Logo

‘कोरोना भाइरसबाट आतंकित हुनु पर्दैन’

 चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यसबारे सचेत गराएका छन् । तर, धेरै आत्तिनुपर्ने अवस्था भने नरहेको उनीहरुको भनाइ छ । रोगका लक्षण देखिए तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन,” श्रेष्ठले भने, “चीनमा कोरोना भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ । छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाउन चाहन्छु ।”
चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ । “स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन,” श्रेष्ठले भने । तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाइ छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागू भइसकेको श्रेष्ठले बताए ।
चीनसँगका नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । “शंका लागेमा सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँं,” उनले भने ।
प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिँदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिँदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे ।
“कोरोना भाइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण ग¥यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ,” उनले भने ।
कोरोना भाइरस श्वासप्रश्वाससग सम्बन्धित भाइरस भएकाले एक मिटरको दूरीसम्म एक व्यक्तिले हाछ्युँ गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाइ छ । “संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ । चीनमा एक हजारभन्दा बढीमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन,” पाण्डेले भने ।
सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिँदै चीनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु नपर्ने बताए । यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान उनले सुझाव दिए । कोरोना भाइरस आफैंमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए ।
नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लुजस्तो लक्षण देखा परेमा चिकित्सिकसँग परामर्श लिने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीबाट टाढा बस्ने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खानेजस्ता सावधानी अपनाउन उनले सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्