पाँच सहकारी निक्षेप फिर्ता गर्न अक्षम

बिर्तामोड– झापाका पाँच सहकारी संस्था बचतकर्ताको निक्षेप फिर्ता गर्न अक्षम रहेका छन् । पहिलो पाइला बहुउद्देश्यीय सहकारी, समाजसेवी बहुउद्देश्यीय, जयपुर बहुउद्देश्यीय, पूर्वार्ध कृषि र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको निक्षेप फिर्ता गर्न सकेका छैनन् ।
ती सहकारीले बचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको एवं निक्षेप फिर्ता नगरेको कोसी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए । बचतकर्ताहरुको निक्षेप फिर्ता नगरेको भन्दै झापामा पाँच वटा सहकारी संस्थामाथि कोसी प्रदेश सहकारी संघमा उजुरी परेको उनले जानकारी दिए ।
पाइला सहकारीका अध्यक्ष सनिप भुजेल महिनौदेखि फरार रहेको र उक्त सहकारीले करिब ३ करोड रुपैयाँ बचत फिर्ता गर्नु पर्ने देखिएको कोसी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए । त्यस्तै समाजसेवी सहकारीले २ करोड रुपैयाँभन्दा बढी बचत फिर्ता गर्नुपर्ने देखिएको दंगाल बताउँछन् । जयपुर सहकारीले तीन करोड रुपैयाँको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको उनले जानकारी दिए ।
पूर्वार्ध सहकारीले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोड रुपैयाँभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको देखिएको छ । दमकको संयुक्त कलाकर्मी साकोसमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको उनले बताए । उजुरी परेका अन्य सहकारीमाथि छानबिन भइरहेको दंगालले जानकारी दिए ।
जयपुर सहकारीको बचतकर्ताको रकम हिनामिना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा पूर्वी झापा जिल्ला सेक्रेटरी हुकुम सिंहले विज्ञप्ति जारी गर्दै बुद्ध शान्ति–२ जयपुरमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा तीन करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै आपत्ति जनाएका हुन् ।
सेयर सदस्य तथा बाल बचतकर्ताको रकम अपचलन गरेको भन्दै सम्बन्धित निकायमा छानबिन गरी कारबाही गरी पाउँ भन्ने उजुरी दिँदा समेत लामो समयसम्म कुनै कारबाही नभएको भन्दै सेक्रेटरी सिंहले जयपुर सहकारीले बचतकर्ताको रकम फिर्ता नगरे पार्टीले जनपरिचालनसहित कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिए । झापामा आठ सय दुई वटा सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएको छ ।
झापा जिल्ला सहकारी संघमा बहुउद्देश्यीय ७४, बचत तथा ऋणमा एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार–चार, विविध ८ र संघ ४ गरी ४ सय ९२ वटा सहकारी संस्था आबद्ध रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताए ।