Logo

सामाजिक जोखिम व्यवस्थापनमा वाणिज्य बैंकको एक करोड खर्च

काठमाडौं– वाणिज्य बैंकहरूले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) का लागि एक करोड बढी रकम खर्च गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनका लागि एक करोड २२ लाख ११ हजार ३ सय रुपैयाँ खर्च गरेका हुन् ।

यो गत आव २०७९/८० मा बैकहरूले खर्च गरेको विवरण हो । ईएसआरएममा सबैभन्दा बढी रकम माछापुच्छ्रे बैंकले खर्च गरेको छ । उक्त बैंकले ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । बैंकले एकपटक दुई जनालाई तालिम दिनुका साथै गोष्ठी र सेमिनार आयोजना गरेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । यस्तै एनएमबि बैंकले १९३ जनालाई तालिम तथा सेमिनारका लागि ४० लाख ३८ हजार ४२० रुपैयाँ खर्च गरेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ भने सिटिजन्स बैंकले ४ लाख ४९ हजार ५ सय रुपैयाँ खर्च गरेर ५० जनालाई २ पटक तालिम दिएको छ । एभरेष्ट बैंकले २ लाख २० हजार रुपैयाँ खर्च गरेर ११ जनालाई २ पटक तालिम दिएको छ । ग्लोबल आइएमई बैंकले ७२६ जनालाई १६ पटक सेमिनार तथा गोष्ठी गरेर तालिम दिएको छ । जुन संख्यात्मक रुपमा सबैभन्दा बढी हो ।

यस्तै नेपाल बैंकले ३८ जनालाई दुई पटक तालिम दिन ४ लाख ६५ हजार ५६० रुपैयाँ खर्च गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक पटकमा तीन जनालाई तालिम दिन ४ लाख, नेपाल एसबिआई बैंकले एक पटकमा ४ जनालाई तालिम दिन ३ लाख ३९ हजार रुपैयाँ खर्च गरेको विवरणा उल्लेख छ । यस्तै, एनआईसी एशिया बैंकले २ पटकमा २८६ जना कर्मचारीलाई क्षमता बढाउन तालिम दिन ३ लाख रुपैयाँ खर्च गरेको छ ।

यता प्राइम बैंकले १० पटकमा २३१ जनालाई तालिम दिन ४ लाख ८ हजार ३६१ रुपैयाँ, सानिमा बैंकले ७ पटकमा ३४४ जनालाई तालिम दिन ४ लाख ५९ हजार ४०२ रुपैयाँ, सिद्धार्थ बैंकले २ पटकमा ५३ जनालाई तालिम दिन १ लाख ७८ हजार १५७ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । कुनै उद्योग तथा परियोजनाले कर्जा लिनुअघि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले पनि यस्ता उद्योग, परियोजनामा लगानी गर्नुअघि बैंक आफैँले प्रभाव मूल्यांकन गरेरमात्रै ऋण दिनुपर्ने व्यवस्था गरेको छ । यसका लागि ६ वर्षअघि वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन मार्गदर्शन (ईएसआरएम) नै राष्ट्र बैंकले जारी गरेको छ । सोही मार्गदर्शनमा स्वास्थ्य, कृषि, फोहोरमैला व्यवस्थापन, खानेपानी, पर्यटन, नवीकरणीय ऊर्जा, जलस्रोत र उर्जा, आवास, भवन तथा सहरी विकास, सडक, खानी, उद्योग तथा वन क्षेत्रमा लगानी गर्नुअघि प्रभाव मूल्यांकन गर्न भनिएको छ ।

त्यसैका लागि १३ बैंकले गत आवमा २ हजार ५६१ कर्मचारीको क्षमता वृद्धि तथा अध्ययनमा सवा करोड खर्च गरेका हुन् । मार्गदर्शनमा ईआईए वा आईईई आवश्यक नपर्ने उद्योग वा परियोजनामा लगानी गर्दा बैंक आफैँले पर्यावरणीय प्रभावको विश्लेषण गरेरमात्रै कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ । राष्ट्र बैंकले ईएसआरएमले १ करोड रुपैयाँभन्दा माथिका कर्जामा वातावरणीय र सामाजिक ड्यु डेलिजेन्स (इ एन्ड एस) गर्नुपर्ने व्यवस्था गरेको छ  । यसले बैंकहरूले प्रवाह गर्ने कर्जामा जोखिम भार कम गराउने उल्लेख छ ।

१३ बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनका लागि कर्मचारीको क्षमता बढाउन खर्च गरेपनि बाँकी बैंकहरूले यसतर्फ खर्च गरेका छैनन् । खर्च नगर्नेमा हिमालयन, कुमारी, लक्ष्मी सनराइज, नबिल, प्रभु, राष्ट्रिय वाणिज्य र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । बैंकले उद्योगमा कर्जा दिनु अगाडि त्यस उद्योगले वातावरण तथा समाजमा केकस्तो प्रभाव पार्छ भन्नेबारे अध्ययन गर्नुपर्ने हुन्छ । जसका लागि दक्ष कर्मचारीको आवश्यकता पर्छ । कर्मचारीलाई तालिम दिई बैंकहरूले त्यस्तो अध्ययन गर्ने र कर्जा दिने गर्छन् । सोही तालिमका लागि बैंकहरूले यस्तो खर्च गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्