध सुमधुर रहँदै आएका कथाहरू सर्वत्र सुन्न, पढ्न पाइन्छ ।
हुयेन साङ र फाहियानले बुद्धज्ञान आर्जन गर्न भारतवर्षको भ्रमणमा जाँदा र ज्ञान आर्जनपछि फर्कंदाका कथा–कथनहरूमा बाटोमा पर्ने नेपालको प्रशंसाका गाथाहरू मित्रराष्ट्र चीनमा अझै पनि प्रचलित छन् । अहिले चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालको लिच्छवि वंशका राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचन गम्पोसँग वैवाहिक सम्बन्ध स्थापित भएको थियो । भनिन्छ, उनले नेपालबाट कुशल शिल्पकार, काष्ठकला तथा मूर्तिकारहरूलाई आफ्नो राज्यमा लगेर अनेकौँ विहार र मन्दिरहरूको निर्माण गर्न लगाएकी थिइन् । ल्हासाको प्रसिद्ध जोखाउ गुम्बाको निर्माणमा पनि उनको महत्वपूर्ण सहयोग रहेको त्यहाँका मूलवासीहरू अहिले पनि बडो आदरका साथ स्मरण गर्छन् ।
भृकुटीले जस्तै नेपालका १३ औँ शताब्दीका अर्का कला एवं शिल्पका मूर्धन्य व्यक्तित्व अरनिको, जसलाई चीनमा ‘अनिग’ नामले चिनिन्छ, उनी काष्ठकला, मूर्तिकला, धातुकला र वास्तुकलामा निपुण व्यक्तित्वका रूपमा चिनिन्छन् । सन् १२६० तिर मंगोल सम्राट् कुबलाई खानले नेपालबाट कुशल कलाकारको स्वागत गर्न इच्छुक रहेको बताउँदा अरनिकोले आफ्नो टोलीसहित मित्रराष्ट्र चीनको भ्रमण गरेका थिए । उनले चीनमा अनेकौँ बौद्ध विहार, स्तूप, मूर्ति तथा गुम्बाहरूको निर्माण गरेको इतिहासका पानाहरूमा स्वर्णाक्षरले लेखिएको छ । उहाँद्वारा निर्माण गरिएको बेइजिङस्थित सेतो गुम्बालाई आज पनि चीनमा राष्ट्रिय सम्पदाको रूप मानिन्छ । नेपाली पेगोडा शैली चिनियाँ परिवेशमा समेत अत्यन्तै आकर्षक शैलीका रूपमा लोकप्रिय बन्दै गयो । अरनिकोजस्ता नेपाली कलाकारहरूले चीनमा गएर कला र वास्तुकलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको र नेपाल–चीनको मित्रतापूर्ण सम्बन्धलाई अजर अमर तुल्याएको हाम्रा दुवै देशका जनताले आत्मसात् गरेको विषय हो । चीनमा बौद्ध धर्मको प्रसारले हाम्रो धार्मिक सम्बन्धलाई पनि थप बलियो बनाएको हामी अनुभव गर्न सक्छौँ ।
सन् १९५५ मा नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो । अहिले हाम्रो दुई देशबीचको दौत्य सम्बन्ध कायम भएको पनि ७० वर्ष पुगेको छ । त्यसको ठीक पाँच वर्षपछि सन् १९६० मा नेपाल–चीनको सिमाना स्पष्ट पार्न एउटा सन्धि पनि पारित भएको थियो । यस वर्षलाई चीनले आफ्नो देशमा नेपालको पर्यटकीय प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी आफ्ना देशका नागरिकलाई नेपाल भ्रमणमा जान प्रोत्साहित गरिरहेको छ । सन् २०२४ मा अर्थात् गत वर्ष नेपाल भ्रमण गर्न आउने चिनियाँ नागरिकको संख्या १ लाख १ हजार ८ सय ७९ रहेको थियो । सन् २०२३ को तुलनामा यो आँकडा ६७ प्रतिशतले वृद्धि भएको हो । यस वर्ष झन्डै ५ लाख चिनियाँ पर्यटक नेपाल आउने प्रक्षेपण गरेको छ चिनियाँ सरकारले, तर अहिलेसम्मको पर्यटक आगमन वृद्धिदर अपेक्षाकृत रूपले बढ्न सकेको छैन । नेपाल–चीनको विद्यमान राजनीतिक परिप्रेक्ष्यलाई नियाल्दा नेपालले प्रारम्भदेखि नै ‘एक चीन’ नीतिलाई निरन्तर समर्थन गर्दै आइरहेको छ ।
