Logo

दीगो वन व्यवस्थापन अझै अन्यौलमा

वनबाट ढलेका रुख उठाउने तयारी

धनगढी– तीन वर्षदेखिको कटान छपान रोक्का संघीय वन मन्त्रालयले खुला गरेपछि सुदूरपश्चिममा वनबाट ढलेका रुख उठाउने तयारी सुरु भएको छ ।

कैलाली र कञ्चनपुरमा रहेका डिभिजन वन कार्यालयहरुले प्रदेश वन ऐनअनुसार सामुदायिक वनहरु ढलापडा रुख काट्न लगत संकलन गर्ने अनुमति लिएका छन् । डिभिजन वन कार्यालय कैलाली, डिभिजन वन कार्यालय पहलमानपुर र डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायिक वन उपभोक्ता समूहहरुलाई ढलापडा उठाउन लगत संकलन गरी कार्ययोजना पेश गर्न अनुमति दिएका हुन् ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले छपान, नम्बरिङको प्रक्रिया अघि बढेको बताए । तीन वर्षदेखि वनबाट काठ निकाल्न नपाएपछि कैलाली कञ्चनपुरमा करिब ५ लाख क्वीफिट रुख ढलेको हुन सक्ने अनुमान गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव हेमराज विष्टले तत्काललाई ढलेका रुख मात्रै संकलन गर्ने गरी कार्ययोजना तयार गरिएको बताए । उनले विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएकाबाहेक वनमा मात्रै ढलेका रुख संकलन गरिने बताए ।

उनले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना खारेज भएकाले ती सामुदायिक वनमा कसरी अगाडि बढाउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । ढलेका रुखहरु संकलन गर्न नपाउँदा कैलाली कञ्चनपुरमा काठ दाउराको अभाव भएको छ भने काठ दाउरा वनमै सडेर सकिन थालेका छन् । ढलेका कतिपय रुख चोरी तस्करी भई सकिएका छन् । सिंहपुर सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुरका अध्यक्ष जोगराज चौधरीले वनबाट समूहले काठ दाउरा संकलन गर्न नपाउँदा अधिकांश काठ कुखिएको बताए ।

उनले कतिपय काठ चोरी तस्करी र आगलागी समेत भई सकिएको बताए । ‘काठ दाउरा संकलन गर्न नपाउँदा उपभोक्तालाई समेत समस्या भएको छ,’ उनले भने, ‘समूहले वन हेरालुलाई तलब खुवाउन सकेका छैनौं । चार जना वन हेरालु कर्मचारीको ६ महिनाको तलब रोकिएको छ ।’ सिंहपुर सामुदायिक वनमा विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएको थियो । वनबाट काठ दाउरा संकलन र बिक्री गर्न नपाउँदा समूह नै चलाउन नसकिने अवस्था सिर्जना भएको अध्यक्ष चौधरीले बताए । उनले यसै आर्थिक वर्षमा काठ दाउरा संकलन र बिक्री गर्ने अनुमति नपाएमा सामुदायिक वन संरक्षण गर्न नसकिने अवस्था आउने बताए ।

मन्त्रालयका अनुसार पहिलो चरणमा ढलेको रुख संकलन गरिसकेपछि दोस्रो चरणमा सुकेको खडा रुख संकलनको प्रक्रिया अगाडि बढाइने छ । ‘तीन वर्षमा ढलेका करिब ५ लाख क्वीफिट रुख वनभित्र रहेको अनुमान छ’ उपसचिव विष्टले भने, ‘यो संकलन गरिसकेपछि सुकेका रुख संकलन गर्ने विषयमा अगाडि बढ्छौं । विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका वनमा दीगो वन व्यवस्थापन कार्यक्रम लागु गर्ने वा सामान्य सामुदायिक वन व्यवस्थापन गर्ने विषय छलफलमै छ । ती वनमा ढलेका र सुकेका रुख कसरी संकलन गर्ने भन्ने विषय पनि छलफलमै छ ।’

विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भई सफाई गरिएका प्लटमा पुनरोत्पादन राम्रो भएपनि संघीय सरकारले नै सो व्यवस्था खारेज गरेपछि वैकल्पिक रुपमा दीगो वन व्यवस्थापन कार्यक्रम लागु गरेको छ । तर सुदूरपश्चिम प्रदेशमा सो कार्यक्रम लागु गर्ने विषयमा अझै अन्यौलता छ । उपसचिव विष्टले उपभोक्ता चाहनामा सो कार्यक्रम लागु गर्ने वा नगर्ने विषय भर पर्ने बताए । ‘उपभोक्ताले जे भन्छन्, त्यसैको आधारमा कार्यक्रम लागु हुन्छ’ उनले भने, ‘वन संरक्षण मात्रै गर्ने, ढलपडा उठाएर मात्रै वन संरक्षण गर्ने र संरक्षणसँगै पुनरोत्पादन बढाएर वन दीगो व्यवस्थापन गर्ने भन्ने कुरा उपभोक्ताको चाहनामा भर पर्छ ।’

सुदूरपश्चिममा परम्परागत रुपमा संरक्षण गरिएका सामुदायिक वनमा पुराना रुखहरु ढलेर, सुकेर सकिँदैछन् भने नयाँ रुख उम्रिन सकेका छैनन् । कतिपय वनहरु पुराना रुख सकिएर वन पातलिँदै गएको छ । उपसचिव विष्टले संरक्षण गरी राखिएका वनहरु मक्कीसकेको बताउँदै वनमा पुनरोत्पादन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्