निर्माण नभएपछि ढाट लगाएर सडक बन्द

बिर्तामोड– सडक निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा स्थानीयबासीले सास्ती बेहोर्नु परेको छ । ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा झापा बिर्तामोड–अर्जुनधाराका स्थानीयबासी आन्दोलित बनेका हुन् ।
झापाको बिर्तामोड–अर्जुनधारा सडक खण्ड निर्माण कार्य शुरु गरेको लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र धुलाम्मे सडकका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै बिर्तामोड–अर्जुनधाराका स्थानीयवासी सवारी आवागमन ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । झापाको बिर्तामोड–अर्जुनधारा सडक खण्डको पुलचोकबाट कप्तानवारीसम्म ढाट लगाएर बन्द गरी शनिवारबाट सो सडकखण्डमा कुनै पनि सवारी सञ्चालन गर्न दिएका छैनन् । उनीहरूले सो सडक भएर आवतजावत गर्ने भित्री सडकमा समेत ढाट लगाएर सडक बन्द गरेका छन् ।
लामो समय बितिसक्दा पनि सडक निर्माणको काम अघि नबेढको र निर्माण व्यवसायीले सडक अलपत्र पारेको भन्दै सडक बन्द गर्न सरोकर समिति गठन गर्दै सडक अवरुद्ध पारिएको स्थानीय गणेश इङ्नामले जानकारी दिए । वडा र नगरपालिकासँग पटक–पटकको छलफलपछि स्थानीयले शिव आचार्यको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको उनले बताए । बिर्तामोड–अर्जुनधारा सडक खण्ड निर्माण गर्ने र त्यसका लागि बजेट सुनिश्चितता नभएसम्म आफूहरूले सडक अवरुद्ध गर्ने संघर्ष समितिका संयोजक शिव आचार्यले बताए ।
बिर्तामोड–अर्जुनधारा सडक खण्ड निर्माण गर्न प्रवीण– मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित १५ करोड ८२ लाख रुपैयाँमा सम्झौता गरे पनि निर्माण सुरु भएको २० महिना बितिसक्दा समेत निर्माण कम्पनीले १५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले बताए ।
सडक निर्माणका लागि प्रविण–मैनाचुली–शान्ति जेभीले काम गर्न सम्झौता गरे पनि समयमा भुक्तानी नपाएर सडक निर्माण कार्य अघि बढाउन नसकेको इन्जिनियर खतिवडाले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले प्रविण–मैनाचुली–शान्ति जेभीले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि हालसम्म १५ प्रतिशतमात्रै काम सम्पन्न गरेकाले समयमै सडक निर्माण हुनेमा उनले शंका गरे ।
प्रविण–मैनाचुली–शान्ति जेभीले सडक निर्माण आयोजनास्थलमा सूचना पाटीसमेत नराखी सडक निर्माण कार्य अघि बढाएपछि त्यस क्षेत्रका स्थानीयबासीले सडक निर्माणको पारदर्शितामा समेत प्रश्न उठाएका थिए । सूचना पाटी निर्माणका लागि छुट्टै बजेट व्यवस्थापन भए पनि निर्माण कम्पनीले सूचना पाटी नराखेकाले आयोजना परिसरमा सबैले देख्ने गरी सूचना पाटी राख्नुपर्ने इन्जिनियर खतिवडाले बताए ।
बिर्तामोडको टाटा शोरुमबाट सुरु हुने सो सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुने भए पनि सम्झौता भएको २० महिना बितिसक्दा २० मिटरको ड्रेनमात्र निर्माण भएको बताउँदै उनले सडक निर्माण छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । यसैबीच सडक निर्माणमा ढिलाइ भएसँगै त्यस क्षेत्रका दुई सयभन्दा बढी स्थानीयवासीले शिवकुमार आचार्यको संयोजकत्वमा सडक निर्माण संघर्ष समिति गठन गरेका छन् ।
बिर्तामोड–अर्जुनधारा सडक खण्ड जताततै भत्किएर बेहाल अवस्था भएको छ । सडकको अवस्था नाजुक भएका कारण स्थानीय तथा उक्त सडकमा यात्रा गर्नेहरूले सास्ती खेप्नु परिरहेको छ । सार्वजनिक सवारीसँगै टिपरको आवतजावत बाक्लो हुने सो सडक आसपासका बासिन्दाले खाल्डो र हिलोका कारण स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको बताएका छन् । ठाउँठाउँमा सडक भत्किएर सवारीसाधन चलाउने अवस्था छैन भने सडकका परेको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेर गएको छ ।