चीनसँगको आफ्नो बलियो र समझदारीपूर्ण सम्बन्धलाई नेपालले सदैव बडो संवेदनशीलताका साथ हेर्ने गर्छ । अहिले चलिरहेको धरमराउँदो वैश्विक राजनीतिक असन्तुलनका कारण शक्तिराष्ट्रहरूमा पनि अनौठो प्रतिस्पर्धाको तरंग फैलिइरहेको देखिन्छ । हिजोका मित्रराष्ट्रहरू आफ्नो व्यापार–वाणिज्य र सम्पदाहरूको जगेर्नाका लागि मानवता, पारस्परिक सान्निध्यता र सहयोग एवं समन्वयलाई थाती राखेर आफ्नो सैन्य र आणविक ताकतको खुला प्रदर्शनीमा जुटेको अवस्थाले मानव जातिमाथि भोलि आउने अँध्यारो संकेतको सूचना दिइरहेको देखिन्छ । यस्तो स्थितिमा विश्वका सबै देशले सामरिकतातर्फ भन्दा पनि सहअस्तित्वतर्फ अधिकतम केन्द्रित रहन जरुरी हुन्छ । सम्पूर्ण मुलुकहरूले आफूसँग रहेको बौद्धिक, सांस्कृतिक एवं कूटनीतिक उन्नयनका लागि, सातैवटा महादेशहरूमा छरिएर रहेको मानवताको रक्षा र हितका लागि, आउँदा कलकलाउँदा पुस्ताका लागि तथा शान्तिका लागि एकीकृत भई जुट्न सक्नुमा नै सबैको कल्याण ठहरिनेछ ।
अन्यथा, एकपछि अर्को गर्दै हामी सबै विश्व इतिहासका कलंकित पानाहरूमा चित्रित हुँदै जानेछौँ । हाम्रा जेन–वाईहरूले हामीलाई धरतीमा कसैले नभोगेको सराप दिँदै भौँतारिएका हाम्रा आत्माहरूलाई विषादपूर्ण विरूपी विकराल नर्कको गर्तमा मडारिएर हिँड्न बाध्य बनाउनेछन् । यो निश्चित छ । दुई ढुंगाका बीचको तरुल भए तापनि नेपाल अनादि कालदेखि स्वाधीन छ, स्वतन्त्र छ, अजेय छ, कहिल्यै पनि कसैको उपनिवेश रहेन, कसैका सामु झुकेन, किनभने हामीले सधैँ वसुधैव कुटुम्बकमको वैदिक परम्परालाई अद्यापि मान्दै आइरहेका छौँ ।
चीनले हरहमेसा नेपालको भलो चाहने महत्वपूर्ण साझेदार (पार्टनर) बनेर हाम्रो प्रत्येक होस्टेमा हैँसे गर्दै आइरहेको छ । प्रजातान्त्रिक संघीय गणतन्त्र नेपालमा विकास, निर्माण र पूर्वाधारका कैयौँ कामहरू द्रुत रूपमा भइरहेको अवस्थामा यहाँका सडक, ऊर्जा, जलविद्युत् र स्वास्थ्यतर्फ पनि चीन सरकारको उल्लेख्य लगानी रहेको छ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटकीय नगरी पोखराको पोखरा विमानस्थल निर्माणमा चीन सरकारले उपलब्ध गराएको ऋण अनुदानप्रति नेपाली जनता कृतज्ञ छन् । तर, हामी स्वयं दुष्ट, भ्रष्ट र गए–गुज्रेका रहेछौँ भन्ने तब प्रस्ट हुँदै गयो जब विश्वभरिका सञ्चारमाध्यमहरूले र हाम्रो आफ्नै संसद्भित्र त्यहाँ भएको अरबौँको घोटालाबारे सत्य–तथ्यहरू सार्वजनिक हुँदै गए । त्यसबारे अनुसन्धान पनि भए, तर अपराधीहरू सरकारभित्रै छन् भन्ने किटान भएपछि ती भ्रष्टहरू सजिलै पानीमाथिको ओभानै भइरहे । र, अहिले पनि छन् ।
नेपालमा रहेको सुशासनका दृष्टान्तहरूको विश्व रंगमञ्चबाट खिल्ली उडिरहँदा पनि निर्लज्ज भएर कुटील मुस्कानसाथ राजनीतिको नकाब मात्र ओढेका सरकारका उच्च पदस्थहरू भागबन्डामै व्यस्त बसेर मौनता साँधिरहेका छन् । कुनै पनि अपराधी कानुनको दायरामा ल्याइएको छैन । अहिले नेपालमा देखिएका प्रमुख दलहरू ८४ मा पुनः एकढिक्का भएर चुनावमा सामदाम दण्डभेदको सिद्धान्तमा अडिग रही चुनावको नतिजालाई आफ्नै पक्षमा खिच्नेछन् । नेपाली नागरिक फेरि पनि आफ्नैबाट ठगिनेछन् । विद्वान् मित्र अमृतकुमार ढकाल लेख्छन्ः ‘तलदेखि माथिसम्म राजनीतिबाहेक केही नगरेकाहरूबाट देशलाई मुक्त नगरुन्जेल देशको राजनीति उत्साह र सेवाको रूपमा रूपान्तरण हुँदैन नै ।’ कति वेदना र व्यथा लुकेको छ— यी पंक्तिहरूमा ।
