नेरुडेको खुद मुनाफा १२ करोड १६ लाख

विराटनगर– प्रदेश–१ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५-०७६ मा १२ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाको १३ औं वार्षिक साधारणसभाका अवसरमा सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले दिएको जानकारीअनुसार १२ करोड १६ लाख ४६ हजार ८ सय २२ रूपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले आव २०७५-०७६ मा १ लाख ३५ हजार ११३ घरपरिवारमा लघुवित्त सेवा पु-याएको अध्यक्ष धमलाले बताए । यो अवधिमा ८५ हजार ६७१ सदस्यलाई ५ अर्ब ३ करोड ऋण लगानी गरेको धमलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले १ अर्ब ९४ करोड बचत संकलन गरेको छ । साधारणसभाले सम्पूर्ण सेयरधनीलाई आव २०७५-०७६ को वितरण गर्न योग्य मुनाफाबाट ५ दशमलव ७९ प्रतिशत नगद लाभांश (बोनस सेयरको करसहित) र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । संस्थाका प्रबन्ध सञ्चालक सुधीरकुमार श्रेष्ठले नेरुडेको चुक्ता पुँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रूपैयाँ पुगेको जानकारी गराए । साधारणसभाले संस्थापक सेयरधनीहरूमध्येबाट डा. भेषप्रसाद धमला र सुरेन्द्रराज भट्टराईलाई सञ्चालकमा निर्विरोध चयन गरेको छ ।