घरायसी र डेडिकेटेड विद्युत् महशुल घटाउन प्रस्ताव

१० युनिटसम्मका लागि इनर्जी निःशुल्क |
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले घरायसी र डेडिकेटेड फिडर लिने ग्राहकको विद्युत् महशुल घटाउने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले विद्युत् नियमन आयोग सक्षम विद्युत् महशुलका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैठकले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई डिमाण्ड शुल्क न्यूनतम ३० रुपैयाँ लिने तर इनर्जी शुल्क निःशुल्क गर्ने निर्णय गरेको छ । इनर्जी शुल्क प्रति युनिट ३ रुपैयाँ छ । १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ८ लाख रहेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गरेको प्रस्ताव गर्न लागेको महशुल दर अनुसार, चार सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकले बढी विद्युत् खपत गरेमा भने पहिलाको भन्दा मुल्य घट्ने छ । पहिला प्रति युनिट १३ रुपैयाँसम्म रहेकोमा अब ११.५० रुपैयाँ तिरे पुग्नेछ ।
डेडिकेटेड फिडर लिने ग्राहकले अन्य औद्योगिक ग्राहकले लिनेभन्दा करिब ७५ प्रतिशत बढी रहेकोमा त्यसमा करिब ४२ प्रतिशत घटाइएको छ । अब औद्योगिक ग्राहकको भन्दा १५ प्रतिशत बढी तिरेमा औद्योगिक ग्राहकले डेडिकेटेड फिडर पाउनेछन् । औद्योगिक ग्राहकको भने पहिलाभन्दा करिब १२ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।
प्राधिकरणले खानेपानी तथा यातायाततर्फका ग्राहकलाई पनि केही घटाउने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार, समग्रमा औद्योगिक ग्राहकको विद्युत् महशुल ८ प्रतिशत बढ्नेछ भने समग्रमा ४ प्रतिशत मात्र बढ्नेछ । विद्युत् प्राधिकरणको निर्णय अनुसार विद्युत् महशुल दर कायम गर्नका लागि विद्युत् नियमन आयोगलाई पठाइने प्राधिकरणले जनाएको छ ।