सम्भाव्यता बोकेका केही युवालाई स्थानीय जनताले काम गर्ने बाटो दिए, तर तिनीहरूमा पनि आँपका मन्जरीसरह अप्रत्याशित रूपले महत्वाकांक्षाहरू अंकुरित भएको देख्दा, सुन्दा मन खिन्न भएर आउँछ । आँपका कोमल मन्जरीहरू सामान्य हावाहुरी र बर्सातले सजिलै झारिदिने भय मेटाउन गाह्रो छ । किनभने हाम्रा बुख्याचा सांसद र नेताहरू (अपवाद छ) असिनै झार्न सक्ने वा उस्तै परे नजानिँदो किसिमले वाण चलाउन सक्ने क्षमताका मुर्कट्टा जस्तै छन् । तिनीहरूबाट अब आस गर्ने भनेको मृगतृष्णामा छटपटिने हो । राजनीतिको लट्ठी टेकेर, दलहरूको घण्टा बजाएर, नेताका नाममा पचास–पचास किलोको माला गुँथेर बाजागाजा, शंख फुकेर हिँड्नु भनेको सुखी नेपाली समृद्ध नेपालको क्षितिज चहार्नु हो, नेपाली धरती र आकाश जोडिएको बिन्दुसम्म पुग्नु हो । जुन कुराको कुनै बुनियाद छैन ।
जनताले देशमा येनकेन गुजारा गरिरहेको सन्दर्भमा भ्रामक कुराहरूको प्रचार–प्रसार गरेर देशलाई कति दिन अघि बढाउने ? ज्येष्ठ नागरिकका नाताले पंक्तिकारले पनि निःशुल्क स्वास्थ बीमाको सुविधा लियो । त्यो बीमा केही निर्दिष्ट सरकारी अस्पतालमा उपलब्ध छ भनियो । रक्तअल्पता र मधुमेह जँचाउन पंक्तिकार पनि एउटा अस्पतालमा पुग्छ । डाक्टरले जाँचेपछि म केही औषधि लेखिदिन्छु भन्नुभयो । अस्पतालको औषधि शाखाको झ्यालमा लाम लागेर बसेँ । त्यहाँको मानिसले एक–दुईवटा औषधि (भारत र बंगलादेशबाट बोल–कबोलमा ल्याइएका) दियो, अरू बाँकी बाहिर किन्नुहोस् भन्यो । सरकारले जबसम्म सस्तो लोकप्रियताका लागि बिनातयारी नारामात्र बोकेका कार्यक्रमहरू जनसमक्ष ल्याउँछ, तबसम्म त्यसले कुनै सार्थकता पैदा गर्दैन ।
स्वास्थ्यमा मात्र होइन, शिक्षामा, कृषिमा र पर्यटनमा सरकारको भूमिका शून्य छ । शिक्षासम्बन्धी विधेयक, उखु र दुग्ध किसानहरूलाई सरकारले बुझाउनुपर्ने बक्यौता, कैयौँ निर्माण व्यवसायीहरूको भुक्तानी, रोपाइँ सकिसक्दासम्म मल गोदाममै थन्कनु, घरघरै खानी पानीको पाइप पुर्याएर पानीको आपूर्ति गर्न नसक्नु, दक्ष प्राविधिक जनशक्तिलाई सजिलै विदेश भगाउनु, रोजगारीको सिर्जना गर्न नसक्नु, त्यत्रा कलकारखाना बेचेर एउटा पनि नयाँ उद्योग स्थापना गर्न नसक्नु….. यो सूची अनन्त छ ।
बरु धरानका बहादुर मेयर हर्कले ‘श्रमदान’ को अभियान सुरु गरेर स्वावलम्बी हुन सिकाएका पाठहरू, धराने माया बेसारको उत्पादन र व्यापार प्रवद्र्धनमा गरेका प्रयासहरूलाई सरकारका सम्बन्धित निकायले ध्यान दिनुपर्ने होइन ? केही वर्षअगाडि युवा वैज्ञानिक डा. महावीर पुनलाई वीरगन्जको थोत्रो कारखाना जिम्मा लाएर १ अर्ब रुपैयाँ बजेट पनि छुट्ट्याएको थियो, सरकारले । तर, हाम्रो ब्युरोक्रेसीले त्यसको नियमावली नै नबनेको भन्दै बजेटद्वारा विनियोजित त्यो रकम सरकारकै ढुकुटीमा फर्काए । डा. महावीरले किताब बेचेर कारखाना चलाइराखेका छन् । सरकार भएको देश यस्तै हुन्छ ? सधैँ शक्तिशाली छिमेकहरूको अनुहार हेरेर बस्ने हो ? लाग्छ, हामी सरकार हराएको देशमा छौं ।